अन्तर्दृष्टिको स्वर्ण अङ्क लोकार्पण

२०८० फागुन २६ शनिवार । यूरोपको पोर्चुगल स्थित लिस्वनमा आयोजित आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसर पारेर अनेसासको प्रकाशन अन्तर्दृष्टिको स्वर्ण अंक लोकार्पित भएको छ ।

प्रमुख अतिथि रोहिणी शर्मा, अनेसास अध्यक्ष गोवर्द्धन पूजा, बिओटी सभापति पदम विश्वकर्मा तथा अन्तर्दृष्टिका प्रधान सम्पादक लालगोपाल सुवेदीलगायत मञ्चासीन अतिथिद्वारा एकैसाथ लोकार्पण गरिएको उक्त पत्रिकाका कार्यकारी सम्पादक रमेश दाहाल हुन् ।

अनेसास इतिहास ग्रन्थको दोस्रो खण्डको नाम दिन सकिने यस पत्रिकामा अनेसास केन्द्र तथा च्याप्टरका पदाधिकारीहरुको व्यक्तिगत तथा संस्थागत इतिहासलाई अनुभूतिमय बनाई संस्मरणका रुपमा प्रस्तुत गरिएको छ । अन्तर्दृष्टिका सबै सामग्री बौद्धिक खुराकयुक्त बनाउनु र संस्थाका गतिविधिहरु प्रष्ट रुपमा झल्काउनु यस अंकको उल्लेख्य पक्ष हो ।

विश्वभरिका च्याप्टर पदाधिकारी र आजीवन सदस्यहरुलाई समेत आगामी कार्यक्रम र लेखनयात्रातर्फ दिशानिर्देश गरोस् भन्ने हेतुले यसलाई अलि फरक ढंगले प्रकाशित गरिएको कुरा प्रधान सम्पादक लालगोपाल सुवेदीले जानकारी गराएका छन् ।

चार खण्डमा विभाजित यस अंकको पहिलो खण्डः “अनुभूतिमा अनेसास र अन्तर्दृष्टि”मा ३० जना साहित्यकारहरुको लेख विचार समोवश रहेको छ भने दोस्रो खण्ड “अनेसास गतिविधि” रहेको छ ।

त्यसैगरी खण्ड ३ “कथा संस्मरण लघुकथा नियात्रा आदि”मा ११ जना साहित्यकारहरुको रचनाहरु समेटिएका छन् । खण्ड चार “कविता गीत गजल मुक्तक खण्ड”मा २९ जना साहित्यकारहरुको रचनाहरु समावेश रहेको कुरा अन्तर्दष्टिका कार्यकारी सम्पादक रमेश दाहालले जानकारी दिएका छन् ।

सन् १९९१ देखि प्रकाशन भएको यस अन्तदृष्टिको प्रथम प्रधान सम्पादक अनेसासका संस्थापक सदस्य श्री पुरुषोत्तम सुवेदी हुन्  भने वर्तमान प्रधान सम्पादक लालगोपाल सुवेदी चौधौँ प्रधान सम्पादक हुन् ।

प्रवासमा नेपाली भाषा साहित्य, कला संस्कृतिको संरक्षण एवं संवर्द्धनका लागि स्थापित अनेसासको प्रकाशन रहेको यो साहित्यिक पत्रिका डायस्पोरामा पहिलो साहित्यक पत्रिका हो । 

अनेसासका अध्यक्ष तथा अन्तदृष्टिका प्रमुख सल्लाहकार गोवर्द्धन पूजाका अनुसार ३०४ पृष्ठ रहेको यस अन्तर्दृष्टिको मूद्रण प्रति लिनका लागि अन्तदृष्टिका कार्यकारी सम्पादक रमेश दाहाल (नेपाल) ९८४१२६५२४२ नम्बरमा फोन गरी लिन सकिने छ भने यसको डिजिटल प्रति तलको QR Code स्क्यान गरी पढ्न सकिने छ ।

यसैगरी सम्मेलनका अवसरमा अनेसासकी संस्थापक सदस्य स्व‍. नन्दादेवी सुवेदी स्मृतिग्रन्थ, पुरु सुवेदीको “पुरोधा” कवितासंग्रह, संगीता स्वेच्छाको “सेतो सिउँदो” अनेसासको ‘प्रवासी बालसिर्जना’, यात्रामा देश , सर्वज्ञ वाग्लेको ‘नेता बन छोरा नेता बन’ खुसी खनालका आठ पुस्तक सुरेन उप्रेतिका बालसिर्जनाहरू  प्रतिमा केसीको प्रवासी मन, रत्न सुब्बाको बालसिर्जना, बालतरंग, ललितश्री सिक्किमबाट बालकवितासंग्रह सिक्किम च्याप्टर स्मारिका – विश्व सेतु, पूर्ण योन्जन , सिक्किम तामाङ जातीय चिनारी, बिमल गिरीको ‘अजम्बरी /सुनाखरी’ हाइकुसंग्रह, लतिका जोशीको जीवन अदृश्य पलहरू ललिता जोशीको ‘संवाद संजाल’ पत्रिकालगायतका कृतिहरूको लोकार्पण भएको छ ।

 
अन्तर्दृष्टि पढ्न यसलाई स्क्यान गर्नुहोस्
प्रतिकृया दिनुहोस्