शुभसाइत

शुभसाइत
एक मुहूर्त एक आभाष
साइत शुभसाइतको
वर्षै भएछ
सत्यकथा जस्तो
धमिलो स्मरण
पुरानो याद मिठो सम्झना
छाएको छ हृदयभरि
ओगटेको छ सिङ्गो मुटु
मनले चाहिरहने
आँखाले पलपल खोजिरहने
त्यो प्रिय अतीत अनि धारिलो क्षण
शुभ साइतको |
राता टीका निधारभरि
खादा र फूलमालाले
गर्धन लचक्क पार्दै
एक मन आत्तिएको जस्तो
अर्को मन फुरुक-फुरुक
कलकलाउँदो उमेर
जवानीको जोश
चञ्चले आँखा र आशाहरू |
पुराना कपडाले भरिभराउ
सुटकेश घिसार्दै
आमाले खुवाएको एक चम्ची दहीमा
मुछेको अथाह प्रेम र
मातृत्वको स्वादमा
मधु र माधुर्यको एक नौलो अनुभूति
दैलाको जोर घडामा
तामाको सिक्का राख्दै
बिदाइमा हल्लेका यिनै हातहरू |
भारी मनले बिदाइ गरेको वासस्थान
मलिन लागेको आफ्ना चोटा कोठाहरू
परेलीका आली नाघेर
गलाका पाटाभरि बजारिएका
प्रियहरूका अश्रुका डल्लाहरू
वियोगको पीडामा भक्कानिएका आफन्तहरू
बडाहरूको वचन र आशिष् |
लामा पहाडको लर्कन
मरभूमिको बलौटे जङ्गल
ठुला समुद्रहरूलाई छिचोलेर
आकाश र धर्तिबीचबाट संसार चियाउँदै
क्षितिजमा हराउँदै
बादल च्यातेर कोरेका गोरेटो गल्लीहरू
मनले छानेको उत्तम जीवन र
भविष्यको खोजीमा रुमलिएको नौलो यात्रा
वायुको गतिमा उडेको तन र मन
बन्द नयनका सपना र खुल्ला नयनका कल्पनाहरू
सुनौलो दिनको प्रतीक्षाको घडी |
आँगनको डिलमा पुगेर
बाको काँध र आमाको सप्कोले मुख छोपेर
हाँसोको अभिनयमा दाँत देखाउँदै
“किन पीर गरेको नि म छिट्टै फर्कीहाल्ने त हो’
भने पनि आफू भक्कानिँदा
कोलाहल बनेको त्यो परिवेश
छिट्टै फर्किने प्रतिज्ञा गरेको आफ्नै वचनले
आफ्नो हृदय घोचिरहन्छ हरपल
रेटिरहन्छ यो जीर्ण मुटु
आफ्नै त्यो प्रवासीने निर्णयले |
विमोहक जीवनको यो उत्तरार्द्धमा
धिपधिपे चाह बोकेर सुस्ताउँछ सास
अन्तिम प्रहर गर्छ आफ्नै देवत्व
उही मेदिनी अनि माटोकै आस
यो निहाल जिन्दगी
आज तीन दशक पार गरिसकेको छ
अस्ताउन लागेको घामजस्तै
पश्चिमतिर डुब्दैछ जीवनी
घर फर्किने सुनौलो साइतको प्रतीक्षा गर्दै
बित्दै छ शुभसन्ध्या रात र दिनहरू
वर्षौँदेखि वर्षौँसम्म
प्रतीक्षित छ शुभसाइत !!
अमेरिका निवासी कवि निरौलाका दर्जनौँ साहित्यक कृतिहरू प्रकाशित छन् । उहाँ अनेसासका निवर्तमान महासचिव हुनुहुन्छ ।