सापकोटाको ‘यात्राको लय’माथि परिचर्चा

काठमाडौं। नियात्राकार प्रदीप सापकोटाको नियात्रा संग्रह ‘यात्राको लय’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । उत्पला क्याफे बौद्धमा भएको कार्यक्रममा विभिन्न समीक्षक एवं टिप्पणीकारहरूले सो कृतिमाथि चर्चा गरे ।
सपाट वर्णनमात्र नियात्रा नहुने भन्दै वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले सो संग्रहका नियात्राहरूमा पाठकलाई सँगै डोर्याएर लान सक्ने सामर्थ्य भएको उल्लेख गरे । वरिष्ठ नियात्राकार जय छाङ्छाले सिद्धान्त र बिम्ब विधानहरु समावेश गरिएका नियात्राहरु बलिया रहेका बताए ।
तत्कालिन द्धन्दकालको झल्को दिने नियात्राहरु बढी रहेको ‘यात्राको लय’मा नेपाल यात्राकै सेरोफेरोमा प्रायः नियात्राहरु रहेको उल्लेख गर्दै निबन्धकार श्रीबाबु कार्कीले अनुभूति र नजिकका सबै दृश्यहरु नियात्राकारको ब्रम्हबाट तानिएका, नियात्राहरू वर्णनात्मक मात्र नभई लालित्यपूर्ण भएका बताए ।
बरिष्ठ नियात्राकार पवन आलोक र डा. शैलेन्दुप्रकाश नेपालले ‘यात्राको लय’ले मन छोएको बताए भने राधेश्याम लेकालीले सर्जक सापकोटा नियात्राकार र सञ्चारकर्मी दुबैमा अब्बल पाइएको टिपपणी गरे ।
नियात्राकार सापकोटाले आफू रहरले लेख्न सुरु गरेकोमा अब थप जिम्मेवार भएर लेख्नुपर्ने महसुस भएको बताए । उनले कार्यक्रममा सहभागी सबैप्रति आभार प्रकट पनि गरे । सापकोटाको ‘यात्राको इन्द्रेणी रंग’ नियात्रासंग्रह पनि प्रकाशित छ ।
कार्यक्रममा सुसेलीका प्रवर्द्धक दुर्गाप्रसाद अधिकारी भमरकोटेले केही सुसेलीहरू प्रस्तुत गरेका थिए ।
सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको सहजीकरणमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष तारा केसीले स्वागत मन्तव्य राखेकी थिइन् ।
इखबरनेट मिडिया पार्टनर रहेको सो कार्यक्रममा साहित्य क्षेत्रका अग्रजहरुको उल्लेख्य सहभागिता थियो ।