श्रेष्ठका ‘अनाहक  प्रश्नहरु’ र ‘सफलताका आयाम’ लोकार्पित

काठमाडौं । स्रष्टा राजीव श्रेष्ठका ‘अनाहक प्रश्नहरु’ कवितासङ्गह र ‘सफलताका आयाम’ जीवनी गरी दुई कृतिहरु काठमाडौंमा लोकार्पण गरिएको छ। साहित्यकार प्रा.डा. दयाराम श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’, विमल भौकाजी, डा.जीवलाल बस्याल लगायतले ती कृतिहरु लोकार्पण गरेका हुन् ।

प्रमुख अतिथि प्रा.डा. श्रेष्ठले लोकार्पित कवितासंग्रहमा  गहन अर्थ बोकेका कविताहरु रहेका बताउँदै राजीवलाई जीवनका दुखभित्रबाट सुख खोज्ने कविको रुपमा चित्रण गरे ।

अर्का बक्ता श्रीओम श्रेष्ठ ‘रोदन’ले पचासकै दशकमा लेखनी थालेका राजीवको कृति ढिलो गरी आए पनि उनी सम्भावना बोकेर देखा परेका बताए ।

संग्रहमाथि चर्चा गर्दै विमल भौकाजीले कवितामा संवेदनशील भएर पोखिने कवि  राजीवले आफ्ना भोगाई र जीवनप्रतिको आशावादीता कवितामार्फत पोखेका उल्लेख गरे ।

कुल ३२ वटा कविता समेटिएको कृतिबाट कवि पूर्ण बहादुर श्रेष्ठ ह्रृदयङ्कृत, तारा केसी र विश्व सिग्देलले एक-एकवटा कविता वाचन गरेर सुनाए ।

लोकार्पित जीवनी कृतिमाथि चर्चा गर्दै डा.जीवलाल वस्यालले विभिन्न व्यक्तिहरुको सुक्ष्म अध्ययन गरेर जीवनी लेखेका लेखकले बहुआयामिक स्वरुपलाई कृतिमा समेट्ने प्रयास गरेका बताए । स्वदेशदेखि विदेशसम्मका विभिन्न क्षेत्रका व्यक्तित्वहरुबारे जानकारी समेटिएर आएकोले विद्यार्थी, अनुसन्धानदाता लगायतले सो कृति प्रयोग गर्न सक्ने उनको ठहर थियो ।

लेखन प्रेरणाको श्रोत स्व. पिताजी भएको बताउँदै स्रष्टा राजीव श्रेष्ठले सधन्यवाद लेखकीय मन्तव्य दिएका कार्यक्रममा राजीवका निकट आमा सानुमैयाँ श्रेष्ठ, ठूलीआमा सुलोचना श्रेष्ठ सहित आधा दर्जन परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कार्यक्रमको सभापतिको हैसियतले अतिथिहरुलाई आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरे । प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा सदस्य शुभद्रा अधिकारीले सहभागीहरूलाई स्वागत गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्