अनेसासले मनायो युगकवि सिद्धिचरण जयन्ती

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले ११४ औं सिद्धिचरण जन्मजयन्ती विविध साहित्यिक कार्यक्रमका साथ मनाएको छ ।

अनेसास केन्द्रीय कार्यसमितिको आयोजनामा प्रतिष्ठित अनेसासकर्मी, अभियन्ता, विशिष्ठ साहित्यिक व्यक्तित्वहरू र चर्चित  श्रष्टा-सर्जकहरूको सहभागितामा एक भव्य भर्चुअल समारोहका बिच युगकवि सिद्धिचरण श्रेष्ठप्रति श्रद्धा र सम्मान व्यक्त गरिएको थियो ।

अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा केन्द्रीय महासचिव राजु सिटौलाले सहजिकरण गर्नुभएको कार्यक्रममा बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा, सल्लाहकार तीर्थराज अधिकारी, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष मोहन सिटौला, अनेसास वाल समितिका संयोजक तथा पूर्व केन्द्रीय महासचिव सुरेन्द्र उप्रेती (सुरेन), अनेसासका केन्द्रीय सदस्य पुष्पा खनाल, अनेसास जर्जिया च्याप्टरका अध्यक्ष मीरा कोइराला, डिसी च्याप्टरका वरिष्ठ उपाध्यक्ष कविन्द्र सिटौला, डिसी मेट्रो च्याप्टरका महासचिव जगन्नाथ पौडेल, केन्द्रीय कोषाध्यक्ष तारा अधिकारी, गोविन्द प्रसाद गौतम, सावित्री श्रेष्ठ लगायतको सहभागिता थियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले कार्यक्रमको महत्वबारे प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभयो ।  हरेक वर्ष जेठ ९ गते मनाइदै आएको सिद्धिचरण जयन्ती आगामी वर्षहरूमा पनि नियमित रूपले मनाउन अनेसासको क्यालेण्डरमै समावेश गर्ने तयारी रहेको उहाँले जानकारी गराउनुभयो । नेपाली साहित्यमा विभिन्न विधामार्फत क्रान्तिकारिता र प्रगतिवादी भावना सम्प्रेषण गर्न सिपालु कवि साहित्यकार सिद्धिचरणले २००७ सालको राजनीतिक परिवर्तनमा समेत लेखनका माध्यमबाट ठूलो योगदान पुर्‍याउनुभएको बारे वरिष्ठ उपाध्यक्ष सुवेदीले चर्चा गर्नुभयो ।

अनेसास बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले नेपाली साहित्य, राजनीति र समग्र राष्ट्रिय हितमा सिद्धिचरणले पुर्‍याएको योगदान शव्दले मात्र चर्चा गरेर पर्याप्त नहुने उल्लेख गर्दै सिद्धिचरण प्रतिष्ठानसँग सहकार्य गरेर उहाँको सुकर्मलाई थप अगाडि लैजान अनेसासले पनि हातेमालो गर्न सके उत्तम हुने विचार राख्नुभयो ।

कार्यक्रममा अनेसास वाल समितिका संयोजक सुरेन उप्रेतीद्वारा युगकवि सिद्धिचरण श्रेष्ठको जीवनीमा आधारित बूँदाहरू समाविष्ट स्लाइड प्रदर्शन गरिएको थियो । उक्त स्लाइडमार्फत उप्रेतीले युगकविको वाल्यकाल, साहित्यिक पदार्पण, उहाँका प्रकाशित कृतिहरू, योगदानहरू, जीवनका विविध कालखण्ड झल्काउने तस्वीरहरू लगायत थुप्रै कुराहरूको चर्चा गर्नुभएको थियो ।

अनेसासका सल्लाहकार तीर्थराज अधिकारीले सिद्धिचरणलाई युगकवि भन्नुको तात्पर्य प्रष्ट्याउँदै उहाँमा भएको विराट काव्य प्रतिभा, देश प्रेम, युगवोधको प्रवल भावना,  सामाजिक र राजनीतिक चेतना, स्वच्छन्दतावाद हुँदै मान्छेका दुख-कष्टलाई बुझेर एउटा युग बोकी हिँडेकाले नै उहाँलाई युगकवि भनिएको उल्लेख गर्नुभयो ।

पूर्व केन्द्रीय अध्यक्ष मोहन सिटौलले सिद्धिचरण प्रतिष्ठानले राष्ट्रिय, सार्क स्तरीय र अन्तर्राष्ट्रिय स्तरमा सिद्धिचरण र उहाँका योगदानलाई उजागर गर्न विभिन्न गतिविधिहरू गरिरहेको जानकारी दिनुभयो । ठाउँ ठाउँमा सिद्धिचरणका सालिक, उहाँका नाउँका मार्ग, प्रज्ञा प्रतिष्ठानमा उहाँका नाउँको हल स्थापना आदिमार्फत एक अभूतपूर्व र क्रान्तिकारी व्यक्तित्वलाई अमर राख्ने अनेक प्रयासहरू भइरहेकाबारे प्रष्ट पार्नुभयो ।

कार्यक्रमका सभापति अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले क्रान्ति र समाज परिवर्तनका लागि हिँड्दा अझ धेरै लेख्न सक्ने कुराहरू लेख्न नपाए पनि सिद्धिचरणले युगको विगुल फुकेको हुनाले नै उहाँलाई श्रद्धाले युगकवि भनिएको जनाउँदै यस्ता युगपुरूषहरूको स्मरण गर्दै कार्यक्रम गर्न पाउनु अनेसासको लागि गौरवको कुरा भएको बताउनुभयो ।

अनेसासका युरोप क्षेत्रीय उपाध्यक्ष डिल्लीराम अम्माईं, केन्टकी च्याप्टर अध्यक्ष बद्री दाहाल, कविन्द्र सिटौला, मिरा कोइराला, जगन्नाथ पौडेल, पुष्पा खनाल, प्रेमप्रसाद शर्मा पौडेल, भोजराज न्यौपाने लगायतले युगकविलाई स्मरण गर्दै कविता वाचन गर्नुभएको थियो भने

केन्द्रीय महासचिव राजु सिटौलाले हालसालै प्रकाशित आफ्नो कविता संग्रह ‘ईश्वरका फूलहरू’बाट कविता सुनाउनु भएको थियो ।

उता अनेसास बोस्टन च्याप्टरको आयोजनामा पनि सिद्धिचरण जयन्ती , रचना वाचन र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बुटवलकी कवि शान्ति शेरचनजीलाई सम्मान गरिएको थियो । यम पौडेलको संयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथि सुवेदीले सिद्धिचरणबारे मन्तव्य राखेपछि कविहरूले गहकिला कविता वाचन र आफ्ना कृतिहरू आदानप्रदान समेत गरेका थिए ।

वि.सं. १९६९ जेठ ९ गते ओखलढुङ्गामा जन्मिनुभएका युगकवि श्रेष्ठको २०४९ जेठ २२ गते निधन भएको थियो । 

प्रतिकृया दिनुहोस्