अनेसासको छैठौँ बिश्व सम्मेलनबारे थप कुरा

बेल्जियममा हुँदै गरेको अनेसासको ग्लोबल सम्मेलनले बिगतका सम्मेलनहरुकै निरन्तरता दिएर मात्र पुग्छ जस्तो लाग्दैन। अब जुनको २३,२४ र २५ गते हुने सम्मेलन बास्तवमा संगठनको आगामी कार्यदिशासंग सम्बन्धित रहने देखिन्छ। अनेसासको जीवन शाखाहरुको शरीरसंग अभिन्न रुपले जोडिएको हुन्छ। सम्पूर्ण शाखाहरुका गतिविधिहरुको समिष्टि नै अनेसास हो। त्यसैले अहिले बेल्जियममा हुँदै गरेको सम्मेलन तिनै शाखाहरुको आन्तरिक जीवन पद्दतिसंग सम्बन्धित छलफल हुने छ।
यसको जीवन पद्दतिमा मातृभाषा,साहित्य र संस्कृति पर्दछन्। ब्याक्ति वा समुदायले बोल्ने मातृभाषाहरुको मेरुदण्डमा उनिएका साहित्यिक सृजनाहरुबारे अनेसासले बिशेष चासो राख्छ। भाषिक अभियानको श्रीवृद्धिको लागि यो समाजले अत्यान्त महत्व दिन्छ। सांस्कृतिक गतिविधिहरुको माध्यामबाट हुने भाषिक प्रयोग,कला र मौलिक सृजना सौन्दर्यलाई अनेसासले सदैव प्रेरणा दिँदै आएको छ। यी सबै कुराको नेतृत्व गर्ने भनेर नै अनेसास जन्मेको हो।
मानिसको जीवन जस्तै साहित्यिक जागरणको बाटो पनि सरल रेखाबाट अगाडी बढ्न सक्दैन । बीच बीचमा धेरै खालका उतार चढावहरू आइरहन्छन् । कुनै पनि अभियानले आफ्नो लामो जीवनमा धेरै भोगाइहरू भोगेको हुन्छ । अनेसासको सन्दर्भमा पनि त्यो नियम लागु नहुने कुरै भएन ।
त्यस्तै गरेर सन् १९९० मा भानु जयन्तिको अबसरमा अनेसासको कन्सेप्ट तयार भयो। ११ जनवरी १९९१मा स्थापना भएको अनेसास बेल्जियमको जीवनकालमा धेरै साहित्यप्रेमीहरूले नेतृत्व गरिसकेका छन् । स्थापना कालमा साहित्यकार होमनाथ सुबेदीले अनेसासको नेतृत्व गर्नु भयो । अन्तराष्ट्रिय क्षेत्रमा नेपाली भाषा साहित्य प्रेमीहरुबीच संजाल बिस्तार गरि
भाषा साहित्यको उत्थान गर्ने यसको मुलभुत उद्येश्य रहेको छ। यसले बिस्तारै आफ्ना शाखाहरुको बिस्तारमा ध्यान केन्द्रित गर्यो। त्यसले अमेरिका,नेपाल,जापान र युरोपमा पनि आफ्ना शाखाहरु बिस्तार गर्यो। अनेसासको इतिहाँसमा लेखिए अनुशार सन् २००३मा पुरुस्वत्तम सुबेदी केन्द्रिय अध्यक्ष हुनुहुन्थ्यो। उहाँको कार्यकालमा कमला सरुप उपाध्यक्ष र गोपाल प्रसाद रेग्मी महासचिव रहनु भएको थियो। तत्कालिन महासचिव गोपाल रेग्मीका अनुशार बेल्जियममा पनि अनेसासको च्याप्टर बनेको कुरा उल्लेख गरिएको रहेछ। जसमा अध्यक्ष रमेश प्रसाद शर्मा,उपाध्यक्ष मोहन बस्ताकोटी,महासचिव हेमा खनाल,सचिव शिबराम ढकाल र कोषाध्यक्ष अविनाश बहादुर कार्की भनेर उल्लेख गरिएको छ। त्यसपछि उक्त समितिले कतै सम्मेलन गरेको वा नेतृत्व हस्तान्तरण गरेको विवरण कतै उल्लेख छैन।
सन् २००७ मा अनेसासले अघिल्लो समिति पूर्णतया निस्क्रिय भएकोले हुन सक्छ कृष्ण बजगाईंको नेतृत्वमा अर्को तदर्थ समिति स्थापना गरेर अगाडी बढेको देखिन्छ। जापानमा बस्ने डा.कुमार बस्नेत (२००८-२०१०) केन्द्रिय अध्यक्ष हुँदा कृष्ण बजगाईं महासचिवमा निर्वाचित हुनुभयो भने ज्ञानेन्द्र गदाल(२०१०-२०१२)को कार्यकालमा कृष्ण बजगाईं केन्द्रको बरिष्ठ उपाध्यक्षमा बेल्जियमबाट निर्वाचित हुनु भयो। यसरि युरोपबाट पहिलो पटक बरिष्ठ अनेसासको बरिष्ठ उपाध्यक्षमा पुग्ने साहित्यकार कृष्ण बजगाईं हुनु भयो।
पछिल्लो कालमा युरोपले अनेसासको छविलाई उज्यालो बनाउदै लग्यो त्यसमा बेलायत,पोर्तुगल र बेल्जियममा रहेका शाखाको ठुलो योगदान छ। यो अविछिन्न यात्रामा अनेसास बेल्जियमका स्रष्टाहरूले यन्त्रवत्, रोड म्याप लघुकथा, हिउँको तन्ना हाइकु, श्रष्टा र डिजिटल वार्ता(कृष्ण बजगाईं), सम्झनाका तरेलीहरू, उपासना (गीतिसङ्ग्रह), विभाजित मन र सुनाखरी (हाइकु सङ्ग्रह), गोधुली मन, स्पन्दनका छालहरू तथा अजम्बरी मुक्तकसङ्ग्रह(बिमल गिरी), पथिक प्रवाशन (उपन्यास) र प्रवासीको देश हुन्न कथा संग्रह (पंचम अधिकारी), समुन्द्र र सपना कथासङ्ग्रह (सञ्जु बजगाईं), युरोपको बस्तुगत सामान्य ज्ञान(दिपकज्योति पौडेल), उपहार ककविता सङ्ग्रह ब्रह्मदत्त वाग्ले, छरिएका सौरभ मुक्तकसङ्ग्रह, नर्थ सीको किनारबाट तथा अनुभूतिका अक्षरहरू कवितासङ्ग्रह (दिपेन्द्र केशी), आधारभूत नेपाली अङ्ग्रेजी शब्दकोश (कुन्दन केशी), तपाईं युरोपमा गाडी चलाउनु हुन्छ, तपाईं निदरल्याण्ड बोल्न चाहनु हुन्छ ?(पदम गुरुङ), राजकुमार पुडासैनी, जीवनको आरम्भ (कविता सङ्ग्रह) युरोपको खाना बनाउने विधि सम्बन्धी रेसपी पुस्तक(हरि श्रेष्ठ) लगायत थुप्रै भाषा, संस्कृति र साहित्यसँग सम्बन्धित कृतिहरू दिइसक्नु भएको छ ।
बेल्जियमबाट अनेसासले शब्दान्जली साहित्यिक पत्रिका पनि केहि अङ्कसम्म प्रकासित गर्यो। विभिन्न संघसंगठनहरुले साहित्यिक तथा भाषिक बिस्तारको रुपमा दर्जनौँ स्मारिकाहरु पनि प्रकाशित गरिरहेका छन्।
यसको अलावा बेल्जियमको सेंत्रुदेंन नगरपालिकाको साहित्यिक एकेडमी, अनेसास बेल्जियम र द हिमालयन सोसाइटीको संयुक्त आयोजनामा संकलित र प्रकाशित ‘फ्रित नेपाल’ नामक नेपाली र डच भाषाको कवितासङ्ग्रह अर्को एक उल्लेख्य कृति मानिन्छ । त्यो खालले साहित्यिक सृजनाहरु फ्रान्स,बेलायत,पोर्तुगल,डेनमार्क,जर्मनी लगायतका देशहरुमा पनि गरिरहेको देखिन्छ।
साहित्यको सिर्जनात्मक अभ्यासमा रुचि, ज्ञान, वातावरण र समय अभावका कारण जटिलताहरू धेरै छन् । तर पनि प्रवासका श्रष्टाहरुले अहिलेसम्म हजारौं बौद्धिक साहित्यिक कृतिहरू हाम्रो समुदायलाई प्रदान गरिसक्नु भएको छ । धार र रुचिहरू अनेक छन्, चेतनाका स्तरहरू फरक फरक छन् तर प्रवासी साहित्यको नोस्टाल्जिया र देश छोड्नुको पीडाबोध उस्तै छ । यही नेर प्रवासी हातले लेखेको रचना र नेपालभित्र लेखिएको कृतिबीच अन्तर छ ।
नेपाली भाषाको सिकाइको सन्दर्भमा पनि अनेसासले अत्यधिक महत्त्व दिँदै आएको छ । यसले स्थानीय सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै नेपाली भाषा कक्षा सन् २००७ बाटै लुभेन शहरबाट सुरु गरेको थियो भने अन्त्वेर्पेन शहरमा २०१० बाट नेपाली कक्षा संचालनमा विविध प्रकारले प्रेरणा दिइरहेको छ । त्यस्तै बेल्जियमको ओस्टेनडे,ब्रुग्गे लगायत नेपाली भाषा स्कुलहरू विभिन्न आरोह अवरोह झेल्दै चलिरहेका छन् ।
मुख्य गरेर साहित्यिक विभूतिहरूको जन्म जयन्तीमा साहित्यिक कार्यक्रमलाई अनेसास बेल्जियमले अटुट रूपले निरन्तरता दिएको छ । त्यसको अलावा लेख रचनाहरूको क्षेत्रमा पनि बेल्जियमका स्रष्टाहरूले उल्लेख्य योगदान दिँदै आउनु भएको छ । अनेसासको गतिविधिमा पनि युरोपको तदारुकता क्रमश अगाडी बढिरहेको छ। गतबर्ष पोर्तुगलमा यसले विश्व साहित्यिक सम्मेलन सम्पन्न गर्यो भने यो बर्षको जुन २३,२४ र २५ मा बेल्जियम शाखाले विश्वभरी रहेका अनेसासका शाखाहरुको सम्मेलन गर्दै छ।
हामीले युरोपको सन्दर्भमा पनि बोष्टनको घोषणाको दीर्घकालिक मर्मलाई आत्मसात् गर्ने भग्मजदुर प्रयत्न गरिरहेका छौँ । यसैलाई ध्यानमा राखेर फ्रान्समा अनेसासको नयाँ शाखाले जन्म लिइ सकेको छ भने स्विजरल्याण्ड लागायत् अन्य देशमा साखा बिस्तारका कामहरु अगाडी बढ्दै गएका छन्। यसरि सृजना र मातृ भाषाको बिस्तारलाई सम्पूर्ण प्रवाशी नेपालीले आत्मसात् गर्न सके प्रवासबाट हाम्रो भाषा कहिल्यै हराउने छैन । त्यसैले हाम्रो जागरण भाषा र साहित्यको लागि सँगसँगै हुनु पर्छ । भाषा जोगाउने मुख्य कडी यसको प्रयोग हो। प्रयोग बिना भाषाको अस्तित्व असम्भव छ ।
यस्ता अभियानले भाषा र साहित्यको महत्वलाई ताजगी र जीवन्तता प्रदान गरिरहन्छ ।होमनाथ सुबेदीको नेतृत्वमा यो संगठन जन्मे देखि क्रमशः किरण ढुंगाना, अच्युत श्रेष्ठ, बसन्त श्रेष्ठ, सरला श्रेष्ठ, भिम प्रसाद रेग्मी, पुरुषोत्तम सुबेदी, डा.दुबसु क्षेत्री, मोहन सिटौला, डा.कुमार बस्नेत, ज्ञानेन्द्र गदाल, गीता खत्री, पदम बिश्वकर्मा, राधेश्याम लेकाली, प्रकाश माइला,गोबर्धन पुजा र सर्वज्ञ वाग्लेको कार्यकालसम्म अनेसासको साखा बिस्तारको काम मात्र भएको छैन, यसले आफ्नो दीर्घकालीन बाटोलाई पनि क्रमशः निखार्दै र अझ प्रस्ट पार्दै लागेको छ ।
कसै कसैलाई लाग्दो हो भाषा साहित्यको अभियानको गति सुस्त भो, कमजोर भो, जागरणले समुदायमा पार्ने प्रभाव नगण्य देखियो । अभियानको क्रममा त्यस्तो लागेको हुन सक्छ तर भाषा साहित्यको जागरणले झट्ट परिणाम दिन्छ, तुरुन्तै यसको प्रभावले गुणात्मक फड्को मार्छ र जागरणको असरले व्यापक रूपमा हल्लाउनु पर्छ भनेर सोच्नु अति हुन सक्छ । हामीले बुझ्नु बुझाउनु पर्छ कि प्रवासमा साहित्यिक र भाषिक जागरण एक दीर्घकालिक अभियान हो । यसको परिणाम आजको भोलि देखिने खालको हुँदैन । मातृभाषाको जीवन्तताको प्रश्न लामो र युगान्तक हुन्छ । एकाध वर्ष वा दशकको प्रयासले मात्र भाषा मानिसको जनजिब्रोमा रहेर बाँच्न, फल्न र फुल्न सक्दैन । जसरी कुनै एक भाषा जन्मन समुदायको लामो अभ्यास, व्युत्पत्तिको लामो शृङ्खला र अपभ्रंश तथा रूपान्तरणको युगिन बाटो पार गर्नु पर्ने हुन्छ । त्यस्तै यसको निरन्तर जीवन्तताको लागि पनि त्यहीँ बाटो हिँड्नु अनिवार्य छ । त्यसैले प्रवासमा भाषाको जीवन्तताका लागि निरन्तरको प्रयोग, जागरण र प्रेरणा अझै जरुरी देखिन्छ । नत्र प्रवासमा अल्पसङ्ख्यक भाषाहरू हराएर जाने खतरा रहन्छ ।
त्यसैले बोष्टन घोषणाले भाषा र साहित्यको सम्बन्धलाई समान महत्त्व दिँदै आफ्नो रणनीतिमा संगठन बिस्तारलाई मात्र महत्त्व नदिएर भाषा बचाउने जागरण बिना नेपाली डायस्पोरामा लेखिने साहित्यको महत्त्व कमजोर हुने निष्कर्ष निकालेको हो । त्यो घोषणाले समुदाय र भाषा, नेपाली साहित्य र पाठक, साहित्यको संवृद्धि र बौद्धिक प्रेरणा तथा साहित्यको अन्तर्राष्ट्रियकरणको मुद्दालाई रणनैतिक सारको रूपमा लिने बाटो तय गरेको हो ।
अर्को तर्फ, बोष्टन घोषणाले तात्कालिक कार्यनीतिको रूपमा संगठन वा शाखाको बिस्तार,प्रभावकारी कार्यक्रमहरूको व्यापकता, जनसमुदायको बीच अनेसासका गतिविधिहरूको प्रचार र नेपाली भाषाको पठन पाठनलाई एक परिवार एक पाठशालाको रूपमा लैजाने प्रतिबद्धता जाहेर गरेको छ । त्यस्तै अनुशासन र पारदर्शितालाई अनेसासले सर्वश्रेष्ठ मानक बनाउने कुरा पनि घोषणामा सुस्पष्ट रूपले उल्लेख छ ।