माया

आशीष  दस बर्षको थियो । उसको घर पछाडि एउटा आरुको बोट थियो । बोटमा आरु लटरम्म फलेका थिए । ऊ आरु टिप्न गयो ।

त्यस रूखमा जुरेली चरीले गुँड लगाई फुल पारेको रहेछ । जुरेली चरी फुल छोपेर ओथारो बसेको थियो ।

आशीष रूखमा चढेपछी जुरेली चरी उड्यो र पर अर्को रुखको हाँगामा गएर बस्यो ।आशीष मख्ख पर्‍यो र मनमनै सोच्यो- ‘अब जुरेलीले बच्चा कोरल्छ, अनि ती बच्चाहरूलाई घरमा ल्याएर पाल्नुपर्छ ।’

नभन्दै केही दिनपछि जुरेली चरीले बच्चा कोरल्यो । गुँडमा चारवटा बचेरा थिए । जुरेली चरी ती बचेराहरूलाई दिनदिनै आहारा ल्याएर खुवाउँथ्यो । आशीष पनि दिनदिनै रूखमा चढेर ती बचेराहरूलाई हेर्थ्यो । बचेराहरू बिस्तारै बढ्न थाले ।

आशीषले आफ्नो बाबालाइ पिँजडा किनेर ल्याइदिन पटक-पटक आग्रह गर्‍यो ।  ढिपी गरेपछि उसका बाबाले उसलाई पिँजडा किनेर ल्याइदिए ।

बचेराहरू ठूला भए । ती उड्न सक्ने हुँदै थिए । आशीषले ती बचेराहरूलाई घरमा ल्याई पिँजडामा राख्यो । उसकी आमाले ‘गुँडमै लगेर राखिदे’ भनेर कराइन् तर उसले टेरेन । बचेराहरू माउ वियोगले चिरचिर-चिरचिर गरी कराउन थाले । आशीषले भात लगेर राखिदिन्थ्यो । दूध लगेर राखिदिन्थ्यो । तर बचेराहरूले खाएनन् ।

उता माउ आफ्ना बच्चाहरू कुनै उपायले गुँडमा आउँछन्  कि भनी त्यही आरुको रुखमा आएर कराउँथ्यो । आशीष भने ‘तिम्रो बच्चाहरू मैले पालेको छु है’ भन्थ्यो ।

केही दिनपछि बचेराहरू पिँजडामै मरे । आशीष साह्रै दु:खी भएर ती मरेका बच्चाहरूलाई गुँडमै लगेर राखिदियो । माउ जुरेली फेरि पनि आफ्ना बच्चा भेटिन्छ कि भनी आयो । गुँडमा आफ्ना बच्चाहरू मरेको देखेर साह्रै दुखित भएर फर्कियो । त्यसपछि कहिल्यै त्यो गुँडमा आएन ।

आशीष माउ जुरेली आउँछ कि भनी उसको बाटो हेरिरहन्छ । तर माउ जुरेली अहिलेसम्म फर्किएर आएको छैन ।

(साहित्यकार तथा साहित्यिक पत्रकार रामसुन्दर देउजा नेपाल साहित्यिक पत्रकार संघ, सयपत्री प्रतिष्ठान, जनमत साहित्यिक त्रैमासिक, सुनकोसी वाङ्मय प्रतिष्ठान आदिमा आवद्ध छन् । गद्य र पद्य दुवै विधामा कलम चलाउने देउजाका हालसम्म ‘भाँचिएको मन’ कवितासङ्ग्रह, ‘मन’ मुक्तकसङ्ग्रह र ‘चाकाचुली’ बाल कवितासङ्ग्रह प्रकाशित छन् ।)

प्रतिकृया दिनुहोस्