फेरि रमाउनु छ- जमुना क्षेत्री
फेरि रमाउनु छ…!
मडारिएर एकापसमा बादलका टुक्राहरू
ठोक्किँदै निस्किएको बडेमानको आवाजपछि
सीमसीम सीमसीम परिरहेको झरीमा
ओढेर एउटै बर्सादी
छचल्किएको मनको तलाऊमा
डुबुल्की मार्दै गरेका यात्राका ती पल !
दबाएर एक हातले एक्सिलेटर
सुमसुम्याउँदा थकित तिम्रा पाउहरूको न्यानो स्पर्श
अझै ताजै छन् हत्केलामा ।
झरीमा खसेका पानीका बूँदसँगै
परेलीबाट खसेका बूँदलाई सम्हाल्दै
तिम्रा मायालु आवाजले लठ्ठिएका आँखामा
तिम्रा ओठहरुको न्यानो स्पर्श
ताजै छन् अझै यी आँखामा ।
टन्टलापुर घाममा सेकिएको आँतलाई
तिम्रा मायालु हातको स्पर्शले
छाएका शीतल ती पलहरु !
याद गर त एक फेर
चियाको चुस्कीसँगै
तर्काएर पीडाको पोखरी
डुबेर नयन समुद्रमा
बुझेर हृदयको भाकालाई
पोखिएको मन्द मुस्कानको स्मृतिमा
अनायास मुस्काउँछन् यी ओठहरू ।
शरीर कोशौँ टाढा भए पनि
साटेर भर्च्युअलमा भावनाहरू
एक-अर्काको ढुकढुकी महसूस गर्दै
निस्किएका साउतीहरू
गुञ्जन्छन् अझै यी कानहरूमा ।
गरेर सुनौलो बिहानीको कामना
‘शुभरात्रि’ बिदाइका शब्दपश्चात् पनि
साउतीमै कटेका रातका तेस्रो प्रहरले
गिज्याउँदै सोध्ने गर्छन् तिम्रो खबर ।
प्रिय !
मलाई त्यही जिन्दगी जिउन मन छ
त्यही पल हरपल महसूस गर्नु छ
यो दुनियाँको बेवास्ता गरेर
फेरि रमाउनु छ… !
इटहरी, सुनसरी निवासी कवि जमुना क्षेत्रीका कविता, गजल तथा मुक्तकहरू विभिन्न पत्र-पत्रिका तथा युट्युव च्यानलहरूमा पढ्न र सुन्न पाइन्छन् ।
प्रतिकृया दिनुहोस्