देशको माया

 

गयो हिजो के हो भोलि, देखेको छ कस्ले ?
गर्यो काम रम्यो आज , जानेको छ जस्ले ।
देशै छोडी अघि बढ्ने सपना रैछ कस्तो ?
छोड्दै जाँदा परिवार, परिएछ एक्लो !

 

फर्की जाने बाटो पनि देख्छु भत्किएको ,
अघि हेर्दा बढ्ने बाटो देख्छु टुङ्गिएको ।
खन्छु बरु बाटो नयाँ, बढ्छु भन्छु अघि,
आवाज पो आउँछ, सुन्छु – “जा, फर्की पछि”!

 

आमा अनि देशको माया बिर्सन्छ र कस्ले ?
जान्छन् चर्न चरा टाढा, बुझिदिन्छ जस्ले !
जहिले देखि बन्यो देशमा विदेशिने रित ,
त्यही रितको डोरी काट्ने शक्ति चाहियो कि त !

 

बाँझो खेत, भोको पेट, घट्यो अन्नबाली
चोरी औंलो काट्न पाए, गर्थेँ सबलाई गाली,
कसो गरी सम्झाउने होला मनलाई
जोडेँ हात बनोस् देश , सबै जनलाई !

(डेनमार्क निवासी कवि शैलु अधिकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का आजीवन सदस्य हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्