‘युगकवि सिद्धिचरण पुरस्कार’ डा. दुबसु क्षेत्रीलाई

काठमाडौँ । युगकवि सिद्धिचरण प्रतिष्ठानले २०८२ सालको ‘युगकवि सिद्धिचरण पुरस्कार’ साहित्यकार डा. दुर्गाबहादुर सुवेदी क्षेत्री (डा. दुबसु क्षेत्री) लाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले हालै एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो । पुरस्कारका लागि नाम छनोट गर्न प्रतिष्ठानबाट प्रा. डा. मोहनप्रसाद लोहनीको संयोजकत्वमा प्रा. डा. अभि सुवेदी र कवि मञ्जुल सदस्य रहेको त्रिसदस्यीय प्रतिभा छनोट समिति गठन गरिएको थियो । सोही समितिको सिफारिसमा उक्त निर्णय भएको हो ।

 

 

डा. क्षेत्रीले ‘भीमसेन थापा’ खण्डकाव्यलाई नाटकीकरण गरी बेलायत लगायत विभिन्न देशमा मञ्चन गर्ने, युगकविका कविताहरू अंग्रेजी र जापानी भाषामा अनुवाद गराई प्रकाशन गर्ने जस्ता उल्लेखनीय कामहरू मार्फत युगकवि सिद्धिचरण श्रेष्ठको सुयशलाई अन्तर्राष्ट्रिय जगतमा फैलाउन निस्वार्थ भावले महत्वपूर्ण भूमिका खेल्नुभएकोले सोको कदरस्वरूप उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ ।  साथै उहाँले तीन दर्जन भन्दा बढी कृति लेखन तथा पत्रपत्रिकाहरूको सम्पादन गरी सक्नुभएको तथा एक दर्जनभन्दा बढी अनूदित कृतिहरूको प्रकाशन र दुई दर्जन सङ्घसंस्थाहरूको स्थापना र नेतृत्वमार्फत नेपाली भाषा साहित्यको श्रीबृद्धिमा विशेष योगदान पुर्‍याएबापत सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको कुरा प्रतिष्ठानका अध्यक्ष  वैरागी काइँलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

नगद रु. एक लाख, स्मृतिचिह्न र सम्मानपत्र सहितको उक्त पुरस्कार आगामी जेठ ९ गते आयोजना हुने युगकविको ११४ औं जन्मजयन्ती विशेष समारोहमा डा. क्षेत्रीलाई प्रदान गरिने छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज  केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष एवम् केन्द्रीय सल्लाहकार डा. दुबसु क्षेत्री लामो समयदेखि विभिन्न देशमा रही कुटनीतिक जिम्मेवारी समेत बहन गर्दै आउनुभएको छ । हाल उहाँ जापानका लागि नेपाली राजदूत हुनुहुन्छ । कुशल कुटनीतिज्ञको रूपमा समेत परिचित उहाँ साहित्यिक क्षेत्रमा बढी चर्चित हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्