‘यात्राको लय’मा प्रदीपका साहित्यिक पदचाप
‘यात्राको लय’मा प्रदीपका साहित्यिक पदचाप
आफूले जे भोगेका छन् नि, पाठकलाई पनि आफैँले भोगे झैँ भान पारी जुरूक-जुरूक पार्ने ल्याकत प्रदीपका नियात्राहरूले राख्दछन् । ‘यात्राको लय’ ले आफूलाई अब्बल साबित गर्ने केही प्रमाणहरू छोडेको छ ।
मेरो हिसाबले त लेखक प्रदीप सापकोटा उहिल्यै छाइसक्नुपर्ने हो नेपाली साहित्याकाशमा । हामी केटाकेटी हुँदा नै प्रदीप साहित्यका पारखी थिए । घरको कोठा मै पुस्तकालय बनाएका थिए । साहित्य र दर्शनका असंख्य पुस्तकहरू उतिबेलै संकलित थिए, उनको आफ्नै पुस्तकलयमा । हामीले साहित्य र त्यसका विधाहरू सिक्दै गर्दा उनी सिर्जनामा रमाउन थालिसकेका थिए । चाडपर्व एवं विशेष अवसरहरूमा गाउँमा मञ्चन गरिने नाटक उनी त्यतिखेरै लेख्थे । उनले कविता, निवन्ध, संस्मरणहरू आदि लेखेर भरेका नोटकापीका ठेलीहरू उनका भाइ विजयले मलाई उहिल्यै देखाएका हुन् । कुरा २०५०-०५२ साल तिरैको हो ।
पहिल्यैदेखि अध्ययनशील प्रदीपले नै हामी अनुजलाई पनि साहित्य पढ्ने प्रेरणा दिएका हुन् । अनि पढ्दै पढ्दै लेख्न थालेका हौँ हामीले । यस हिसावले प्रदीप हामीभन्दा अगाडि देखि नै साहित्यिक चेत भएका साहित्यानुरागी हुन् । हामी कोपिला हुँदाखेरि नै उनी सिर्जनाका फूल फुलाउने साहित्यिक बगैँचाका माली हुन् । लेखनमा धेरै अगाडि देखिका साधक भएर पनि प्रकाशनमा अलिक पछाडि आएका प्रदीप पाठक माझ आउँदा भित्रभित्रै खारिएर मात्र बाहिर आएका हुन् । जुन कुरा प्रदीपका लेखनहरूमा प्रतिबिम्बित भएर आउँछन् । फुटकर रचनाहरू मार्फत नै प्रदीपले लेखन क्षमताको प्रमाण पेश गरिसकेका हुन् । तसर्थ कृति हातमा नपर्दै मलाई उनको लेखकीय शक्तिमत्ताको अपेक्षा पहिल्यै थियो । जब हात परेको ‘यात्राको लय’ ले पक्डिएको लयमा मिसिएँ, तब यस्तरी तानिएँ कि, अपेक्षा गरेभन्दा उच्च कोटीको कृति पो हात परेछ । कृतिहरूको संख्या गनेर वरिष्ठ कहलाउने लेखकहरूलाई समेत भारी पर्ने नियात्रा संग्रह ल्याएर प्रदीपले नबोलीकन ठूलो स्वरले भनिदिएका छन्- परिमाण(संख्या)ले भन्दा परिणाम(गुण)ले परिपक्वता मापन गर्दछ ।
यात्राको लयभित्र सत्रवटा नियात्राहरू समेटिएका छन् । हरेकमा लेखकका यात्राका अनुभवहरू छन् । तर त्यति मात्र छैनन्, पाठकलाई पनि सँगसँगै यात्रा गराउन सक्ने तत्त्व छन् । जस्तो, टनकपूरमा भारतीय सुरक्षाकर्मीले क्यामरा खोसेर रिल नष्ट गरिदिएकाले कैद गरिएका तस्वीर सुरक्षित गर्न नसकेको दुखेसो लेखकले गरेका छन्, तर शब्दका प्रतिविम्वमा तस्वीर देखाउन सक्ने उनको लेखन कलाले पाठकलाई उनीसँगै त्यहाँ सचित्र उभ्याउने क्षमता राखेको छ ।
लेखक आफू भ्रमणशील छन्, तर केवल घुम्नका लागि भ्रमण गर्दैनन् उनी । त्यो कुरा लेखाइहरूमा प्रष्टिन्छ । संयोग र सन्दर्भ फरक फरक भए पनि, अनुभव र अनुभूति अनेक अनेक भए पनि यात्रा आफैँमा जीवनको एक सिकाइ हो भन्ने कुरा यसमा समाविष्ट नियात्राहरू पढेर थाह हुन्छ । यात्राका दौरान नियात्राकार कतै रमाएका छन्, कतै भावुक बनेका छन्, कतै कष्टले दुखेका छन्, कतै राष्ट्रियताले ओतप्रोत भएका छन् । आफूले जे भोगेका छन् नि, पाठकलाई पनि आफैँले भोगे झैँ भान पारी जुरूक-जुरूक पार्ने ल्याकत प्रदीपका नियात्राहरूले राख्दछन् । ‘यात्राको लय’ ले आफूलाई अब्बल साबित गर्ने केही प्रमाणहरू छोडेको छ ।
बान्की परेका वाक्य, छरितो तर सबल व्यवस्थापन, कौतुहलता जगाउने औपन्यासिक शैली, छरिछट्ट आकर्षक प्रस्तुतिकरण, अनि ज्ञानवर्द्धक र जानकारीमुलक खँदिला खुराक आदि यसका उल्लेख गर्नै पर्ने केही विशेषताहरू हुन् । प्रस्तुत संग्रहमा संग्रहित नियात्राहरू केवल यात्राका अनुभवहरू बताउन आएका छैनन्, यात्रा गर्दा पुगेका ठाउँका विशेषता देखि त्यहाँको भूगोल, इतिहाँस, संस्कृति लगायत धेरै थोक सिकाउन सफल छन् । उदाहरणका लागि, जनयुद्धको सन्दर्भ आउँदा लेखक पुगेको स्थान विशेषमा कुन अवधि र मितिमा त्यहाँ के भएको थियो र त्यसको असर के थियो भन्ने पनि उल्लेख छ ।
लेखक कहलाउनका लागि लेख्नेहरूका भीडमा प्रदीप अलग छन् । उनी लेखकको इज्जत बढाउनका लागि लेख्छन् । कृति संख्याका आधारमा गतिलो र निरीह नछुट्याई लेखनको ओजका आधारमा भन्नु पर्दा प्रदीप सशक्त लेखक हुन् । खारिएर आएका उनी तर्क सहित अभिव्यक्ति पस्किन सक्ने लेखक हुन् । र, त्यसको पछिल्लो प्रमाण हो, यात्राको लय । नाता सम्बन्धले भन्दा- मेरो छिमेकी दाइ, साहित्यिक सम्बन्धले भन्दा- नजानिँदो गरी मेरो पथप्रदर्शक र कुनै पनि सम्बन्ध नराखी भन्दा- नेपाली साहित्यमा सम्भावनाको खानी उत्खनन गर्न आएको बलिष्ठ साहित्यिक मजदुर प्रदीप सापकोटालाई हार्दिक बधाई दिन्छु । ‘यात्राको लय’ सदाबहार छ ।
यतिसम्म कि, यात्रामा भेटिइएका प्रख्यात व्यक्तित्वका सालिकलाई यो सालिक हो भनेर छोडिएको छैन, त्यो सालिक भएर त्यहाँ उभिनुको बृतान्त प्रस्तुत गरिएको छ । नियात्राकार पुगेका कैयन स्थानहरूमा कुन जमानामा के भएको थियो र त्यसबाट के शिक्षा लिन सकिन्छ भन्ने जानकारीका पोकाहरू नियात्राहरूमा मिलाई मिलाई अटाइएका छन् । यसले खास दुइटा कुरा व्यक्त गर्छन्:- एक- लेखक आफैँमा कति अध्ययनशील र बृहत् जानकारी राख्ने व्यक्तित्व हुन् भनेर प्रष्ट हुन्छ । दुई- प्रस्तुत नियात्रा संग्रह पठनीय त यसै छ उसै छ । जानकारी, ज्ञान र अभिलेखहरूको संरक्षणका लागि संग्रहणीय पनि छ ।
लेखकको कथन शैली छ उत्तिकै बेजोडको । ‘म’ पात्रले एक कथानकमा डुबेर लेखेको कथा जस्तो । कतिपय त लेखकका भोगाइ पनि कथै जस्ता लाग्ने ! तर, ती वास्तविक हुन् भनेर विश्वास दिलाउन कसर नछोडिएका पृष्ठभूमिका उठानले पाठकलाई जिरिङ्ग गराउने छन् । भाषा सम्पादन र प्रुफ रिडिङका थुप्रै काम गरिसकेको मैले प्रस्तुत संग्रहमा भाषागत औँला उठाउने ठाउँ कतै देखिन । शुद्धाशुद्धिमा एकाध सन्धिविग्रहका छुटपुटलाई नजरअन्दाज गरिदिएँ । किनभने, गतिलै आँकिएका पुस्तकहरूमा समेत अर्थै बिगार्ने अशुध्दिहरू पनि भेटिन्छन् कतै कतै । यस्मा त त्यस्तो नगण्य छ ।
समग्रमा, लेखक कहलाउनका लागि लेख्नेहरूका भीडमा प्रदीप अलग छन् । उनी लेखकको इज्जत बढाउनका लागि लेख्छन् । कृति संख्याका आधारमा गतिलो र निरीह नछुट्याई लेखनको ओजका आधारमा भन्नु पर्दा प्रदीप सशक्त लेखक हुन् । खारिएर आएका उनी तर्क सहित अभिव्यक्ति पस्किन सक्ने लेखक हुन् । र, त्यसको पछिल्लो प्रमाण हो, यात्राको लय । नाता सम्बन्धले भन्दा- मेरो छिमेकी दाइ, साहित्यिक सम्बन्धले भन्दा- नजानिँदो गरी मेरो पथप्रदर्शक र कुनै पनि सम्बन्ध नराखी भन्दा- नेपाली साहित्यमा सम्भावनाको खानी उत्खनन गर्न आएको बलिष्ठ साहित्यिक मजदुर प्रदीप सापकोटालाई हार्दिक बधाई दिन्छु । ‘यात्राको लय’ सदाबहार छ ।
कोपन्हेगन,डेनमार्कमा बसोवास गर्नुभएका समालोचक साहित्यकार प्रकाश अनेसासका आजीवन सदस्य हुन् ।
प्रतिकृया दिनुहोस्