अनेसासको छैठौं अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलनको संयोजकमा सौरव कारन्जित

आगामी जून २३, २४, र २५ मा बेल्जियमको ऐतिहासिक शहर अन्टवर्प (Antwerp) मा हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न अनेसास केन्द्रीय कार्यसमितिले अनेसास बेल्जियम च्याप्टरका अध्यक्ष सौरव कारन्जितलाई सम्मेलनको संयोजक तोकेको छ।

सम्मेलनका कार्यक्रमहरू
विगतका सम्मेलनहरू जस्तै यस सम्मेलनमा पनि विभिन्न च्याप्टरहरूको गतिविधि प्रस्तुत गर्ने, मूल्यांकन गर्ने, संगठनात्मक सुदृढीकरणका लागि प्रतिनिधिहरूलाई तालिम प्रदान गर्ने, कार्यपत्रहरू प्रस्तुत गर्ने, अनेसासका संस्थापक च्याप्टर अध्यक्षहरूलाई सम्मान गर्ने साथै विभिन्न साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखिएको छ। यसै गरी सम्मेलनमा आयोजना हुने साहित्यसम्बन्धी विविध कार्यक्रमहरूमा नेपाली स्रष्टा र साहित्यप्रेमीहरूको राम्रो उपस्थिति हुने आशा गरिएको छ।

विशेष कार्यक्रमहरू
सम्मेलनको एक दिन बेल्जियम च्याप्टरले स्थानीय संस्थाहरूसँग सहकार्य गरेर विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको छ।

त्यसैगरी तीन-दिने औपचारिक सम्मेलनपछि, आगन्तुक पाहुनाहरूका लागि दुई-दिने साहित्यिक भ्रमणको समेत आयोजना गरिनेछ, जसले साहित्यकारहरूलाई परस्पर संवाद तथा अनुभव आदान–प्रदान गर्ने अवसर प्रदान गर्नेछ।

सम्पर्क विवरण
सम्मेलनसम्बन्धी थप जानकारीका लागि [email protected] मा ईमेल गरी सम्पर्क गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस्