अनेसासमा कार्य समिति सदस्य र प्रधान सम्पादक तथा कार्यकारी सम्पादकहरू मनोनित

सेप्टेम्बर १४ तारिख शनिवार ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको नियमित चौथो बैठकले सर्वसम्मत रूपमा निर्णय गरी विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ ।

बीओटी सभापति पदम विश्वकर्माको समेत उपस्थितिमा बसेको उक्त बैठकले अनेसास केन्द्रीय कार्य समितिमा निर्वाचनद्वारा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रत्येक महादेशबाट प्रतिनिधित्व हुने गरी ५ जना उपाध्यक्षहरू, महासचिव, सचिव , कोषाध्यक्ष र सदस्य गरी १५ जना पदाधिकारी चयन गरिने प्रावधान छ भने कार्य समितिको बैठकबाट पारित गरी एक जना महिला र एक जना पुरुषलाई अध्यक्षबाट मनोनयन गर्ने प्रावधान छ ।
यसै प्रावधानअनुरूप अमेरिकाको न्युयोर्कबाट शकुन ज्ञवाली र कतारबाट मणि पौडेल मनोनित भएका छन् ।

चौथो बैठकपश्चात् दुई केन्द्रीय सदस्य मनोनयन भए पश्चात् अनेसास केन्द्रीय कार्य समितिले पूर्णता प्राप्त गरेको कुरा अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाले बताए ।

अनेसास विधानअनुरूप बैठकले सिफारिस गरेको व्यक्तिहरूलाई inlsdarpan.com अनलाइन साहित्यिक पत्रिकाको प्रधान सम्पादक तथा कार्यकारी सम्पादक र मुखपत्र अन्तर्दृष्टिको प्रधान सम्पादकलाई अध्यक्षद्वारा मनोनयन गरिन्छ ।

यसै प्रावधानबमोजिम युरोपबाट निर्वाचित उपाध्यक्ष डिल्लीराम अम्माईलाई inlsdarpan.com को प्रधान सम्पादकको जिम्मेवारी प्रदान गरिएको छ भने कार्यकारी सम्पादकको जिम्मा पुनः नेपालबाट रमेश दाहाललाई प्रदान गरिएको छ ।

त्यस्तै अन्तर्दृष्टिको प्रधान सम्पादकमा जापानका दिनेशराज ज्ञवालीलाई मनोनयन गरिएको छ ।

स्मरणीय छ शकुन ज्ञवाली र मणि पौडेल दुबैजना साहित्यिक रूपमा स्थापित व्यक्तित्व हुन् भने संस्थागत रूपमा पनि दुबैजनाको लामो योगदान छ ।

अनेसास दर्पणका प्रधान सम्पादक डिल्लीराम अम्माई विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । साहित्य क्षेत्रमा उनको राम्रो दख्खल छ ।

त्यस्तै कार्यकारी सम्पादक रमेश दाहाल यसअघिको कार्यकालमा पनि inlsdarpan.com को कार्यकारी सम्पादक थिए भने उनले विगत लामो समयदेखि अनेसासद्वारा प्रकाशित विभिन्न कृतिहरुलगायत चार दर्जनभन्दा बढी विविध विधाका साहित्यिक कृतिहरु सम्पादन गरिसकेका छन् ।
त्यसैगरी अन्तर्दृष्टिका प्रधान सम्पादक दिनेशराज ज्ञवाली राम्रा गजलकार हुन् भने अनेसास जापानका बलिया खम्बा हुन् ।

प्रतिकृया दिनुहोस्