सायरा-जमुना क्षेत्री

कथा

सायरा

             जमुना क्षेत्री

बिहानै उठेर नुहाउनु सायराको दैनिकी बनिसकेको छ !
सुनसान अन्धकार बिहानीलाई चिर्दै आएको शीतल सिरोटोको स्पर्शले कताकता काउकुती लगाएर शरीरमा मादकताको अनुभूति दिलाइरहेको छ ।

अस्तव्यस्त शहर जहाँ रातभर प्रायः मान्छेहरु अनिँदो बस्छन् र बिहानीपख तिनीहरु सुत्छन् क्षितिजबाट सूर्यनारायण चार हातमाथि नआउन्जेलसम्म । यद्यपि सायरा पाँच बज्दा नबज्दै उठिसकेकी हुन्छे । सुरुसुरुमा करले उठ्थी तर अब भने बानी परिसकेको छ ।

पुस माघको महिना, बिहानको पाँच बजे पनि निकै अँध्यारो हुन्छ ! आकाश पुरै अन्धकारमय देखिन्छ । हरेक जीव प्राणी पनि अचेत अवस्थामै हुन्छन् । मानिस र अन्य जीवजन्तुको हल्ला हुँदैन केवल शून्यता छाएको हुन्छ ।

हावाको मन्द आवाज कानसम्म आएर ठोकिन्छ । सायरा त्यो खुला आकाशलाई हेरेर केहीबेर टोलाइरहन्छे । भिजेका केशराशिबाट तप्प तप्प गर्दै पानीको थोपा उसका वक्षस्थल हुँदै जमिनमा विलाइरहेका हुन्छन् ।

कता कता उसलाई जाडो भएको अनुभुति बढ्दै जान्छ । लामो बाक्लो कपाललाई टावलले झड्कारेर ओभानो बनाउँदै बिस्तारै छतबाट तल झर्छे ।

भान्साकोठा नजिक एउटा सुन्दर ¥याकमा सजाएर राखिएका मुर्ति पूजाका लागि पूजासामग्री तयार गर्न थाल्छे । सम्पूर्ण सामान तयारपश्चात् पूजा गरिसकेर बेलुका उभ्रिएको दुधैदुधको चियाको चुस्की लिँदै शयनकक्षतर्फ लाग्छे ।

चियाको चुस्कीसँगै शयनकक्षको पश्चिमतर्फको झ्यालबाट बाह्य वातावरणलाई नियालिरहेकी सायराको कानमा भर्खरै हिजोमात्र बहालमा लागेको छिमेकीको घरको कोठाबाट आएको पुरुषको चर्को आवाजले उसको ध्यानलाई खिच्दछ । एकजना पुरुषले महिलालाई निक्कै नमज्जाले, अभद्र तरिकाले गाली गरिरहेको सुन्छे— “तँजस्ती चोथाले आइमाइ मेरो घरमा नबसेकै बेस हुन्छ…। माइती जान्छु भनेर धेरै घुर्की नलगा, गइहाल् राँ… ।”

ऊ विस्तार उक्त आवाज आएको कोठातर्फ लम्कन्छे र थोरै मात्र खुल्ला रहेको झ्यालको कापबाट भित्रको दृश्य नियाल्न थाल्छे ।

पुरुषको यो नमीठो आवाज र ती दृश्यले सायराको मस्तिष्कको तारमा एकैपटक ४२० भोल्टको करेन्ट उत्पन्न हुन्छ र धेरै वर्षअगाडिको क्षणमा तरङ्गीत हुन थाल्दछ ।

“घरकी एकमात्र छोरी सायरा । अन्य दौँतरीभन्दा निकै भद्रभलाद्मी केटी थिई ऊ । पढाइमा कहिल्यै गुनासो थिएन बाआमाको । स्कुलमा अरुभन्दा अब्बल थिई । मास्टरले अनुशासनको पाठ पढाउँदा उसकै उदाहरण दिन्थे । बाआमाकी प्यारी थिई । सानो छँदा पनि रोएर कहिल्यै दुःख दिइन बाआमालाई ।

जिल्लास्तरीय आठ कक्षाको परीक्षामा पनि स्कुल टप भई सायरा । मौरीको रानीलाई अन्य मौरीको हुलले घेरा हालेजस्तै स्कुलटपरलाई अन्य विद्यार्थीले घेरा हाल्नु स्वाभाविक हो । सायराका वरिपरि सबै विद्यार्थीहरु झुम्मिन्थे । उसको ज्ञान, शिल्प, अध्ययन र बोली वचनले सबैलाई मोहित बनाएको थियो । त्यस्तै मोहित हुनेमा सायराकै समकक्षी थियो, सौरभ ।

सायराको गाउँभन्दा पल्लो गाउँ, सामान्य परिवारमा हुर्केको सौरभ र सायरा कक्षा चारदेखिका सहपाठी थिए । चार कक्षादेखि नै द्वितीय हुँदै आएको सौरभ सधैँ प्रथम हुने सायरासँग नजिकिनुलाई कसैले अस्वाभाविक मानेका थिएनन् । आठ कक्षाको परीक्षामा पनि सौरभले आफ्नो द्वितीय स्थानलाई कायमै राखेको थियो ।

दुवैजना एसएलसीमा उत्कृष्ट श्रेणीका लागि कक्षा ९ देखि अध्ययनमा घुँडा धसिरहेका थिए । प्रायः कक्षामा प्रथमप्रति द्वितीयको मनमा उब्जने इख सौरभमा पटक्कै थिएन । सायद यसको कारण सायरालाई हृदयभित्र सजाएकोले हुनसक्छ । अध्ययनमा दुवै एकअर्कालाई सहयोग गर्थे ।

एसएलसी परीक्षामा दुवैले उत्कृष्ट अङ्क ल्याइ पास गरे । प्राप्ताङ्कका आधारमा जिल्लाबाटै प्रथम हुने सायरा स्थानीय पत्रपत्रिका एफएम, टेलिभिजन र यूट्युवरकी पात्र भइन् । दुवैजनाले प्लस टुमा विज्ञानको बायोलोजी विषय रोजे । सायराले राजधानीका आफन्तको घरमा बसेर राजधानीकै कलेजमा पढ्ने निर्णय गरी । सौरभ पनि राजधानी लाग्यो प्लसटुका लागि ।

उमेर जति वयस्क हुँदै गयो सौरभभित्र सायराप्रतिको प्रेम पनि झाँगिदै गयो । यद्यपि सायराको मनभित्र ऊ झाँगिएको थियो थिएन, अनभिज्ञ थियो । आफ्नो गाउँठाउँदेखि टाढा राजधानी आएर एउटै कलेजमा एउटै विषय पढेका यी दुवै एकअर्काको धेरै ख्याल राख्थे । अझ विशेषतः सौरभ आफ्नो आँखामा सायरालाई ओझेल पर्न दिँदैनथ्यो । प्लस टुमा पनि दुवैले आफ्ना पढाइको स्तरलाई कायम राखे ।

उच्च शिक्षा हासिल गरिरहेका सौरभ र सायरालाई देखेर समकक्षीहरु एकआपसमा कानेखुशी गर्थे । साथीहरुले आफ्ना विषयमा कानेखुशी गरेको थाहा पाए पनि सायरा वास्ता गर्दैनथी भने सौरभ भित्रभित्र दङ्ग परझैँ गथ्र्यो । उसलाई साथीहरुले जिस्काउँदा मक्ख पर्दै मुस्कानले प्रतिक्रिया व्यक्त गर्दथ्यो । साथीहरुको जिस्काइले उसमा अझ ऊर्जा थपिएझैँ लाग्थ्यो ।

सौरभको हृदयमा झाँगिएको सायराप्रेमका बृक्षका पातहरु अब उसका ओठहरुमा सलबलाउन थालेका थिए । उसका ओठहरु सायराका नाम लिँदै बर्बराउन थालेका थिए । कापीका पानाहरु सायराका लागि लेखिएका सायरीहरुले भरिन थालेका थिए । कोठाका भित्ताहरु सायरा नामले कोरिएका थिए । उसलाई पूर्ण विश्वास थियो, सायराको हृदयमा पनि सौरभको बास छ भनेर । सायराको साथ सहयोग र बोलीमा ऊ आफूप्रतिको प्रेम देख्थ्यो ।

एक दिन सौरभले सायरालाई एकैचोटि विवाहको प्रस्ताव गर्यो— “सायरा ! अब हामीहरुको प्रेमलाई वैवाहिक बन्धनमा बाँधौँ ।”

सायरा छाँगाबाट खसेझैँ भई । उसका हातगोडा एक मुरी धानको भारी बोकेर फत्याकफुतुक गलेझैँ भए । जमिन हल्लिए । ऊ थचक्क बसी । अगाडि उभिएको सौरभको अनुहार शान्त तलाउमा ढुङ्गा हानेर तरङ्गीत हुँदाको छायाझैँ वक्राकृति भए । एकछिनपछि चूपचाप जुरुक्क उठेर हिँडी सायरा । प्रतिक्रियाको लागि एकोहोरो टोलाइरहेको सौरभको आँखाबाट ओझेल परी ।

भोलिपल्ट कलेज जानेबाटोमा सदाझैँ अगाडि कुरिरह्यो सौरभ । सायराको आकृति देखा नपरेपछि ऊ एक्लै कलेज पुग्यो । सायरा सौरभसँगै बस्ने सिटमा नबसेर अर्को सिटमा बसेकी थिई ।

सौरभले सायरालाई धेरै सम्झायो, बोल्न खोज्यो । आफ्नो विवाहको प्रस्तावको लागि क्षमा पनि माग्यो, यद्यपि सायरा उसको कुनै प्रश्नको जवाफ दिन्नथी । सौरभ आएको देख्नासाथ अर्कोतर्फ तर्किने गर्दथी या अन्य साथीसँग व्यस्त भएको वहाना गर्थी । यो क्रम चलेको पनि एक महिना भइसकेको थियो ।

एक दिन कक्षाकोठाभित्रै अचानक सायरालाई रिँगटा चल्यो, उनले धेरै बमिट गरी । बमिटको गन्धले कक्षाकोठाका विद्यार्थीहरु सबै बाहिरिए । सौरभले बमिट गर्दै गरेकी सायराको टाउको समाएर सहयोग गर्न खोज्यो । सायराले उसको हात पन्छाइदिई । यद्यपि ऊ हडबडाइरहेको थियो । हत्तनपत्त कलेज नजिकै रहेको पोलि क्लिनिकबाट डाक्टर लिएर आयो । सायरालाई विस्तार उठाएर कक्षाकोठा बाहिरको बेन्चमा बसायो । सायरा अत्यन्त शिथिल अवस्थामा थिई । खाली पेट भएका कारण उत्पन्न ग्यास्ट्रीकका कारण बमिटिङ भएको जानकारी डाक्टरले दिए । सबै साथीहरु सायराका वरिपरि झुम्मिएका थिए ।

केही क्षणपश्चात् सायराकी साथीले अचम्मित हुँदै कक्षाकोठाभित्रको दृश्यलाई इङ्गित गरी सायरालाई हेर्न भनी । सायराले गरेको बमिटको राशलाई घिन नमानी हातले सोहोर्दै प्लास्टिकको झोला भर्दैथियो सौरभ । त्यो देखेर सायरा भावविह्वल भई । उसका आँखाबाट अश्रुधारा बर्सन थाले । सौरभप्रति मायाका अङ्कुरणहरु एकाएक पलाउन थाले । विस्तारै उठेर कक्षा कोठामा गएकी सायराले टुक्रुक्क बसेर बमिट सोहोरिरहेको सौरभलाई दुवै हातले उठाएर अङ्कमाल गरी । कलेजका विद्यार्थी र गुरुहरुको तालीले कक्षाकोठा गुञ्जयमान भयो ।”

विगतका यी क्षणमा डुबेकी सायरा अकस्मात पुनः वास्तविकतामा उत्रिई । एउटी नारीको लागि संसारका जुनसुकै कुरा पनि त्याग्न सक्ने पुरुष अर्की नारीको दुश्मन बनिरहेको छ । कति द्वेध चरित्र बोकेका हुन्छन् पुरुषहरु ! कोठाभित्र थुनिएकी एउटी अबला नारी अर्थात् आफ्नी श्रीमतीमाथि घरेलु हिंसा गर्ने पात्र उही सौरभलाई देखेपछि सायरा त्यहीँ ढल्न पुगी । छर्लङ्ग उज्यालो भइसकेको थियो । झ्याल छेउमा केही ढलेको आवाज सुनेर बाहिर निस्केको सौरभले आज सायरालाई उठाएन ।

प्रतिकृया दिनुहोस्