यसरी गुञ्जिए समकालीन नेपाली कविताका स्वरहरू

काठमाडौँ । ‘समकालीन नेपाली कविताका स्वरहरू’ नामक नेपाली कविता वाचन कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

बुद्ध जयन्तीको अवसरमा वर्तमान कविता समूह र शब्दाङ्कुर मासिकले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा २३ जना स्रष्टाहरूले आफ्ना सशक्त कविता वाचन गरे । वाचित कविताहरू शान्ति, अहिंसा, समकालीन राजनीतिक र सामाजिक व्यङ्ग्य, वातावरणीय चेतना तथा मानवीय मूल्यका विषयमा केन्द्रित थिए ।

कार्यक्रममा रजनी मिलाले ‘प्रेम भिक्षा ‘, सोझो गाउँलेले ‘मान्छेलाई मर्ने सुविधा पनि छैन’,  कृष्ण बाउसेले ‘हित बुद्ध जायते’ शिर्षकका कविताहरू वाचन गरे । त्यसैगरि लीलाराज दाहालले ‘घाउ’ र अमर आकाशले ‘रुखको हाँगा पनि नकाट्नुहोस्’ शिर्षकका व्यङ्ग्य कविता प्रस्तुत गरे भने विश्व सिग्देलको ‘जोकर जब तानाशाह बन्छ’ शीर्षकको व्यङ्ग्यात्मक कविताले त दर्शकहरूको विशेष नै प्रशंसा पायो । दीपक लोहनीले ‘दुःखको आँसु’ र केशव ज्ञवाली ‘आगत’ ले ‘मौन वृक्ष’ शिर्षकका कविता मार्फत दुःख, मौनता र मानवीय ढोंगको गहिरो चित्रण गरे । त्यसैगरी चन्द्रबहादुर लामाले ‘युद्ध र शान्तिको बीच’ भन्ने कविता वाचन गरे भने राजेन्द्रप्रसाद अधिकारीले ‘मृत्यु एक भ्रम, एक कथा’ नामक कविता मार्फत अस्तित्वको गहन प्रश्न उठाए । दिपक सापकोटाले ‘मान्छे हुनुको दोष’ र धन्वन्तरी मिश्र ‘कात्यायन’ ले ‘ककारोको फूल’ शिर्षकका कविताबाट मानव अस्तित्व र प्रकृतिसँगको सम्बन्धलाई उजागर गरे ।

उता तीर्थराज भट्टले ‘बुद्धको छायाँसँग’, सुनिल पुरीले ‘अपील’ र सेडु नाथ ढकालले ‘कहाँ हरायो बुद्ध’ जस्ता कविताहरूमार्फत शान्तिको खोजी गरे भने हिसिलिना शाक्यले ‘चेतावनी’ र रहेना नकर्मी मानन्धरले ‘शान्तिको आश’ मार्फत सामाजिक जागरण र समर्पणको सन्देश दिए । सुबाससिंह पराजुलीले अङ्ग्रेजीमा र रमी प्रियाले नेपालीमा ‘ओम् मणि पद्मे हुँ’ शीर्षकको कविता मार्फत बुद्धशान्तिको आव्हान् गरे । एन्जल नीलुले मैथिली भाषाको कविता सुनाएर भाषिक विविधतालाई समावेशी बनाए । केशव भट्टाराईले मधुर स्वरमा ग़ज़ल वाचन गर्दा श्रोताहरू मन्त्रमुग्धै भए । धीर कुमार श्रेष्ठको ‘पवित्र क्रान्ति’ कविता वातावरणीय चेतनाले भरिएको थियो भने राधा कार्कीको ‘उन्मुक्ति’ कविताले जीवनलाई सुन्दर बनाउन मान्छेको व्यवहार परिवर्तन गर्दै मानवतामा रम्नुपर्ने बोध गराएको थियो ।

जडिबुटीस्थित कोटेश्वर बहुमुखी क्याम्पसमा निर्धारित समयमै शुरू भएर एक घण्टामै सम्पन्न भएको उक्त कार्यक्रम कवि रमी प्रियाले सञ्चालन गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्