अजयमिलन श्रेष्ठको पं.तारानाथ रेग्मी जीवनी काव्य
होमनाथ सुवेदी
अजयमिलनलाई साहित्य, कला र सँस्कृतिको चेतको भूमिका उनको परिवारभित्रै प्रशस्त थियो । व्यत्तिगत रूपमा म उनलाई चिन्दिन तर उनका पिता सङ्गीत शिक्षक थिए । वि.सं.२०१३ मा भएको मेरो र नन्दादेवी सुवेदीको विवाहमा बेनी बजारबाट ८कोस टाढा ठेटर नाटकको टिम लिएर अङ्गद र लक्ष्मीप्रसाद श्रेष्ठ नाटक प्रदर्शन गर्न पुगेका थिए ।
 
अजयमिलन श्रेष्ठको ‘पं. तारानाथ रेग्मी (जीवनीकाव्य)’ अनेसासका पूर्वअध्यक्ष भीमप्रसाद रेग्मीमाफत मेरो हात प¥यो । तत्काल मैले पढें—यो कृति अजयको मास्टरपिस नै भए जस्तो लाग्यो । २८ वटा गीत, गजल र कविताका पुस्तक लेखन प्रकाशन गरिसकेका स्वनामधन्य लेखक हुन्—अजयमिलन श्रेष्ठ । तीमध्ये ९ वटा त गीत गजल लोकलयमा नै लेखिएका छन् । नेपाली विषयमा स्नातक र इतिहासका बिएड अध्येता यी विषयवस्तुको छनोट र कलात्मक प्रस्तुतीकरणमा पारखी नै देखिन्छन् । उनले पित्तल छोए फलाम बन्छ । त्यसमा पनि उनले म्याग्दी, मुस्ताङ, पर्वत र वागलुङको क्षेत्रमा पुराणवाचनमा प्रवीण ख्यातनामा पण्डित तारानाथ रेग्मीको जीवनीलाई काव्यका नायक छानेका छन् । त्यसमा नायककै विशिष्टताले काव्यमा उच्च आदर्श र सौन्दर्य परिपाक नहुने कुरै भएन । लेख्ने वस्तुुको छनोटमा सीप पनि यौटा कला हो । कृति सानो छ तर विशाल विवृति छ । लोकलयमा लेखिएको छ । पढ्न आनन्द आउँछ । 
 
अजयमिलनलाई साहित्य, कला र सँस्कृतिको चेतको भूमिका उनको परिवारभित्रै प्रशस्त थियो । व्यत्तिगत रूपमा म उनलाई चिन्दिन तर उनका पिता सङ्गीत शिक्षक थिए । वि.सं.२०१३ मा भएको मेरो र नन्दादेवी सुवेदीको विवाहमा बेनी बजारबाट ८कोस टाढा ठेटर नाटकको टिम लिएर अङ्गद र लक्ष्मीप्रसाद श्रेष्ठ नाटक प्रदर्शन गर्न पुगेका थिए । यो कृतिले मलाई ६८ वर्ष अगि पुरायो र अजयका पिता संगीतकार लक्ष्मीसित जोड्नपुग्यो । अजय जन्मे वि.सं.२०२६ सालमा ऐले उनी ५६ वर्ष भए । योबीच लक्ष्मीको परिवार नै कलात्मक थियो र अजय र उनका दाइभाइलाई पनि साहित्यकलामा मोहित बनायो । यो अजयको जन्मजात सम्पत्ति हो । त्यसैले पनि होला उनी भाषा साहित्यको सेवामा समर्पित छन् । अझै उमेर छ । धेरै गर्न सक्छन् । ऐले नै उनको मूल्याङ्कनको अन्तिम क्षण हुन सक्दैन । भविष्य उज्वल छ, यति भन्न सकिन्छ । 
 
अजयमिलन श्रेष्ठको ‘पं. तारानाथ रेग्मी (जीवनीकाव्य)’ मा ६ खण्ड छन् । कृतिनायकको जन्म, शिक्षा, कर्म, व्यत्तित्व, सङ्घर्ष, सामाजिक योगदान, स्मृतिमा समाजको आदि वस्तुमा फैलिएको छ । कृतिको अन्तमा पं.तारानाथ रेग्मीका पारिवारिक चित्रहरू दिइएको छ । यो कृतिको छन्द वा लयबारेमा यसै कृतिका भूमिका खण्डको ‘एक लघुटिप्पणी’मा रामप्रसाद सुवेदी लेख्छन्—
 
‘१६ अक्षरको अक्षरीकरण गर्दै पढेमा मात्र जीवनी काव्यको छन्दमर्म झल्किन्छ । कतिपय अजन्तहरूलाई हलन्त उच्चारण गर्नुपर्ने र कतिपय ठाउँमा सोही अक्षरलाई अजन्त नै उच्चारण गर्ने सिप प्रयोग गरेर मात्र यो छन्दको काव्य रस प्राप्त गर्न सकिने देखिन्छ । झ्याउरे छन्दका दर्जनौं लय हुन सक्छन्, त्यो जिम्मा पाठकहरूको हो ।’
 
त्यसैको अर्को ठाउँमा लेखेका छन्—
‘माथि भनिए झैं यसको छन्द व्यवस्था अक्षरीकरणमा आधारित छ, वार्णिक रूपमा होइन । जतिसुकै अक्षर भए पनि जसले काव्यका पङ्तिहरूलाई ५ ५ ६ अक्षरमा ढालेर पढ्न सक्छ उसैले छन्दरस पान गर्नेछ ।’
 
रामप्रसाद सुवेदी म्याग्दीका मानिएका लेखक हुन् । उनको ‘म्याग्दीः स्रष्टा र सृष्टि’ वृहद्काय ग्रन्थ प्रकाशित छ जसमा उनले अनेसासको पुरस्कार पनि जितेका छन् । त्यस्ता व्यक्तिको टिप्पणीमा म अन्यथा देख्दिन । मैले त्यसै गरी पढें मजा आयो । 
 
काव्यले मेरो उल्लेख गर्दैन तर मेरो भाइ रिषिनाथ र भाइबुहारी खड्गेश्वरीको भने यौटा कविता नै छ । त्यस हिसाबले कृतिनायक मेरो पनि ससुरा बुबा नै हुनुहुन्छ । उहाँको कस्तो नम्रता र विशाल हृदय कि हामी दुई भाइमा समान जामाताको नजरले हेर्ने र व्यवहार गर्ने गर्नुहुन्थ्यो । म नेपाल जाँदा जहिले पनि भेट्दथें । उहाँ बेनी अस्पतालको आबासमा छोरा रामप्रसादकोमा हुनुहुन्थ्यो म भेट्न गएको तस्बिर रामले खिचेको अझै मसँग रहेछ त्यो हो यो तस्बिर त्यहाँ पं.तरानाथ ससुरा, सासू धनेश्वरी र म होमनाथ सुुवेदी पनि देखिन्छु । 
 
 
त्यो विशाल काया र मायाको विशद विवरण अजयमिलनको यो जीवनी काव्यमा पढ्न पाएर म प्रफुल्लित नहुने त कुरै भएन । महाकाव्य नै लेखिनुपथ्र्यो यौटा काव्यिका भए पनि आयो । यो खुशीको प्रकाशन हो ।
 
हुन त उहाँको बारेमा गत वर्ष मात्र यौटा वृहद् स्मृति ग्रन्थ त प्रकाशित भैसकेको थियो । त्यसैबाट उब्जेको कल्पना र यथार्थको परिणाम हो यो काव्य भन्ने कविको र प्रकाशन संस्थाकी नेतृ विदुषी रेखा कौशल रेग्मीको पनि मत छ । काव्यभित्र कविताहरूको माला छ र त्यसमा नायकका जीवनका विविध पक्षको बारेमा लेखिएको छ । यी छुट्टाछुट्टै कविताको रूपमा पनि सामाजिक सञ्जालमा पोस्टिङ हुदै पनि आएका थिए । अन्तमा यसले यौटा सुन्दर काव्यको रूप लियो ।  
 
काव्यको अनुसार काव्यनायकको जन्म १९६५ मा जन्मे र २०५७मा दिवङ्गत भए । काव्य नायिका धनेश्वरीको जन्म वि.सं.१९७६ र दिवङ्गति २०५७ मा भयो । असार पच्चिसमा धनेश्वरी बितेपछि मङ्सिर पच्चिसमा नायक पं.तारानाथ रेग्मी ५ महिनाको अन्तरमा चितवन नारायणी किनारमा परंगति प्राप्त गरे । काव्य नायकको जन्म पाङ खुर्कोटमा भएको र उनी हरिद्वारमा बसी शास्त्री पढी पुुराण वाचक भएर सिंगापुर, आसाम, बर्मासम्म पुगेर जनकपुर हुदै आफ्नो हकको अकुत सम्पक्ति त्यागेर स्वर्गद्वारी महाप्रभुको आज्ञानुसार पौलस्त्य ऋषि आश्रम पुलाचौरमा आई चुवाली आचार्यकी छोरी १० वर्षकी धनेश्वरीसित विवाह गरी पुराणवाचन कलाबाट नै त्यहाँ सम्पन्न भएर बसेको कुरा काव्यले अगाडि सारेको छ र उनका ५ भाइ छोरा र तीन बहिनी छोरीको पनि उत्थानको विवृति दिएर वस्तु प्रस्तुत गरेको छ । त्यसको उद्देश्य म्याग्दीमा कसरी उनले शिक्षाको ज्योति बालेका थिए भन्ने खुलस्त गर्नु पनि रहेको छ । 
 
उनी शिक्षक थिए वेदवेदान्त दर्शन र पुराणका माध्यमबाट उनले शिक्षा दिए । कृतिको पृ ४९ मा हेरौं—
 
ती द्रोणचार्य, गुरु झैँ थिए, शास्त्रज्ञ विद्रान ।
अध्यात्म एवम्, गृहस्थ मिश्रित, मर्मज्ञ महान ।।
००००
शास्त्रका ज्ञाता, विद्यामा निष्णात, सगर छुनाले ।
पण्डित भनी, पुकारे लोकले, विद्वान हुनाले ।। 
स्मरणीय उज्वल नक्षत्र शीर्षकको कविता पृ.५० मा लेख्छन् —
प्रकाण्ड विद्वान्, विद्यामा तेज, नम्र त्यो स्वभाव ।
अध्यात्मी, ज्ञानी, ज्ञानको ज्योति, फैलाए प्रकाश ।।
शिक्षाप्रद उनका व्याख्यान हुन्थे नै । उनको कला र गलाले उनका उपदेशहरूबाट श्रोता अत्यन्त प्रभावित हुुन्थे र छन् । त्यसैले उनी शब्दव्रह्ममा जीवित छन् र धेरैका सम्झनामा छन् भन्छ यो कविताले —
ती गुणवत्ता, प्रतिभाशाली, चम्किला ताराले ।
ती ऋषिमुनि, अथाह भण्डार, सम्झन्छौं साराले ।। 
 
यसरी उद्धरण गर्न थाले त कहिल्यै सकिन्न । अजयमिलनको पहिलो कृति लाहुरे कविता वि.सं.२०४३ सालको म्याग्दी पुस्तकालय बेनीको साहसमा प्रकाशित थियो । यो लामो अवधिमा उनी खारिएका छन् । यसो भए पनि व्याकरणको दृष्टिले केही कमी कमजोरी न भएका होइनन् । कोट्याएमा जसको पनि केही न केही त देखिन्छ नै । त्यो यसमा कम नै छ । कविता भनेको कुरो होइन । कल्पना हो । कविता आलङ्कारिक रूपमा भनिएको रागात्मक अभिव्यक्ति हो । यो विम्ब बहुला भयो भने उत्तम हुन्छ । जीवनी काव्यमा भने यो कठिन कुरा हो कि ऐतिहासिक सत्य तथ्यलाई पनि धुुमिल्याउन भएन र नायकलाई आलङ्कारिक न बनाई कवितामा विम्ब आउन कठिन हुन्छ । यहाँनेर अजय साहित्य र इतिहासका ज्ञाता भएकोले सन्तुलन व्यवस्थित गरेको म पाउँछु । सूत्ति र उखानटुक्काले पनि काव्यमा सौदर्य भर्दछ । 
 
सूक्ति—
दिनु छ दान, जानु छ स्वर्ग, लानु के साथमा ।
लिएर जाने, हुँदैन केही, रित्ता यी हातमा ।। 
(अभिप्रेरणाका अजस्र श्रोत, पृ.४८)
 
उखान—
घैटामा घाम, बसाल्थे छाप, प्रत्येक श्रोताको ।।(पृ.२७)
 
उपमा विम्ब—
तेजिला अग्नि, सूूर्यलाई बत्ती, देखाए जसरी ।। (पृ.२३)   
 
लोकलयको सार स्वर नै अनुुप्रास हो । यो कृतिमा सर्वत्र छ । जस्तो पृ. २६ हेर्नुजस्तै हो । 
 
यसको प्रकृतिले यो एकएक पृष्टमा एकएक शीर्षक राखिएको छ । विषयसूची अनुसार पढ्न सजिलो भएको छ । अजयको जन्मजात कवित्व शक्ति यहाँ उजागर भएको छ । यो अझै परिमार्जित र परिस्कृत हुदै अजय अविजेय बनोस् कवि र काव्यप्रति यो पाठकको यही कामना छ । 
 
लेखक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष हुन् ।
प्रतिकृया दिनुहोस्