वातावरण दिवसको अवसरमा ‘हरित काव्य गोष्ठी’

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा ‘हरित काव्य गोष्ठी–२०८२’ सम्पन्न भएको छ।

वर्तमान कविता समूह, शब्दाङ्कुर मासिक र कोटेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा भएको कार्यक्रममा वातावरणीय चेतना र साहित्यिक सिर्जनाबीच गजबको समन्वय देखियो ।

सोही अवसरमा माघ महिनामा नालाको ब्रह्मा पार्कमा वाचन गरिएका २४ जना कविहरूका नेपाली कविता र तिनका अङ्ग्रेजी अनुवाद समावेश गरिएको ‘भुँइमान्छे कविता विशेष’ विशेषाङ्क कोटेश्वर क्याम्पसका प्रमुख प्रकाश पोखरेल, वरिष्ठ कविहरु उषा शेरचन,  बिष्णु बिभु घिमिरे र  अविनाश श्रेष्ठले लोकार्पण पनि गरे ।

कवि विश्व सिग्देलले कार्यक्रमको उद्देश्य, संरचना र महत्वबारे प्रकाश पारेपछि ‘जङ्गल गइरहेको मान्छेलाई’ शिर्षकको आफ्नो कविता समेत वाचन गर्दै उपस्थित श्रोतालाई स्वागत गरेका थिए । लगत्तै अविनाश श्रेष्ठ, अभय श्रेष्ठ, दिनेश खरेल , उषा शेरचन, कृष्ण बाउसे , बिष्णु बिभु घिमिरे, समा श्री, विमल भौकाजी, आर. एम. डङ्गोल, हिमलाल श्रेष्ठ, शकुन्तला जोशी, प्रज्वल अधिकारी, दामोदर रेग्मी,  छविरमण सिलवाल, केशव सिग्देल, विजय हितान, लक्ष्मी रुम्बा, ध्रुव मधिकर्मी,  छायादत्त न्यौपाने, भवानी खतिवडा, राधिका कल्पित, सुरज पराजुली, राधेश्याम लेकाली, राजु झल्लु प्रसाद, मिमला शर्मा, सेदुनाथ ढकाल, प्रेमिला राई, रमी प्रिया, सञ्जय सुमन, यादेवी ढकाल, बैजयन्ती पोखरेल, बाबुकृष्ण कार्की, चन्द्रबहादुर लामा र धीरकुमार श्रेष्ठले आफ्ना दमदार कवितहरू प्रस्तुत गरे । सहभागी कविहरूले वातावरण, जलवायु परिवर्तन, जैविक विविधता, जंगल, नदी, वन्यजन्तु संरक्षण, प्रदूषण, हिमाल र मानिसबीचको सम्बन्धजस्ता विषयलाई कलात्मक ढंगले प्रस्तुत गरेका थिए । कविता वाचनमार्फत प्लास्टिक प्रदूषणदेखि चेतनाको विद्रोहसम्मका विविध पक्ष उजागर गरिएका थिए । लोकगायक कमलीकान्त भेटवालले सारङ्गीको धुनमा पार्या गीत प्रस्तुत गरेका थिए भने शब्दाङ्कुर मासिकका सम्पादक तथा वर्तमान कविता समूहका सदस्य धीरकुमार श्रेष्ठले आयोजक, सहभागी र दर्शकहरूप्रति आभार व्यक्त गर्दै वातावरणीय चेतनाको यात्रामा साहित्यले सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका थिए ।

कवि चन्द्रबहादुर लामाको सञ्चालनमा भएको ”हरित काव्य गोष्ठी–२०८२” ले साहित्यिक सृजनामार्फत वातावरणीय सन्देशलाई जनचेतनामा रूपान्तरण गर्ने प्रयास गर्दै वातावरण संरक्षणको अभियानमा सशक्त हस्ताक्षर थपेको सहभागीहरूले बताए ।

प्रतिकृया दिनुहोस्