अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेको अधिवेशन र रचना वाचन कार्यक्रम सम्पन्न
१४ जुन शनिबार, ओस्लो, नर्वे
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेको अधिवेशन र रचना वाचन कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेले साहित्यिक रचना वाचनका साथमा संस्थाको तेस्रो अधिवेशन सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष साहित्यकार विष्णुमाया विभुको सभापतित्व तथा बरिष्ठ साहित्यकार प्राध्यापक डा. हिरण्य लाल ज्ञवालीको प्रमुख आतिथ्य एवं अध्यात्मिक चिन्तक प्राध्यापक डा. बिशाल सिटौला र अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदीको बिशेष आतिथ्यतामा १४ जुन शनिबारका दिन ओस्लोको नर्वेमा सम्पन्न अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको छ ।
नव गठित कार्यसमितिको अध्यक्षमा राजेश सापकोटा उपाध्यक्षमा दिपक खतिवडा गरिमा, महासचिवमा श्याम परियार, सचिवमा चण्डिका पौडेल र कोषाध्यक्षमा राघव चन्द्र अधिकारी चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरुमा रमेश गौतम , पशुपति प्रसाद भण्डारी, होम नाथ अधिकारी, प्रियंका सुवेदी, अनिल तिवारी, कुलचन्द्र बस्नेत, प्रतिक पौडेल, एस. पी. मरासिनी, दिपक सापकोटा, रोनिया खड्का सापकोटा र खेम ब्रसाद भट्टराई रहनु भएको छ। कार्यक्रममा उपस्थित अथिति तथा सहभागीहरुले पुरानो समितिलाई धन्यवाद र नया समितिलाई बधाई तथा शुभकामना दिदै आ-आफ्ना रचनाहरु प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा भर्चुअल सहभागिताको समेत व्यवस्था मिलाइएको थियो।
समारोहका प्रमुख अतिथि प्रा. डा हिरण्य लाल ज्ञवालीले नव गठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै आफ्ना रचनाहरु वाचन गर्नुभएको थियो। साथै प्रवासमा रहेर विभिन्न चुनौतिका वाबजुद पनि अनेसास नर्वे च्याप्टरको स्थापना गरि झन्डै एक दशक सफल नेतृत्व गर्दै नेपाली भाषा साहित्य कला संस्कृति र संगीतको सम्बर्धन र प्रवर्धनमा लागि पर्नु भएको भन्दै साहित्यकार विष्णुमाया विभुको योगदानको खुलेर प्रसंशा गर्नु भएको थियो साथै नव गठित कार्यसमितिका अध्यक्ष साहित्यकार राजेश सापकोटामा अनेसास नर्वेको सफल नेतृत्व गर्न सक्ने संकेत देखिएको भन्दै आशा र विश्वास सहितको हर्ष व्यक्त गर्नु भएको थियो।
बिशिष्ठ अतिथि प्राध्यापक डा. बिशाल सिटौलाले अनेसास नर्वेको स्थापना मार्फत नर्वेमा नेपाली भाषा साहित्यको क्षेत्रमा बिष्णुमाया विभुको ठुलो योगदान रहेको बताउदै र नया समितिलाई बधाई तथा शुभकामना दिदै नेपाली साहित्य र जीवन-दर्शनका बारेमा आफ्ना प्रेरक विचारहरु राख्नु भएको थियो। बिशिष्ठ अतिथि तथा अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदीले पुरानो समितिले राम्रो कार्य गर्दै संस्थालाई गतिशीलता दिएको ,जयन्तीहरु मनाउदै , साहित्यिक कार्यक्रम र प्रतियोगिता गर्दै अनेसास केन्द्रले गर्ने कार्यको पदचापलाई पछ्याएकोमा धन्यवाद दिदै नया समितिले अझै राम्रो गरोस्, भाषा, साहित्य हाम्रो पहिचान हो, यसलाई बंचाउनुपर्छ भन्दै नव समितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो।
नव गठित समितिका अध्यक्ष साहित्यकार राजेश सापकोटाले विष्णुमायाले धेरै मिहिनेत र लगनशिलताका साथ आफ्नो यौटा सन्तान सरि माया गरि अनेसास नर्वेलाई वर्तमान सम्म ल्याइ पुर्याउनु निकै प्रेरणादायी रहेको भन्दै आफुले सफल भावी नेतृत्व का निमित्त आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। “हामी विश्वको जुनसुकै कुनामा रहेतापनि ‘यो मन त मेरो नेपाली हो’ भनेझैं नेपाली भाषा साहित्य कला, संगीत र संस्कृतिलाई हाम्रो अबको आउँदो पुस्तामा हस्तान्तरण गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकतार हाम्रो कर्तव्य भएको र यसमा जेजति सकिन्छ हामीले गर्नेछौं सबैको साथसहयोग पक्कै रहनेछ। हामी एक एक थोपा भएर पनि समुन्द्र भेट्ने सपना देखेका छौँ र यो हाम्रो साझा सपना हो,” उहाले थप्नु भयो।
कार्यक्रमको अन्तमा सभापति बिष्णुमाया विभुले अनेसासको स्थापनाकालदेखि वर्तमानसम्म संस्थालाई सक्रिय रुपमा साथ दिने सबैलाई धन्यवाद दिदै आफु सस्था भित्र वा बाहिर जहाँ रहेपनि बाचुन्जेल नेपाली भाषा-साहित्य, कला, संस्कृति र संगीतको सेवामा निरन्तर लागि रहने शुभेच्छा प्रकट गर्नु भएको थियो। साथै विविध चुनौतिका वावजुत पनि सस्थालाई यौटा सन्तान जस्तै गरि जन्माएर झन्डै एक दशक जतनले हुर्काएर नया समितिको हातमा सुम्पन पाउँदा आफुलाई निकै सन्तोष लागेको भन्दै सस्थाप्रति आफ्नो औधि प्रेम रहेको र आफु कार्यसमितिमा नरहे पनि सस्थापक एवं संरक्षकको रुपमा सस्थाको उन्नति र प्रगति हेतु सधैं सस्थाको हरेक उकाली ओरालीमा साथ रहने बाचाका साथ आफ्ना रचना वाचन सहित कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो।