सम्झनामा वि.पी तरङ्गमा इन्द्रमाया

बिहान सखारै आफ्नो घर,छिमेकी घरहरुमा घण्टीका आबाज सुनेपछि, बाटोमा चुपचाप आरुबारी बाट उत्तरतिर जगडोलको सल्लाघारी वनमा शारीरिक व्यायाम गर्न जाने पाइलाहरू, ब्याडमिन्टन, भलिबल र डोरी जस्ता खेल्ने सामानहरु बोकेर साइकलमा हुइँकिने मनहरू देखेपछि लाग्छ जीवनमा लयको कति महत्वपूर्ण स्थान छ ।

वि. सं. २०३७-३८ साल मेरो बाल मस्तिष्क भर्खरै बन्दै गरेको रिङरोड र आकाशे नीलो र पहेँलो रङ्गहरू पहिरेर ओहरदोहर गर्ने, पाइला मैले महाँकाल, पानीट्याङ्की, चाबहिल, मित्रपार्कमा प्रशस्त देखेकी हु । पशुपति मित्र मा.वि. को खुला चउर, चारुमती स्तूपको सेरोफेरो, सिद्धि विनायक मन्दिरको सेरोफेरो मित्रपार्क हुँदै देवपतन सम्मको खुलाबाटो, बाटोका दुवै किनारमा सिपाही झैं उभिएका लहरै मसलका रुख गृह्येश्वरी, पशुपति नाथ मन्दिर, जय बागेश्वरी मन्दिर त्रिशूल जात्रा, वत्सलेश्वरी जात्रा, अहिले ह्यत होटेल भएको खुला फाँट त्यहीं, नजिकै बौद्धनाथका स्थित आँखासँग भलाकुसारी गर्दै बितेको बालापन, हरेक कुरा चुपचाप नियाल्ने, जिज्ञासू आँखा, चञ्चल मन, साझा बस कसले धेरै पटक चढ्यो भनी देखाउने रमाइलो चलन, वालुवा डुङ्गालाई टल्काउँदै बग्ने बाग्मती र धोवा खोलाको पानीको सलल स्पर्श एकसाथ सम्झनाको मीठो सहरमा गर्दै र छुट्टै आनन्दका बर्को ओढछन् । ज्योत्स्ना दाजुको फोनको घन्टीले ती दिनका मेरा कक्षा कोठाका घन्टीहरूलाई नोस्टाल्जिक बनाउँछन् । प्रतिघण्टा तीन सुकाकादरले भाडाको साइकल लिएर अहिलेको धोवी खोला पुलदेखि अहिले मित्रपार्क पेट्रोल पम्प नजिकैको बाटोबाट कतिचोटि बतासिए साइकलबाट गिन्ती छैन ।

साथीहरू सँग मिलेर हिँड्दा, साइकल चढ्दा त्यही पेट्रोल पम्प नजिकैको गहिरी ठाउँमा नजिकै सानोे पोखरी थियो । त्यहीँ नजिकैको अलिकति उचारया भएको एकतले घरको अगाडि चउरमा एउटा दुब्लो मान्छे मोटो कालो फ्रेम भएको चश्मा लगाएर सेतो. चकटी ओछ्याइएको चोयाको मेचमा बसेको म देख्थेँ । वहाँको वरिपरि कहिले मानिसहरू एक्लै बसिरहेको हुनुहुन्थ्यो । मलाई त्यति बेला वहाँ बि.पी. हुनहुन्छ भन्ने केही थाहा थिएन । यद्यपि मेरा बालसुलभ आँखाचाहि त्यता पुग्थेँ । त्यस घरको बायाँ पट्टिको बालसुलभ गह्रगह्रा परेको खेत थियो । त्यहाँ धान रोपेको चाहिँ मैले देखिन । अहिलेको सरस्वती नगर र आन्तरिक राजस्व, विभाग भएको ठाउँमा त धान बाली, गहुँ, आलुखेती प्रशस्त हुन्थ्यो । त्यहि मेरा घरका साथीहरूसँग बेथे टिप्न जान्थ्यौ । महाकाल सान्धाराको साँघुरो बाटोमा वानको खपटामा चिप्लेटी खेल्दै आज सम्झँदा अप्रतिम सुखानुभूतिले झोक्का हान्छ ।

यति धेरै विगत स्मृति यहाँ किन पल्टिए सररर म आफैँ छक्क छु । मलाई उक्त समयमा आफै उक्त समयमा वहाँ राजनीतिमा विजिमीषा र साहित्यमा जिजीविषा खोज्ने महान व्यक्ति हुन भनेर त्यो बालमनमा हालिदिएको भए सायद मेरा स्मृतिक पानाहरू अर्कै मोडमा मोडिन्थे कि । मलाई त केवल, साइकल कसले छिटो कुदाउँछ र त्यसलाई कसरी जित्ने भन्ने मात्र ध्यान थियो । नौ, दश कक्षा पुगेपछि मैले साइकललाई चटक्कै बिर्सिए र त्यतिबेला हिन्दी का कमिक्सहरू पढनमा रमाउन थालेँ । त्यति बेला अहिलेको जस्तो बाल साहित्यका कुनै किताब मैले नेपालीमा पढ्न पाइँले । पछि घरमा बुबाले ल्याउनु भएको पत्रपत्रिका र पुस्तकहरुसँग पनि बिस्तारै रस बस्यो । मैले यतिबेला सम्म विश्वेश्वरलाई पढेकै थिइन जब स्नातक पढ्न चाबहिल को पशुपति बहुमुखी क्याम्पसमा भर्ना भए ।

यहाँ ऐच्छिक नेपाली विषयको अरु कथाहरू सँगै ‘दोषी चश्मा’ कथा पढेपछि ‘केशव राज’ भन्ने पात्रले मेरो मस्तिष्कलाई चिमोटी रह्यो कैयौं दिन । जर्साब गाडीमा सवारी हुँदा स्वस्ति गर्न नपाउँदा उक्त पात्र ७० वर्षको बूढो जस्तो भयो । अहिले विश्वेश्वरलाई पटक पटक पढछु । पटक पटक पढाइन्छ । राइटर बाजेकी राइटर्नी बजै (भोटिनी) लाई जब बोद्धनाथको सेरोफेरोमा पुग्छु सधै सम्झन्छु । आँखाले यतै कतै छिन् कि भनेर खोज्छु । फ्रायडको यौन मनावैज्ञानिको सिद्धान्तका विश्लेषण भएको धेरै पाएँ । यद्यपि एडलर युङ्गको समाज मनोविज्ञानको अध्ययनमा आधारित भएर उनको कथा कमै विश्लेषण गरिन्छ । केशवराज भन्ने पात्र आजको नेपाली समाजमा छन् कि छैनन् होला अध्ययन हुनु पर्ने होइन र ! यसैबाट हामी कहाँ छौँ ? पत्तो भइहाल्छ ।

ज्योटस्ना दाजुको फोनको घण्टीसँगै विश्वेश्वर प्रसाद होइन वि.पी. कोइरालाका बारेमा केही लेख्ने निम्तो पाउँछु । विश्वेश्वरप्रसाद कोइराला विनाको वि.पी.र वि.पी.विनाको विश्वेश्वरप्रसाद कोइराला अपुरो अपुरो अधुरो अधुरो हुन् । आफ्नो जीवनको कालखण्ड वि.सं.२०१७ देखि २०२५ सम्मको आठवर्षे लामो जेल जीवनको समयावधि अध्ययन, चिन्तन, मनन र लेखनमा बिताएका वि.पी.ले कुनै पनि राजनीतिक परिवर्तन र कुनै पनि क्रान्तिले सिङ्गो राष्ट्रलाई राष्ट्रिय सन्दर्भलाई जोडेर समेट्नु पर्छ भन्ने गहन मान्यता राख्दथे । नेपाली काङ्ग्रेसले विक्रम सम्वत् २००७ सालमा गरेको क्रान्ति सिङ्गो देशको लागि थियो । उपलब्धि र परिणाम पनि एकाङ्की थिएन । २००७ साल २०४६ साल, २०६३ सालका लोकतान्त्रिक क्रान्तिले निषेधको परिभाषा नबोल्नुमा वि.पी.कै योगदान छ भन्दा अत्युक्ति हुने छैन ।

बुझ्नेले करा नबुझेपछि मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो भन्ने गीत सानो नेसनल प्यानासोनिक रेडियोमा बज्दैछ छेउमा ।
आज भोलि कक्षा कोठामा जानका लागि घण्टी बज्छन् दिनहुँ जसो÷इन्द्रमाया लाई पटकपटक निम्त्याइरहेकी छु । हुन त पीताम्बर र रमेश सँगसँग हुन्छन् तर इन्द्रमाया जहिल्यै विशेष अतिथि । चूडामणि कोइरालाले वि.सं. २०२५ मा निम्तो दिएका थिए इन्द्रमायालाई आख्यानको संसारमा । हुन त पुलोमा, मोदी, गौरी र मुनरियालाई पनि भेटें पटकपटक ।

राजनीतिमा प्रजातान्त्रिक समाजवादका पक्षपाती वि.पी. साहित्यमा निर्धक्क आफ्ना पात्रको हिनताबोध, उच्चताबोधको चित्रण, समाज मनोविज्ञान, यौन मनोविज्ञान, असमान्य मनोविज्ञान अनेकौँ किसिमका आवेगहरू, मानसिक अन्र्तद्वन्द्व पहिल्याउन सफल भएका छन् ।
विसङ्गतीहरू माझ स्वतन्त्र निर्णय लिँंदै अस्तित्वका निम्ति सङ्घर्ष गर्ने इन्द्रमाया तिमीले स्वबोध त्यतिबेला गर्यौ जब स्वतन्त्र रूपमा आफ्नो जीवन सम्बन्धमा निर्णय ग¥यौँ र ती निर्णयहरु परिणाम खुसी भोग्न तयार भयौ । जीवन बाध्येता र विवशतालाई झेल्दै अभिशप्त बाँच्नु मात्र हो र तिमीसँग आँखा जुधाएर प्रश्न गर्न मन छ ।

बुझ्छु तिम्रा प्रत्येक निर्णयमा तिम्रो अस्तित्व अगाडि ठिङ्ग उभिएको थियो । कहिले प्रियतमा, कहिले पत्नी र कहिले आमाको रूपको अस्तित्व रक्षार्थ परोक्षमा एउटी नारीको जीवनको अस्तित्व रक्षाका खातिर थियो । २०२५ साल देखि प्रश्नहरु तिमी माथि मात्र गरिन्छ । पीताम्बर र रमेशका लागि किन प्रश्नहरु ब्र्सदैनन्, मन यसैले पटक पटक उद्वेलित हुन्छन् ? ती पुरुषहरुले आफ्नो अस्तित्व रक्षार्थ केही गर्नुपदैन ? कि ती प्रकृतिप्रदत्त अस्तित्वान भएकाले पाठकले समाजले, दुनियाँले तिनलाई आख आरती पनि पर्दैन ।

घरमा पत्नी हुँदा हुँदै तिम्रो र पीताम्बरको सम्वन्ध भत्काउने भत्काउने, छोरीको बन्दोबस्त गर्छु भनेपनि खुसी र सुखी जीवन आपूmमात्र भोग्ने , संसद सदस्य समेत बन्ने, जेल जीवन भन्ने अर्कैले भोग्ने, यही प्रश्न स्वार्थी अतितलाई छ ।
निबन्ध लेखनसँग कक्षा कोठामा जम्का भेट भइरहन्छ । सधैँ एउटै ढाँचा आदि भाग, मध्य भाग, र अन्यमा उपसंहार । आदि भाग परिचय खण्ड, मध्यभाग व्याख्या, विश्लेषण, सकारात्मक पक्ष नकारात्मक पक्ष आदि र अन्य भागमा माथि लेखेका कुराको निचोड सहित आफ्नो मन्तव्य ।

धारणा, विचार, सधै– मेसिनमा हाले जस्तो ।
जीवनरूपी निबन्धमा यसरी आदि भाग, मध्य भाग, अन्त्य भाग छुट्याउने आधार पक्कै बाल्यकाल, युवावस्था प्रौढावस्था, र वृद्धावस्था र समाधि त होइन होलानि इन्द्रमाया । मलाई त तिम्रो जीवनको उत्तरार्ध चाहिँ आदि भाग हो भन्ने ठान्छु ।
नोबेल पुरस्कार विजेता अमेरिकी कवि जोन स्टेन्वेक भन्छन्, To be at all is to have scars’ अथवा ‘यस धरामा बाँचिरहनु भनेको घाउको खत बोक्नु हो ।’

विश्वेश्वर प्रसाद कोइरालाको जीवनको आदि भाग त झन् २०३९ सालबाट अझ सशक्त रूपमा सुरु भएको हो ।

सर्जक गोविन्दराज भट्टराईले सुकरातको डायरी’ मा भनेका छन् ‘ एउटा निष्ठावान सृष्टा सधैँ देशको हुन्छ तर ऊ कहिल्यै राज्यको हुँदैन ।” विश्वेश्वर प्रसाद कोइराला सधैँ देशको भए । वि.स. २०३७ सालको जनमत सङ्ग्र्रहमा हार भए पछि उनले हार स्वीकारे । अधिराज्य भरका नेताहरू चावहिल मित्रपार्क वि.पी. बसेका घरमा आइपुगे ।

हामी हार्यौँ । खत्तम भयौँ । वि.पी.ले भने रे नआत्तिनुस् केही जनताले चाहेनन् यसपटक अब सबैजना आ–आफ्नो गाउँघर गएर आ–आफ्नो काम गर्नुस् भनेरे । आखिर चाहिने त देशै हो । अनि त इन्द्रमायाहरुको केशवराजहरुको स्वअस्तित्व, अजर अमर हुन्छ ।

लेखक साहित्यकार अनेसासनेपाल च्याप्टरका बोर्ड सदस्य हुन् ।

मो.नं. ९८४१५३६७६८

प्रतिकृया दिनुहोस्