अनेसास कविता प्रतियोगिता-२०२५ मा वाचनको लागि छनौट भएका उत्कृष्ट २८ कविताहरू 

देश जलिरहेको बेला (प्रथम)
कवि: गङ्गा पोखरेल | ठेगाना: रुपन्देही नेपाल

   

जब बल्दछ आगो दनदनी
मान्छेका मनहरुमा
अनि सल्किन्छ डढेलो चित्तमा
यो भूमण्डलबाट उडेको अश्रुग्याँसको अत्तरले
आकाश दुर्गन्धित पार्न थाल्दछ हठात्
दूरदराजबाट अधिकार माग्न आएका
राष्ट्रका होनहार नव-युवाहरु
ढल्दछन् देशकै आँगनमा बेकसुर
सडकपेटी र नालीहरूमा बगिरहेको
कलिलो रगतको खोलो फर्काएर
युगले माटोको गर्भमा सिंचाइ गर्न
उठायो साहसिक शिर
उचाल्यो पौरखी पाखुरा
थाप्यो वीरताको छाती ।

त्यहीँबाट मन जल्न थाल्यो
जहाँबाट सपूतहरुको रगतलाई
प्रज्वलनशील इन्धन बनाएर
तिनकै इमानको पुल्ठो बनाएर झोसियो
यद्यपि त्यो मृत्यु सस्तो थिएन
बलिदान केवल मर्नु मात्र होइन
यो त युगले फेर्ने नयाँ काँचुली हो
ढालिएका जीवनहरू
इतिहासका अमर पानाहरू
टुटेका स्वरहरू
भोलिको युगिन गीतका राग हुन्
सुकेका आँसु
पालुवा बँचाउने पानी हुन्
पीडामा खसेका आँशु
महान बलिदानको आवाज गुन्जाउँदै
इतिहासका पानामा स्वर्णाक्षरले लेखिनेछन् ।

सहिदका आक्रोशित आँखाबाट
निस्केको ज्वालाले देश जलाउँदैन
बरु दमनको रापबाट निस्केको गोलीले
देशलाई भस्म पार्दछ
अनि, ढल्दछन् शान्तिका परेवा धरामा
सँगै उडेर जान्छन् भूमिपुत्रका सपना नभमा
देशलाई शोकमा डुबाएर
तथापि, शोक अन्तिम अध्याय होइन
शोक त ऊर्जा हो
सबैको साझा सपना जगाउने
प्रत्येकको स्वर तेजिलो बनाउने
जल्नु खरानी हुनु मात्र होइन
जल्नु उज्यालो छर्नु पनि हो ।

कतै आक्रोशको आगोले
कतै आशाको दीयोलो
देश जलिरहेको बेला
नजलाउँ भन्दाभन्दै पनि
जल्दोरहेछ मन अनायास
देश जल्नु भनेको त
एउटा मान्छेको
सिङ्गो सन्सार जल्नु पो रहेछ ।

मेरो यो शिर झुक्छ आज सहजै सम्मानका खातिर (द्वितीय)
कवि: मधु घिमिरे | ठेगाना: पेन्सेल्भेनिया, अमेरिका

   

ओजस्वी घिमिरे बडो गजबका साहित्यका साधक
भाषाका अति मान्य राष्ट्र कवि हुन्,हुन् काव्यका नायक
नेपाली जनका अमूल्य गहना उत्प्रेरणाका घर
मेरो यो शिर झुक्छ आज सहजै सम्मानका खातिर।१

बेंसी फॉंट हिमाल उच्च चुचुरा पाखा पखेराहरू
राखी प्यार अपार दिव्य कविको गर्छन् प्रशंसा अरु
गाई गीत अनन्त चल्दछ चिसो हावा मजा सर्सर
मेरो यो शिर झुक्छ आज सहजै सम्मानका खातिर।२

गौरीको गुणगान प्रेम लहरी पीडा वियोगी कथा
पढ्दा वक्ष चसक्क दुख्छ दिलमा बल्झन्छ भित्री व्यथा
पीडा प्रेम र भक्तिको प्रकृतिको गाथा बुने सुन्दर
मेरो यो शिर झुक्छ आज सहजै सम्मानका खातिर।३

गौरी किन्नर किन्नरी सुरसिला छन् बिम्बले छन्दले
प्यारा छन् नवमञ्जरी गजबका झन् मालती मङ्गले
तिम्रा कोमल काव्यका पथ लिई पुग्नै छ मैंले पर
मेरो यो शिर झुक्छ आज सहजै सम्मानका खातिर।४

हाम्रा भेष कला र संस्कृति बचे भाषा बन्यो वैभव
प्यारा दिव्य अमूल्य राष्ट्र कविको अग्लिन्छ झन् गौरव
नेपाली जनको हजार युगमा नेतृत्व गर्दै गर
मेरो यो शिर झुक्छ आज सहजै सम्मानका खातिर।५

प्रेमिल अनुराग कि मृत्युको विज्ञापन ( तृतीय)
कवि: सुजाता घिमिरे राउत | ठेगाना: फ्र्यान्क्फोर्थ, जर्मनी

   

हे विवेकी मान्छे !
तिमीलाई सुहाउँदैन
मायालु ओठमा धुवाँ
फर्की हेर त !
धर्तीको अर्गानिक आर्द्रतातिर !
संचेतनाले छुट्याइदेऊ
कुहिरो, बादल र धुवाँ
छुट्टयाऊ उस्तै रङहरुको फरक
कहाँ वनस्पतिको ओजन बुई बोकेर उठेको कुहिरो
कहाँ तिम्रो मुटु ,फोक्सो डामेर निस्केको धुवाँ

भुइँकुहिरोको सखी बादल
बादलको पानी
पानीको सखी लहलह धान
धानको सखी उघ्रेको आकाश र
सुनौलो बिहान
सबेरै म औधी मन पराउछु
शिखरबाट भर्जिन घाम र भुईंकुहिरो हेर्न

जब घस्रिन्छ
दुब्लो काँटी सलाईको बट्टामाथि
बन्दछ एक खिल्ली चुरोटको साथी
देख्छु यो जीवनघाती
रजगजी मुटु र फोक्सोमा
धुवाँको साथी आगो
वनमा लाग्ने डढेलो
मनमा लाग्ने डढेलो
डढेलोले वन जल्छ
मनमा सल्क्यो भने
भवन जल्छ
जस्तो कि सिंह दरबार
जस्तो कि सर्वोच्च अदालत
धुवाँले ढाक्छ आकाश
हराउँछ बाटो, विवेक
हेर्दाहेर्दै न्याय ढल्छ

सुर्तीको आगलागीमा जल्छ
मुटु र मान्छे
मनको आगलागीले ढल्छ मानवता
सायद मुलुकै ढल्छ,संसारै नै ढल्छ
प्रिय द्वन्द्व छ अहिले
जीवन र खरानीको
धुवाँ र भुइँकुहिरोको भिन्नता
छुट्याउन सकेन कसैले
ए मेरो भुइँकुहिरो
म औधी प्रेम गर्छु ।

छुट्याउनु ,
अमृत र विष
कहाँ आत्माको अध्यारो
कहाँ जुनेली रातको शीतलता
गँरु प्रेमले सिंचाई
बाँचेर स्वथ्स्थ जीवन
गरेर सुरक्षा मुनाहरुको
कल्पेर कलिलो भविष्य
राख्नु जिजीबिषा
पढ्नु चुरोटका बट्टाहरुमा
धूम्रपान स्वाथ्यको लागि हानिकारक छ।
यसले ज्यान पनि जान सक्छ!
प्रिय के रोज्छौ?
मृत्युको विज्ञापन कि प्रेमिल अनुराग?

परदेशमा दुखिरहेकाे देश ! ( तृतीय)
कवि: सुमी पोखरेल | ठेगाना: उदयपुर, नेपाल

   

कामहरू हातबाट चिप्लिरहेछन्,
भोक र थकान बिर्सिएर
ल्याम्पोस्टको छायाँमुनि
घोप्टिरहेछु – विश्रामकोठाको कुनामा
अनेकन सवाल गर्छन् अनेक आँखाहरू
आँखा जुधाउन सकिरहेको छैन कसैसँग,

यो विरानो मुलुकमा –
लाग्दै छ म झन् झन् विरानो हुँदै छु ।

प…. रदेशबाट
हरपल सम्झिरहेछु देश
छोडेर आएँ भन्ने –ठुलो भ्रममा रहेछु !
आगो दन्किरहँदा त्यता –
भतभत पोलेको छ कलेजी
देश त कलेजीमै पो बोकी आएँछु !

कलिला लाशहरूको कहालीलाग्दो गन्ध बोकेर
मेरो देशको चिम्निबाट यतिबेला
पुतपुताइहेछ निस्सासिँदो धुवाँको मुस्लो
फैलिइरहेछ … ग्रेटवालहरू नाघ्दै
बुर्जखलिफाको टुप्पोसम्म
अब कतिओैँ पुस्तासम्मलाई
पिर्ने हो यो रागले !

आहाल देखेपछि सडकमा कलिलो रगतको
चरक्क चिरिँदै छ छाती,
भ्रममा रहेँछु !
देश त यही छातीमा बोकेर आएँछु ।

शून्यताले भरिएको छ – हृदयाकाश
आखिर म के खोजरहेछु ?
बिर्सिन खोजेको हुनुपर्छ मैले –
जिउँदै जलाइएकी आमाको अनुहार
र निशाना नचुकेका प्वालहरू,

सम्झिन खोजेको हुनुपर्छ मैले –
निश्चल मुटुहरूको बलिदान र देशप्रेम
परिवर्तनखातिर कस्सिएका
मसिना मुठ्ठीहरूको अदम्य साहस !

सत्ताका मतियार भएर लडिरहेका बाउहरू
विरोधीका हतियार भएर लडिरहेका सन्तान
कसैको नियोजित बल्छीमा
उनिइरहेका अभागी पुस्ताहरू
अनाहक सडकमा पछारिइरहेछन् ।

परदेशमा बसेर देश दुखेन कसरी भनौँ ?
छटपटाएको छु मरणासन्न भएर
वाध्यताको बोझले किचिएका
बन्धक छन् मैसँग – गुमनाम मेरा कथाहरू

हररातको अवसानपछिको
नियति हो बिहानी
मस्तिष्कले फरक विश्वास गर्नुपर्छ
उधिनेर खरानीको थुप्रो
फट्फटाएर पखेटा
जरुर उड्नेछन् अब
आशा र सम्भावनाका फिनिक्स चराहरू
र बसाउनेछन् – बचेराहरूका सुरक्षित आवास ।

देखेर नेपाल यो (तृतीय)
कवि: बादल खरेल | ठेगाना: तनहुँ, नेपाल

   

ती आश्वासनले गरीब-घरमा चल्दैन केही ठुलो।
तिम्रा भाषण मात्रले पनि यहाँ बल्दैन हाम्रो चुलो।
भ्रष्टाचार,लुछाचुँडी चलिरह्यो कस्तो भयो खेल यो।
आमा आँशु बगाउँछिन् गहभरी देखेर नेपाल यो।।१

विद्यार्थी,गुरु आज पुस्तक भुली सिद्धान्त बोक्छ्न् भने।
यी विद्यालय हुन् कि ता सदन हुन् या ठाँउ नेता हुने।।
डिग्री प्राप्त छ,छैन जागिर,यहाँ अस्तित्व सस्तो भयो।
लुक्छ्न् सर्टिफिकेट बाकसतिरै,देखेर नेपाल यो।।२

लाखौँ अर्थ कमाउने रहरले जान्छन् सबै आशले।
फर्के लास बनेर बाकसभरी धोका दियो श्वासले।।
केही किन्न सकिन्न खाद्यचिज यी सारै महङ्गी भयो।
बेल्चा हान्न हिँडे युवा अरबमा देखेर नेपाल यो।।३

नारी आज यहाँ बलात्कृत हुँदा को गर्छ यस्को तय।
आँफै मूक बनेर हेर्छ अहिले बोल्दैन न्यायालय।।
बस्छन् शोषक गिद्धका नजरले घेरेर नेपाल यो।
काली बन्नु छ निर्मला अब तिमी देखेर नेपाल यो।।४

कर्णालीतिर अस्पताल नहुँदा मर्दैछ मान्छे तर।
बाटो पुग्न सकेन सोलु,मुगुमा,के गर्नु भ्यूटावर।।
ताली मात्र पिटेर बन्छ कसरी समृद्ध नेपाल यो।
मान्यो लाज विकासले पनि स्वयं,देखेर नेपाल यो।।५

आँखा गाडिरहेछ आज रिपुले हाम्रा सिमानातिर।
देख्दैनन् सरकारका नजरले मान्दैन कोही पिर।।
आफ्नै संस्कृति,धर्म बेचिरहने कस्तो अहो! चाल यो।
ए साथी भन गर्व गर्नु कसरी?देखेर नेपाल यो।६

पर्देशीको सुटकेश
कवि: ऋषि बहादुर राई  | ठेगाना: उदयपुर, नेपाल

   

उसले जस्तै
सम्हालेर कसैले
राखिदियो की दिएन होला ?
मायालुको उपहार ,
मखमलको गलबन्दी ।

हादिलिएकी दिएनन् होला
उसको सिरानी मुनि
जतनले राखेको
अटो डायरी ।

कसैले सम्झेर
खल्तिमा राखिदियो की नाई ?
बा , आमा , साथी , सँगी ,
घर , गाउँ , पियारी
सवै सवैको फोटो अटाउने एल्बम ।

 छ की ? छैन ?  होला
पर्देशमा नचलेपछी
उसले पर्समा साँची राखेको
नेपाली नोट ।

मुदिरले दियो की दिएन होला ?
राहदानी ,
उठ्यो की उठेन होला ?
सापटी रकम ।

साँची राखेको सवै सवै सम्झनाहरु
अव उसलाई केहि सम्झना हुने छैन् ,

तरपनि मलाई लागिरहन्छ ,
कसले पठाईदियो होला ?
सात समुन्द्र पारीदेखि
गाउँसम्मै बोलेरोमा आइपुग्नेगरी
शव बोक्ने बाकससँगै
उसको सुटकेश ।

मैनटोल
कवि: दिनेश धरेल  | ठेगाना: क्यालगरी, क्यानाडा

   

उति बेला बिजुली बत्ती नहुँदा
जब बुबा हाम्रो घरको आँगनीमा मैनटोल बाल्नुहुन्थ्यो
घर वरिपरि निकै पर सम्म पुग्थ्यो उज्यालो
त्यति बेला टोलाउथे मेरा कौतूहल नजरहरू
त्यो जलिरहेको मैनटोलको जालीमा
अनि मेरो फुरुङ्ग मन दूर क्षितिजसम्म खोज्थ्यो आगतको रूपरेखा

टाढासम्म र धेरै बेरसम्म चहकिलो उज्यालो पुर्याउन
बिना गुनासो निरन्तर जली रहन्थ्यो त्यो जाली
जाली पहिले खरानी जस्तै हुने गरि जली वरि सेलाएर
फेरि जालीकै आकारमा बर्नरमा झुण्डिराख्नु पर्ने रैछ
तलबाट मट्टीतेल पम्प गरेपछि मात्र निरन्तर बल्ने रैछ
मट्टीतेल सकिए सँगै धिप्प-धिप्प गर्दै निभ्थ्यो र सन्नाटा छाउथ्यो

थाहा छैन किन सम्झिँदैछु यो कुरा यति बेला
सपना नराम्रो देखेछु क्यार
स्वयम्भूका आँखाहरू जलीवरी निभ्नै लागेका रैछन
झस्केर ब्यूँझदा वर्जित फेसबुकमा पढेँ
यौटी बच्चीलाई जेब्रा क्रसिंगमा मन्त्रीको गाडीले हानेर भाग्दा
देश हाँक्ने ड्राइभरले भनेछन्
“सामान्य दुर्घटना हो, राजनीति नगर्नू “
अनि जेन-जी भन्दै रैछन
“खबरदार
हाम्रो पुस्ता नै हो तिमीहरूले मूर्ख बनाउन पाउने अन्तिम पुस्ता”

अझै मर्न नसकेका केही थान ब्लुमरले
आफ्नो तजविजले मट्टीतेल पम्प गरी-गरी जाली झैँ जलाइरहे
शरणार्थी बनाएर बेचिएका मेरा जेन-एक्स बा-आमा पुस्ता
अनि नेपालमा विदेशी र विदेशमा नेपाली बनेका मेरा मिलेनिएल पुस्ता
कहिले आगो ओकल्दै मसाल बने
कहिले त्यही आगोले जलेर खरानी बने

लाग्थ्यो कसैले उज्यालो पाउन केही त जल्नै पर्छ
आज जेन-जी इन्कार गर्दैछन अझै उस्तैगरी जलिरहन

नेपालै नरहे
कवि: मन्जु गिरी | ठेगाना: सन सिटि–चिबाकेन, जापान

   

हिमालहरु छन्
अनि नेपाली छन्
पहाडहरु छन्
अनि नेपाली
स्वाभिमान छ

रारा, शे फोक्सुन्दो र फेवा तालहरु छन्
अनि पो बग्छ
नेपालीको रगतमा जोश र उर्जा 

सधैं चन्द्र र सूर्यको
आवाज र स्पर्शमा आकाश उज्यालियो
त्यही न्यानो छुवाइमा हामी सास फेर्न पाएका छौँ

ए छोराछोरी हो
सुन
कान खोलेर सुन-
देश शरीर मात्रै होइन
आकार र अनुभुति पनि हो

टेकेको पैतालामा इतिहास हुन्छ
इतिहास मेट्नु हुँदैन 

नेपालसँग पुर्खाको नाता छ
रगत र नशा जत्तिकै

यो नरहे
हामीले लाउने टोपीको अर्थ के
बोल्ने भाषाको मूल्य के

सुन त…
घामपानीको महत्त्व के
नेपालै नरहे …  ।

जान्नँ नेपाल छाडी
कवि: शान्ति सापकोटा | ठेगाना: ललितपुर, नेपाल

   

नजर फगत हेरी बाहिरी रूप चाली 

ढलमल मन पारी आसुरी भाव पाली

बरु अलिकति मात्रै खाउँला अन्न बाँडी

मुटुसित मुटु हार्दै जान्नँ नेपाल छाडी

 

भररर झरनाको बाँसुरी आसपास

ढकमक सयपत्री दङ्ग लाली गुराँस

कुहुकुहु वनपाखा गीतभन्दा अगाडि

वरपर नटुवी छे जान्नँ नेपाल छाडी

 

रनवन धुन छर्छन् काग डाँफे मुनाल

तरहतरहका छन् साख राख्ने हिमाल

सगरतिर उडेका पाहुनाको बाढी

ग्तिविधि उज्यालो जान्नँ नेपाल छाडी

 

तरुल फल खजाना धान बाला यहीँ छन्‌

हिम शिखर कलाका स्निग्ध माला यहीँ छन्‌

अगणित गहनामा काँध लट्किन्छ साडी

पुलकित छु यसैमा जान्नँ नेपाल छाडी

 

अटल सगरमाथा माथमा राख्न पाएँ

अमृतसरि नदीका मूलले बाँच्न पाएँ

धुनसित धुन सुन्दै गण्डकीको पछाडि

जलसित बिजुली छे जान्नँ नेपाल छाडी

 

गिरि नजिक तराई छैन कोही पराइ

झलमल मनमाला गाँस्तछौँ साथ पाई

मधुर मधुर हाँसो फुट्न थाल्यो कि बाणी

यति सरल बानी जान्नँ नेपाल छाडी

 

किसिम किसिम भाषा जात उस्तै कला छन्‌

प्रचलन थिति आफ्‌नै सभ्यताका गला छन्‌

विविध जन समेटी चल्न थाल्दै गाडी

यिनसित छु मजामा जान्नँ नेपाल छाडी

मानवताको स्खलन
कवि: लोकहरि पाण्डेय (क्षितिज) | ठेगाना: स्याङ्जा, नेपाल

   

आमा!
आज
किन नउदाएको चन्द्रमा?
किन आँखा नखोलेको जूनले
चेहेरा
किन देखेँ मलिन 
किन देखेँ विक्षिप्त?

आमा!
रुखहरू किन बोल्दैनन्?
पहाडहरू किन झकाइरहेका
सगरमाथा किन कुप्रिएको
किन गर्जिँदैनन् हिम चितुवाहरू?

नानु!
रुखहरूको चीत्कार छ यतिखेर
कुपोषणले ग्रस्त छन् पहाडहरू
सगरमाथा रोइरहेको छ
अनि
हिउँचितुवाहरू
पक्षघातले थलिएका छन् ।

आमा!
घामले किन यसरी आगो वर्षाएको
नदीमा किन रगतको बाढी आएको
समुद्रको ढाड किन सड्किएको
किन बग्न छाडेका हुन्,खोलाहरू
किन गजधुम्म छन् ताल र कुवाहरु?

हो नानु,
घाम उदाउन
अन्कनाउँछ अचेल
बधशाला भए नदीहरू
समुद्रका छालहरु
छाँद हाल्दैनन् अचेल
खोलाहरू पहराबाट
हाम फाल्दैनन् अचेल
अनि
सक्त घाइते छन्, हिमनदीहरु ।

आमा!
किन सुकेका हुन् पिपल 

बकाइनाका रुखहरू
कहाँ भाग्यो
सिमलको बुढो जटायु
जमिनभरि
 किन छरिएका हुन् घ्यूकमिलाहरू
किन हाम फालेका हुन् 
आकाशबाट
हजारौँ छिचिमराहरु
किन थाहा पाउन्न मैले
आफ्नै माटोको सुगन्ध
किन कमजोर भयो 
ढुङ्गाको कडापन?

हो छोरी,
यस्तै हुन्छ
मानवता हराएर
पुजारी हिंस्रक 

आकाश साँघुरो बनेर
धरतीमा क्षमाशीलता घटेर

आमा!
बादलबाट
किन बर्सिन थालेको हो रगत
अनि
किन लगाउँदैछन् 
बगरहरूमा
मान्छेका पार्थिव शरीरको पर्खाल
किन बौलाएका हुन् भगवानहरू
कहाँबाट आएका हुन्
धुवाँका मुस्लाहरू,
शान्ति स्तम्भबाट 
कसरी प्रकट भयो
अजङ्गको हिरण्यकश्यपु?

हो छोरी!
तिम्रा
सारा प्रश्नको जवाफ एउटै छ
उफ्!
त्यो हो 
मानवताको स्खलन!

अडानको अमरता
कवि: गोमा श्रेष्ठ | ठेगाना: लमजुङ, नेपाल

   

संगतले साँचेको भए  
हिउँसँगै हाँस्ने ढुङ्गा पनि पग्लन्थे
पग्लिएर बग्थे
बगिएर हराउँथे
हराएर झर्थे
सपनाजस्तै साँघुरा गुफाभित्र सुत्थे ।

तर ढुङ्गा 
ढुङ्गा नै रह्यो
ढुङ्गाजस्तै गह्रो
ढुङ्गाजस्तै मौन
ढुङ्गाजस्तै अडान
ढुङ्गाजस्तै थामिएको थाम ।

न हिउँको हर्षले हलायो
न घामको स्पर्शले रसायो ।
घाम घाम भएर झुल्कियो
पानी पानी भएर बग्यो
हिउँ हिउँ भएर हाँस्यो  
तर ढुङ्गा उस्तै
ढुङ्गाजस्तै मौन…
मौन… मौनताको महक बोकेको ।

यदि साथले सबथोक बदल्ने हो भने   
कति काँचाहरू हिरा हुन्थे
कति कागजहरू ग्रन्थ हुन्थे
कति गुम्बजका पत्थरहरू बुद्ध हुन्थे ।

तर 
संगत मात्र काफी हुँदैन ।
बग्नेहरू बहन्छन्
भस्म हुन्छन्
बिलाउँछन्
गल्छन् समयसँगै
अडान लिनेहरू अडिग हुन्छन्
अमर हुन्छन्
अनन्त हुन्छन् ।

गङ्गा बग्छ
गगन हराउँछ
गन्ध हराउँछ
गीत हराउँछ
तर ढुङ्गा?
ढुङ्गा त समयको सिन्दूर बनेर
इतिहासको इँटा भएर
भविष्यको जग भएर
एक शिला भएर उभिन्छ ।

किनभने  
बग्नु मात्रै जीवन होइन
थामिनु पनि जीवन हो
अडिनु पनि जीवन हो ।
पग्लिनु सबैको गन्तव्य होइन
कतिपय त जग बन्छन्
अडान बन्छन् ।
मौन भएर पनि मणिजस्तै चम्किन्छन्
ढुङ्गाजस्तै अमर रहन्छन् ।

बाँच्नु भनेको 
शब्दजस्तै बग्नु मात्रै होइन
ढुङ्गाजस्तै अडिग अडान लिएर
अमर हुनु पनि हो ।

राष्ट्रको कहाँ दुख्दैछ घाउ
कवि: प्रेमप्रसाद शर्मा पौडेल | ठेगाना: भर्जिनिया अमेरिका

   

हिमाल हाँस्छ पहाड फुल्छ तराइ बोल्दछ

घाम र पानी इन्द्रेनीभित्र आकृति खेल्दछ

शताब्दी नाच्यौ हे राष्ट्रकवि ऐले पो अस्तायौ

देशको माया मुटुमा भरी काखमा सुस्तायौ

अमर कृति मर्दैन मान्छे मरेर गए नि

जुन्किरी ज्योति निभ्दैन रात बितेर गए नि

विश्वको मानचित्रमा यै हो अङ्कित नेपाल

सभ्यता बोक्ने एशिया छाती लुम्बिनी हिमाल

राष्ट्रले गीत गाउँथ्यो कहाँ तिमी नै नभए

आँसुको गीत बन्दैन यहाँ सम्झनै नरहे

राष्ट्रिय गीत घन्किन्छ कहाँ लेखेर नगए

साहित्य बाग के कृति फुल्छन् सिर्जनै नभए

आकासभरि तारामा यौटा चम्केको को होला

शान्ति र कान्ति मनका फूल हेरेको को होला

आएर प्यारा नलेखे कैले बाँसुरी रोला र

गौरीका गीत बनेर आँसु  छहरा होला र

देशको सीमा मिचिन्छ गीत तिष्टाको बनाऊ

छन्दको माला पैह्राइदिन्छु ए कवि लौ आऊ

सँस्कृति कला सम्पदा हाम्रा नेपाली वैभव

प्रेरणा देउ मनाऔँ हामी समृद्धि उत्सव

पुर्खाको शान घोकेर हुन्न बोकेरै हिँडौला

आएर हेर जागृति घण्टी बजाइ उठौँला

लेक र बेसी कर्णाली मेची ब्युँझदै छन् आज

प्रेरणा तिम्रो पाएर उठ्छ नेपाली समाज

दर्शन कला कवित्व बोक्ने राष्ट्रको गरिमा

ज्ञानको द्यौता पुजिन्छ सारा संसारभरिमा

प्रतिभा फूल नेपाली वन माटोमा माधव

युगको ऋतु सम्झेर आऊ नेपाल सम्भव

राष्ट्रको कहाँ दुख्दैछ घाउ आएर छामन

नेपाली कवि अर्पण गर्छु यो श्रद्धासुमन

धन्य म कवि भएछु
कवि: कमला न्यौपाने | ठेगाना: क्यान्सस, अमेरिका

   

म कवि हुँ
सपना बुन्छु कागजको कोरामा
कहिले लेख्छु मातृभूमिको गाथा
कहिले परदेशको पीडा
देख्छु
रुखका आँखाबाट बग्ने अश्रु
माटोको चिच्याहट
हिमालको मुस्कान
र गुराँसको नाच

म कवि हुँ
हृदयको रगतले लेख्छु
शब्दहरू बुनिन्छन् भावनाको तन्तुमा
र सुनाउँछु
सुनिदिने शून्यतालाई

बुझिदिने संवेदनशील हृदयलाई
जब–जब अन्याय जुरमुराउँछ
तब–तब मेरा शब्दहरू गर्जन्छन्
यसैले
बिना खन्जर भत्काउन सक्छु
विभेदका कालो पर्खाल

म कवि हुँ
कविता नै मेरो भेषज हो
म समाजका घाउमा
गुदिलो मलहम पोत्नसक्छु

हो,
म युद्धहरूमा शान्तिको दियो हुँ
म लेख्छु
साहसी सपूतहरूको शिर ठाडो बनाउने कथा
जीवन र मृत्युमाझ उभिएर
समयको इतिहास शब्दमा कोर्छु

मेरा पाखुरा बलिया “बहादुर” झैँ नहुन सक्छन्,
तर छ साहस
कवितालाई अस्त्र बनाएर
हतियारबिनाको युद्ध लड्ने
देशको नाममा मर्नु परे
शब्दकै गोली चलाउँदै
गौरवपूर्ण अन्त्य रोज्न सक्छु

म आफ्नै आत्माको नेता हुँ
भाषण होइन, कर्मले बोल्छु
मेरो धर्म लेख्नु हो,
मर्म बगाउनु हो
अश्रुजस्ता अविरल भावनामा
जगाउँछु हाँसोको पुञ्ज

स्वतन्त्र चरीझैँ आकाशमा उड्छु
बालघामझैँ शिरमा उदाउँछु
जुनको शीतलता ताप्छु
तारासँग हाँस्दै बाँच्दछु

म कवि मात्र होइन
शब्दहरूको राजा हुँ
छैन डर चोरको
छैन डाह अर्काको
त्यसैले
म रमाउँछु अक्षरको संगतमा
त्यहीँ भेट्छु आत्माको सान्त्वना
त्यसैले लाग्छ त
धन्य, म कवि भएछु

देशलाई सन्चो छैन
कवि: सुन्दर शिरीष | ठेगाना: सिन्धुपाल्चोक, नेपाल

   

बाबु

आजकाल देशलाई सञ्चो छैन,

तिमीलाई कस्तो छ– छोरा ?

 

तिम्रा बुढा बा–

आँगनको डिलमा बसेर

घरी तिमी परदेशिएको बिरानो आकाश हेर्छन्,

घरी तिम्रो भाई, सपना बोकेर सहर झरेपछिको

सुनसान बाटोमा आँखा अड्याउँछन्,

न तिम्रो सञ्चो बिसन्चोको खबर भित्रिन्छ

यो बुढ्यौली मनको मझेरीमा,

न तिम्रो भाईको सपना फुलेको देखिन्छ

यो धमिलो आखाँको फूलबारीमा ।

 

यो तिम्रो बुढी आमाको मन सारै रोएको छ– बाबु !

 

आजकाल देशलाई सञ्चो छैन,

तिमीलाई कस्तो छ– छोरा ?

 

कताकता धमिलो सुन्छु–

देश त बालखाको रगतमा नुहाईरहेको छ,

सकि नसकि आकाश हेर्छु–

आकाश त देश जलेको कालो मुस्लोले ढाकिएको छ,

दुःखले कुप्रिएको यो शरीरले

शान्तिको स्वास नफेरेको पनि जुगौं भइसक्यो,

काँपिरहने यी औंलाहरुले

तिमीहरुको साथ खोजेको पनि वषौं भईसक्यो ।

 

करेसामा हुर्किएको बुढ्यौली सपना

परदेशिएको तिम्रो पाईताला चुम्न खोज्दैछ,

अँगेनोमा पाकिरहेको एक मुठी चाहना

भोकाईगएको तिम्रो आँत भर्न खोज्दैछ,

हामी त डाँडा माथीको जुन

बर्खामासको मनसुन,

अब–

तनले पनि आराम मागिसक्यो,

मनले पनि आश मारिसक्यो ।

 

अब त छोरा,

एउटै प्राथना छ– हाम्रो

उडिगएको तिम्रो पखेटा

नठोक्कियोस् परदेशको बञ्जर समयकिलामा,

सहर पसेको तिम्रो चाहना

नपोखियोस् संसद भवन अगाडी रातो भएर,

नछुटियोस् तिम्रा पाउबाट सेता जुत्ता,

नजलोस् तिम्रा सपना सिंहदरबारजस्तै ।

 

आजकाल देशलाई सञ्चो छैन,

तिमीलाई कस्तो छ– छोरा !

बाटो र जिन्दगी
कवि: लक्ष्मण सिटौला | ठेगाना: काठमाडौँ, नेपाल

   

बाटो आफै एउटा यात्रा हो
बाटो आफै हिडिरहेछ सदियौदेखि
तर  उ आफै कहिले गन्तव्यमा पुगेन
मात्रै उस्ले अरुलाइ पुर्यायो
बाटो जत्तिको समाजसेवी
मैले अरु कोहि देखिन
बाटो गन्तव्य पुग्नु र
नपुग्नुसग कुनै अर्थ राख्दैन
जति हिडेपनी उ थाक्तैन
कहिले म उसग हिंड्छु
कहिले उ मसग हिंड्छ
हामी दुवैको यो अनन्त यात्रा
अन्तिमसम्म साथै हिड्ने हो
मसग कहिले उ काममा गयो
मसग कहिले उ धाममा गयो
उस्ले कहिले स्वार्थ देखाएन
भोकको अँध्यारो छातीमा
र समयको आततायी पीडा बोकेर
एउटा बुढाे जिन्दगी हो मेरा सपनाहरू
तर मेरो सपनाहरू बोक्ने बाटो भने
कहिले नथाक्ने आकाश जस्तै छ
घिसार्दै छु म जीवन
सधैं जवानी बाटोको छातीमा टेकेर
कल्पना गर्नुस्त एकक्षण
कुनै दिन गन्तव्य नपुग्दै
तपाईंलाई बाटोले छोड्यो भने
बाटो बिनाको जिन्दगी कस्तो होला ?
बाटो सत्यको पैताला र
सतको सुर्य ताप्तै
मसग हिडिरह्यो
कतै रोकिएन उ
कतै निदाएन उ
कतै अनिन्द्रा बाचेन उ
र कहिले बेमानी बाचेन उस्ले
बाटोसगै हिड्दा हिड्दा
सधैं उसग हिड्ने म बुढो भएछु आज
तर उ कहिले बुढो भएन ।
बाटो मात्रै एउटा त्यस्तो असल मित्र हो
जस्ले जस्तो बिपत्तिमा पनि छोडेर कतै भाग्दैन
र कहिल्यै  उसले कसैलाई
एक्लो हुन दिदैन
उ कहिले कसैको निन्दा गर्दैन
मलाई थाहा छैन आजसम्म
कसैलाई उस्ले दुत्कारेको
बाटो कहिले आफ्नो बाटो भुल्दैन।

यथार्थता
कवि: नवराज अधिकारी | ठेगाना: पोखरा, नेपाल

   

बुझ्दैनन् जनता अचम्म कसरी थुप्रिन्छ कालो धन
बाँच्दैनन् तिनले विलाश सुखको उल्लासिलो जीवन
सोझाको मन हुन्छ साफ सुथरा जम्दैन कालो कण
सोझाको हितमा समर्पित हुँदै जङ्गिन्छ जेन्जी मन।

ब्वाँसाको भरमा पर्यौ यदि भने चिप्लिन्छ उद्देश्य नै
सत्ता फेर्न विलम्ब भो यदि भने सिद्दिन्छ सङ्घर्ष नै
केके छन् गुण, ज्ञान, कौशल खुबी आऊ खन्याऊ सबै
भ्रष्टाचार समूल नष्ट गरिदा चम्किन्छ नेपाल नै।

यो प्रादेशिकता भयो भडकिलो बेकारको खर्चिलो
सानो चुस्त दुरुस्त संसद रहोस् त्यै हुन्छ बेखर्चिलो
फाल्नै पर्छ समानुपातिक तथा प्रादेशिकी शासन
रोजौं शान्ति समुन्नति सुख दिने प्रत्यक्ष निर्वाचन।

आऊ आज मिलौं सुसंयम बनी थालौं नयाँ योजना
भाग्ने मार्ग ढुँडेर दम्पच बनुन् सम्पूर्ण दुर्भावना
भ्रष्टाचार अराजनीतिक कुरा बाँकी नराखी कुनै
पोल्ने आँट गरौं बिमार घरका जरा र मुन्टा सबै।

माटाको ममता रहोस् ह्रदयमा सङ्लो बनोस् भावना
धर्तीभित्र फुलोस् युवामन नयाँ भेटेर संभावना
रोप्नै पर्छ यही पवित्र घरमा स्वप्ना हजारौं थरि
दिंदा दण्ड सुधार हुन्छ घर यो पक्रेर आडम्बरी।

देखेको सपना फुलाउँछु यहीं रोप्ने छु संभावना
माटाभित्र म रोप्न सक्दछु नयाँ उद्धे्श्य उत्प्रेरणा
यै माटोसँग प्रेम गर्दछु यहीं सङ्गीत भर्ने छु म
बाचा भो जति सक्छु गर्दछु यहीं पर्देशमा जान्न म।

हास्ने छन् नव रोजगार थपिदा गोरे र बिर्खेहरू
हास्ने छन् घर गोठ आँगन धुरी पानी पँधेराहरू
हास्ने छिन् जब सुन्तली नयनमा पारेर गाँठाहरू
हार्ने छन् अनिमात्र दुष्ट मनका लोभी लफङ्गाहरू।

पहाडको कोसेली
कवि: पशुपति घिमिरे| ठेगाना: भर्जिनिया, अमेरिका

   

हावाको स्पर्शले
तरङ्गित छ तालको पानी
जसरी तरङ्गित हुन्छ जवानी

बालक झैं चंचल छन्
रूखका पातहरू
सुनिरहुँ लाग्ने
पवन बृक्षका संवादहरू

आकाशै छेडुँला झैं गरी उभिएका
सल्लाका तीखा सुईराहरूको कोमलता
तिनका पातहरूको चंचल नृत्य
सुस्केरा र सुसाईहरू
पहाडका चेपबाट बगेको चीसो हावा
त्यही हावासँग ठोक्किएर बनेको मीठो संगीत

आदिम कालदेखि
ध्यान मुद्रामा बसेका भिक्षु जस्ता
ध्यानस्थ पहाडहरू
तिनका काँधमा शोभायमान
हिउँका सेता खादाहरू

म एक पहाडी यात्रामा छु
म एक उचाईको यात्रामा छु ।

यो यात्राबाट फर्कंदा
म लिएर आउनेछु केही कोसेलीहरू
तिम्रा लागि

पैंचो मागेर ल्याउनेछु 
तालको पानीको अलिकति संग्लोपन
मिसाउनु हृदयमा ।
बाँडिदिनु उनीहरूलाई अलिअलि
जसका मन धमिलिएका छन् ।

जीवनमा
संकटका भूमरीहरू आउँछन्
आँधी हुरीहरू आउँछन्
नआत्तिनू ती पहाहहरू जस्तै ।
कति बेहोर्छन् तिनले
चीसो हावाका झोंक्का र झंझावातहरू
हो तिनै पहाडबाट सिक्नु
धीरता,धैर्य र सहनशीलता ।
म ल्याईदिउँला मागेर अलिकति ।

रूखहरूसँग मागेर ल्याइदिनेछु
अलिकति हरियो मसी
लेख्नु तिम्रा सफलताका कथाहरू
असफलताका व्यथाहरू
कि पछिल्लो पिंढीले पढ्न सकोस्
तिम्रा अनुभवका पाठहरू ।

पहाड माथि अनन्त फैलेको आकाशसँग
मागेर ल्याउनेछु
अलिक निक्कै विशालता
बाँडिदिनू हृदय हराएका हरामीहरूलाई

अभेद्य चट्टानहरूसँग
मागेर ल्याउनेछु अलिकति साहस
नदीहरूसँग माग्नेछु गति र गहिराई
झरनाको झंकार र वेग बोक्नेछु झोलामा

पहाडको उचाईबाट नजिकै पर्ने
घामजूनबाट अलिकति उज्यालो ल्याउनेछु
बाँडिदिनू नानीहरूलाई
ता कि साहसपूर्वक गतिमान हुन सकून
प्रगतिको बाटोमा
र निर्माण गर्न सकून् भविष्यको उज्यालो सत्ता ।

ज्वालाभित्रको मौन चित्कार
कवि: नरोत्तम श्रेष्ठ | ठेगाना: तनहुँ, नेपाल

   

रगतको कुहिरोमा जलेको रेखाचित्र
म सिंहदरबार –
राष्ट्रको अकथित राग हुँ
पुराना घडीका टकटक रुधिरध्वनि हुँ
आत्मसम्मानको नुनिलो मुखाग्नि हुँ ।

अग्निद्वारभित्र
थुनिएको नीरवता
पर्खिरहेका चरचर झ्यालहरू
कंकालजस्ता स्तम्भ–हड्डी
खरानीभित्र सपना अझै
अंकुर उमार्न आतुर छन् ।

भित्तामा टाँसिएका इतिहासका अक्षर
धुवाँको गोदमा विरह बुनिरहेका छन् ।
छानामाथि ज्वाला–गर्जन
आँगनभरि राखका कविता –
निशब्द समयसँग विलीन हुँदैछन् ।

ढकढक… ढकढक…
मुटु अझै धड्किरहेछ
हड्डीजस्ता स्तम्भ ढल्दैनन् मात्र…..।
सुक्क–सुक्क आँसु कण्ठमा फाटिरहेका छन् –
नुनिलो स्वर थामिएको परेलीमा ।

म, जसले शताब्दीयौँ
जनताको सपना साँचें
सन्धि र शपथ जोडें –
आज आफ्नै सन्तानको हातले
खरानीमा गाडिएका मेरा तराजु छन् ।

म भवन होइन – आँसुको गन्ध हुँ ।
म इँटा होइन – पीडाको रंग हुँ ।
म दरबार होइन – करुणाको स्वर हुँ ।

तर आज –
मेरो गर्व-सिंहासन मौन छ ।
मेरा भविष्य-भित्ताहरू खरानी छन् ।
मेरा शपथ-झ्यालहरू धुवाँमा रुमल्लिएका छन् ।

रगत–राख–रोदनसँगै म प्रश्न गर्छु –
“देशको मुटु जल्दा
मौन छ तिम्रो स्वर किन?
मेरो राख उड्दा
विस्मृत बग्यो तिम्रो स्वप्न किन?
मेरो मौन चित्कार गुञ्जिँदा
पाषाणझैँ बन्द भए तिम्रो कान किन?”

म सिंहदरबार –
समयको मृत नदीभित्र
तरंगित मौन स्वर – 
“मेरो ज्वालामय मृत्यु…
तिमीहरूको मौनताभन्दा
कम पीडादायी देखिन्छ किन?”

नेपालको सन्तति
कवि: दीपिन सिजापति | ठेगाना: दैलेख, नेपाल

   

मेरो माथ हिमाल झैँ अटल भै छेक्दै छ आँधी, हुरी

छाती बन्छ पहाड झैँ अति कडा टिक्दैन भाला, छुरी

तातो धड्कन हो मधेस मुटुको धड्किन्छ सर्वाङ्गमा

गालामाथि गुराँस फुल्दछ सधैँ सौन्दर्यको साथमा ।  

 

मेरा दिव्य दुई खुला नयन हुन् रारा र फेवा पनि

नीला नागनदी, पवित्र झरना बग्छन् नसामा अनि

मेरो पश्चिम काँगडा छ मुटुमा टिस्टा छ है पूर्वमा

झन्डा चन्द्र र सूर्य नाच्छ शिरमा झुक्दैन संंसारमा ।

 

टप्पा, मागल, देउडा, कुटकुटे गाएर नाच्दै छु म

खाँडी, खद्दरका घरेलु कपडा लाएर बाँच्दै छु म

दिन्छन् तागत सिस्नु, गुन्द्रुक, ढिडो, खोले तथा सागले

नेपाली परिकार सेवन गरी बाँचिन्छ आनन्दले ।

 

बज्छन् मादल, खैँजडी र तबला जोगाउँदै सभ्यता

भाषा, जात र धर्ममा फरक छौँ हुन्छौँ सबै एकता

जाँदा सात समुद्रपारि मनमा नेपालकै चित्र छ

छाती च्यात र हेर यो हृदयमा नेपाल झन् भित्र छ ।

 

पुर्खाको इतिहास, गौरव, कथा मेटेर मेटिन्न नि

रातो रक्त सयौँ सयौँ सहिदको मेरै नसामा छ नि

माटो ढोग गरी सधैँ मुलुकको चाहन्छु है उन्नति

नेपाली भन के म हैन कसरी ? नेपालकै सन्तति ।

ग्रामिण शिक्षिका
कवि: डिकुरा पोखरेल | ठेगाना: सप्तरी, नेपाल

     

आधा बाल्टिन दुध बोकेर डेरी-चोक गएका खसम
बिहानभरि उतै सोमरस र अट्टहास पान गरि
घर आइपुग्दा पाठशालाको जनाउ घण्टी बजिसकेको हुन्छ ।
हस्याङ फस्याङ घरधन्दा सकिवरि पाठशाला पुग्दा
कक्षा घण्टी लागिसकेको हुन्छ ।
भर्खरको खानाले चस्किएको पेट, हतास र हतारले असिनपसिन तन
गर्न नपाएको तयारी र ढिलो भएकोमा अमिलिएको मन
पढाउनु पर्ने समाज, साहित्य र विज्ञान
पश्चाताप र ग्लानिले भरिएको क्षण
कसरी शुरू गरौँ ?
प्रभाबकारी शिक्षण !

बुझेकी छु
‘हरेक विध्यार्थि पुस्तक हुन् तिनका प्रत्येक पन्ना पढ्नु पर्दछ’
‘उत्खनन् गरि इतिहास बर्तमानमा टेकी भविष्य फैलिनु पर्दछ’ ।
नियाल्छु बिध्यार्थि, अबिभाबक, समाज र घटना बिवेचना
पाऊँछु तिनमा पनि गरिवी, अभाब, तिरस्कार र दुष्चक्रको अर्तनाद ।
तिनको त्यो निमोठिएको मन, ख्याउटे काया र धुमिल छाँया
कसरी बौरिन सक्छ, विशाल व्रमाण्डमा कसरी पौडिन सक्छ?
पोसाक, ओठ र आँखामा उस्तै कलेटी र चिप्रा
जिउभरि घाउ, खत र पाप्रा
कसरी उघारिन्छ तिनका आकाश र उजेलिन्छ दिन
सोच्दा सोच्दै यसै हराइ दिन्छ मन ।

न घरले दिने मान, न समाजले राख्ने शान
समिति र राज्य धुलित पार्न खोज्छ स्वाभिमान
पेलिएको, हेपिएको मन-मस्तिष्कमा कसरी ल्याउनु मुस्कान ?
र पनि
टाउकाको मोल बुझाइरहेकी, जीवन-जगत् चिनाइरहेकी ।
कर्म-उध्धम-सभ्यताको सम्वन्ध सिकाइरहेकी ।
हरपल पिल्सिएर पनि सुखदः भविष्य उजिल्याउने
सम्वृद्द सभ्यता बनाउने अभियानमा हरपल समर्पित
म एक ग्रामिण शिक्षिका ।

अबको परिवर्तन
कवि: डिइबी सिकारु | ठेगाना: दक्षिण कोरिया

   

अबको परिवर्तन 
बन्दुकको नालबाट
कोलाहल मच्चाउँदै  
नारा जुलुस चर्काउँदै
एकोहोरो शंख फुक्दै
आउनु हुँदैन

परिवर्तन 
शान्तिको बाटो भएर आउनु पर्छ
जसरी
अन्धकार रातलाई चिरेर
सूर्यको शान्त आगमन हुन्छ
जसरी
शिशिरलाई उछिनेर समयले
वसन्तको जन्म हुन्छ 

अबको परिवर्तन कलमको निबबाट 
सुस्तरी ओर्लिरहेका अक्षरहरूबाट हुनु पर्छ
अबको परिवर्तन 
शान्तिको बाटो भएर आउनु पर्छ

आमाको छातीलाई
कुरुक्षेत्र बनाएर
शकुनिजसरी
पासा फाल्दै
हवनको चरूजस्तो भएर
आफ्नै भविश्यको होम गर्दै
आउनु हुन्न अबको परिवर्तन

परिवर्तन 
विध्वंस नउर्लि पनि सम्भव छ 
जस्तो-
आइन्सटानले
भौतिकशास्त्रमा ल्याएको परिवर्तन
जस्तो-
ली क्वान युले
सिङ्गापुरमा ल्याएको परिवर्तन

सडकमा रगतको नदी बगाउँदै
छातीछातीमा नाल सोझाउँदै
जीवनको अस्तित्व नै मेटाउँदै
अहङ्कारको घोडा चढेर
आउनु हुन्न परिवर्तन
परिवर्तन हिटलरको बाटो भएर हैन
परिवर्तन बुद्धको बाटो भएर आउनु पर्छ
परिवर्तन महावीरको बाटो भएर आउनु पर्छ

विचारहिन आँधीले त केवल
केही चिसा मुढाहरू दिन्छ
केही टुहुरा फूलहरू दिन्छ
केही अपाङ्ग पहाडहरू दिन्छ
केही विधवा छहारीहरू दिन्छ
र सबै-सबै लिन्छ

ताण्डव नाच्दै सुनामीजसरी
मेरूदण्ड भाँच्दै भविश्यको
लात हान्दै वर्तमानको पेटमा
आउनु हुन्न परिवर्तन

न्यायको पक्षधर म 
शान्तिको पक्षधर म
परिवर्तनको पक्षधर म

अबको परिवर्तन
बन्दुकको बुइ चढेर होइन
शान्तिको बाटो भएर
कान्तिको बाटो भएर
सितारका तारमा सुतेको संगीतसरि 
सौम्य भएर आउनु पर्छ
शान्त भएर आउनु पर्छ।

रित्तो घारको गुञ्जन
कवि: सन्ध्या महर्जन | ठेगाना: ललितपुर, नेपाल

   

हातमा आँसु–पासपोर्ट
मनभरि भविष्यको भार –
शिशुले च्यापेको बाबुको औँलाबाट
थरथराउँछ देशको धड्कन ।

स्वेदमा चिप्लिएको विमानस्थल
देशको छातीबाट चुँडिएर
उड्छन् – सपना, श्रम र सास ।
रोल्पा, रुकुम, रामेछाप…
हरेक विमानको पखेटामा थामिएका छन् –
एक घरको अधुरो आगो
एक आमाको घिटघिटि सास
एक छोरीको नबोलेको दाइजो
एक छोराको शुल्कमा अडिएको भविष्य
र घारबाट हराएको एउटा धड्कन ।

“फर्किन्छु चाँडै !”
कुशे औंसीको साँचो बोकेर उड्छ माहुरी ।
तर घारमा
अब मौनता झुण्डिन्छ –
गुनगुनाउँछ :
रेमिट्यान्सभित्र च्यापिएको
एउटा मृत कविता ।

भरखरै जन्मेको काखेशिशु
जसको नाकले अझै बुबाको सास चिनेको थिएन –
ऊ निदाउँथ्यो, बुबाको स्वप्न ओढेर ।
तर…
बुबा फर्कँदा
त्यो शिशु
अब अर्को पिँढीको माहुरी
श्रम बेच्न तयार भइसकेको हुन्छ ।

देशबाट हराएकाहरूलाई
देशले खोज्दैन
कालले खोज्दै
समुद्रपार पुग्छ ।
अनि …..
बाकसभरि पैसा बोकेर फर्कने सपना
आफै बाकसभित्र बन्द भएर फर्कन्छ ।
रियालभन्दा भारी बोझ
काँधमा टाँसिएको चिहानको मौनता !

चक्र घुमिरहन्छ—
बुबाले छाडेका पाइलाहरू
छोराले पुनः दोहोर्याउँछन् ।
घाम आउनुअघि नै
भुनभुन… भुनभुन… गुञ्जिरहन्छ आकाश
श्रमको टुक्रिएको आवाजमा
फिँजिन्छन् पखेटा फैलाएका माहुरीहरू ।
तर घार… ?
सुन्य…मौन…रित्तो…उजाड… ।

रोक! रोक!! रोक!!!
माहुरीहरू बोकेर उडिरहेका विमानहरू –
देशलाई उजाड नपार ।
देश एउटा घार हो –
जहाँ स्वप्नहरू साँचिन्छन्
जहाँ देशको सासको साँचो
अझै हाम्रै हातमा छ ।

अन्तिम युद्ध
कवि: उमा शर्मा | ठेगाना: नर्थ क्यारोलाइना, अमेरिका

   

त्यो पहिलो योद्धा,
जसले लड्यो पहिलो युद्ध,
फुलायो गर्वले छाती,
अनि मनायो विजयको उत्सव —
के उसले फर्केर हेर्‍यो होला?
त्यो सङ्ग्राम भूमि 

जहाँ ,
भुइँ भरी जुत्ताको थुप्रो,
माटो भरी टोपीको पहाड,
हावा भरी श्वासको गन्ध,
अहँ, उसले कहिल्यै हेरेन।

यदि फर्केर हेर्दो हो,
के हुने थियो- अर्को युद्ध?
 
युद्ध — एउटा खेल,
जहाँ
हार्नेहरू हार्छन्,
जित्नेहरू अझ धेरै हार्छन्।

मर्नेहरू मर्छन्,
बाँच्नेहरू अझ धेरै धेरै मर्छन्।
 
म — समय,
हरेक युगको साक्षी,
हरेक युद्धको साक्षी।
देखेको छु —
युद्धबाट युद्ध नै जन्मिएको,
युद्धले युद्ध नै जन्माएको।
हो, म — समय,
सबै सबै देखेको छु।
पाँच गाउँका लागि लड्ने पाण्डव,
अक्षौहिणी सेनासँग बढ्ने कौरव।
 
रणभूमिको युद्ध के भयानक?
त्यो भन्दा पनि भयानक —
आँखा छोपेर अन्धी बनेकी गांधारीको युद्ध,
आँखा खोलेर नै नेत्रहीन बनेकी कुन्तीको युद्ध।
बुढी औँलो काटिएको एकलव्यको युद्ध,
उफ! पासामा थापिएकी द्रौपदीको युद्ध।
 
म — समय,

यो पनि देखेको छु —
कठिन समरको युद्ध,
त्यो भन्दा भीषण 
अभिमन्युको शवमाथि विजय झण्डा फहराउँदै गरेको 
अर्जुनको युद्ध।
कर्णको निष्प्राण शरीरलाई सुम्सुम्याउँदै गरेकी 
कुन्तीको युद्ध।
 
त्यसैले —
बिन्ती,
अब एकै बाजी
लडिदेउ  एउटा अन्तिम युद्ध।
ढाल — आफै भित्रको दुर्योधनलाई,
बनाउ बन्दी आफ्नै दुःशासनलाई।
 
हरेक युगको साक्षी,
हरेक युद्धको साक्षी,
म — समय,
भोलि गर्वले भन्नेछु —
हो, तिमी नै थियौ —
त्यो अन्तिम योद्धा,
जसले लडेको थियो —

एउटा अन्तिम युद्ध!!

जेनजीको जुत्ता
कवि: असफल गौतम | ठेगाना: स्याङ्जा, नेपाल

   

लेखिएको विधानमा

निधान फेला नपरेपछि

अभावपूर्तिको खोजीमा

फाँटको खेत बन्धक राखेर

परदेश हानिएको

प्रवासीको रेमिट्यान्सले

परिवारमा अलिकति

प्रकाश छिराउँदै थियो

 

मृगौलापीडित बुबा

दमले थलिएकी आमाको स्याहारसँगै

चुलो कुरिरहेकी जहान

नाङ्गै–बुङ्गै उफ्रने

ती चिचिलाबचिलाको मुहारमा

उज्यालोको ढिब्री बाल्न

५२ डिग्रीको तापमा बाँफिदै

हराएका खुसीहरू जोड्न

पूर्णेको जूनले देखाएको

शालिनताको सपनामा

भक्किएको मनसँगै

बाँचिरहेछ

 

घरको महिने खाँबो परदेश हिँडेपछि

जिम्मेवारीले थिचिएको छोरो

सपनाहरू झोलामा हालेर

बिहानै स्कुल हिँड्दा

समृद्धिको उज्यालो कल्पिरहेछ

किनकि

रक्षकहरूले फोहोरका लाप्साहरूमा लुट्पुटिएर

विकृति र विसङ्गतिको कर्नाल फुकेपछि

आफ्‌नै मृत्युको झोला बोकेर

आत्मदाह गर्नेहरूका यथार्थले

उद्धेलित भएपछि

भ्रष्टाचारमुक्त मुलुकको मुहार सम्झदै

स्कुले पोशाकमै क्रान्तिको ज्वाला बोकेर

शहर छिरेको छोरो

बेखबर भएको खबरसँगै

घरदेशवासी र परदेशवासीमा

मडारिएको छ आँधीबेहरी

 

भविष्यलाई आँखाको नानी सम्झदै

रोग र भोकलाई टारेर

जोडी परेवाको मिलन जसरी

सपनामा परदेशीको बाटो हेर्दाहेर्दै

ज्योति धमिलिँदै धमिलिँदै गएपछि

मातृवात्सल्यले भत्भति

छाती पोल्ने व्यथा बढ्दो भएपछि

अनगिन्ती प्रश्नहरूले छोपेपछि

धैर्यको बाँध फुुटेपछि

उदेकिलो मन बोकेर 

छोराको खोजीमा

चोक र गल्लीहरूमा चिच्याइरहेकी थिइन्‌

 

हिँड्दा हिँडदै तलुवा फाटेको

कस्दा कस्दै तुना छुट्टिएको

आफ्‌नै छोराले लाएजस्तो

तर आलो रगत लतपतिएको

जेनजी जुत्तामा नजर परेसँगै

मेरै छोराको जस्तो

जेनजीको जुत्तामा

कुन खलनायकको नालायकी

लतपतिएको भनेर प्रश्न गर्दागर्दै

यतिबेला

भक्कानिएकी छन्

नेपाल आमा ।

लागेपछि राहदानीमा छाप
कवि: मसान उपासक | ठेगाना: मकवानपुर, नेपाल

   

लागेपछि राहदानीमा छाप

टुक्रिएका बिपनाहरू

र सजाइएका सपनाहरूसँगै

मैले यो पनि सोचेको हुँ ।

 

फुटेका सपनाका टुक्राहरू

जोडेर बिपनाका फ्रेममा सजाउँदै ऐना

हेर्दाहेर्दै आफैँलाई नचिनेर थाकेपछि फुलमाया

साना केटाकेटीहरूको प्यास मेटाउन

गाग्रीभरि पानी कसरी सङ्गाल्न सक्छिन् ?

 

जीवनको अन्तिम अध्यायतिर कुदिरहेका बा

बारीमा परेली लगाईरहेका काकाकाकीहरूसँगै

पर कतै बलिरहेको सहरको बत्तीलाई हेर्दै

मेरो सानो गाउँ

टुकीको उज्यालोमा पनि कसरी मुस्कुराइरहन सक्ला ?

 

कफनमा दैनिक फर्किरहेका नौजवान देखेर

कुन मुटुले थेग्दो हो निर्धक्क भएर चलिरहन

तर बन्द गरेर मुुटुको त्यही चाललाई

हर्कमायाले चुहिएको पुरानो घरबाट 

अझै कति वर्ष आफ्नो आयुलाई धान्न सक्लिन् ?

 

माईला कामीले आरान चलाउलान् या बन्द गर्लान् ?

थिङ कार्इँला बल्छी बोकेर कहिलेसम्म खोला झर्लान् ?

वीरबहादुर अझैै कति वर्ष रुख चढ्न सक्लान् ?

ऋषि बाजेले जजमानी गरिरहलान् या छोड्लान् ?

 

र अन्त्यमा सोचेँ

कहिल्यै आफ्नो नाम कतै लेखेको नपढेको म

मेरो नामसँगै सरकारको नाम पढेपछि

सोध्न मन लाग्यो,

सरकार !

सबै बाटाहरू बन्द गरेर

देशबाटै लखेट्न खोजेपछि

मलाई लिएर जाने बिमानले

के सकुशल फर्काउन सक्छ ?

 

आकाशमै बिमान जलेन भने

बाकसमा पसेर फर्कन परेन भने

रेमिट्यान्सले तिम्रो मन भरिने गरी

पसिनाको घैला पठाउँला ।

 

तर सरकार

परदेशमा पनि देशमा जस्तै

मेरो देश हराएको

अखबारहरूमा पढ्न नपरोस् ।

रङ्गको वजन
कवि: महान त्यागी | ठेगाना: धादिङ, नेपाल

   

रातो सिउँदोको मोहिनी फूल किनेर

मनको मन्दिरमा चढाउँदै गर्दा

कठोर कवि प्रेमको आँसु तप्प चुहाउँदै भन्छ–

“यस्तो हुनुपर्छ जीवनको रङ्ग!”

 

रातो लाली घसेकी जूनको

एक अङ्गालो उज्यालो टिपेर

सम्झनाको पुरानो ढोकाबाट चिच्याउँछ

अन्तर्मनको पागल प्रेमी–

“मेरी प्रेमिका जस्तो जून कि

जून जस्तो मेरी प्रेमिका?”

 

आत्मचेतको नर्सरीमा

परिवर्तनको रातो पानी हाल्दै

निधारमा रातै पट्टी बाँधेको

खडेरीको चलाख अगुवा बोल्छ–

“यसरी हाँस्छ जीवनको रातो रङ्ग!”

 

तर, रातो सपना बोकेर उडेका लाचार मुटुहरू

पसिनाले भिजेको तलबका थोपाहरू पिएर

परदेशमा प्राण त्याग्छन् अनायासै।

अनि पोतिन्छ देशको क्यानभासमा

रातो बाकसको सेतो रङ्ग।

 

पिढीमा धान कुट्दै

सङ्घर्षको खोँचबाट बगेकी

कान्छीमायाको सिउँदो पहेलो हुन्छ।

घामको भविष्य अन्धकार हुन्छ।

धरतीको हाँसोमा ग्रहण लाग्छ।

 

जब राता ठेलाहरूबाट बगेको

निलो रङ्गको पसिना

स्वाभिमानको बजारमा मूल्यहीन हुन्छ,

आकाश कालो हुन्छ,

देश न्याउरो पर्छ,

रङ्ग उडेको पोस्टरझैं खुइलिन्छ–

परिश्रमको मूल्य पनि।

 

आज वेदनाको भुमरीभित्र

तड्पिरहेकाहरू सोधिरहेछन्‌–

“रातो गुलाफ चुम्नेहरूले

किन चुम्दैनन् निलो पसिनाको सुगन्धलाई?

 

आज रङ्गहीन जीवन

बाँचिरहेकाहरू सोचिरहेछन्‌–

“रातो पासपोर्ट बोकेर

जब बिक्छ सपना गुलाबी बजारमा,

रातो झन्डाले किन सोध्दैन

रातो रगतको मोल?”

 

आज वर्तमानको अँध्यारो छिँडीभित्र

सन्त्रासको कालो धुवाँले रोइरहेकाहरू प्रश्न गरिरहेछन्‌–

“हर चिज रातो मन पराउने यो देशको शासकले

किन बोक्न सक्दैन रातो बाकसको सेतो वजन?

 

आनन्दको सागर
कवि: गौतम मनीष | ठेगाना: बागलुङ,  नेपाल

   

धर्ती टेक्न डराउँदै शिशु अहो! रोएर जन्म्यो किन?
‘यात्रा जीवनको भयङ्कर’ भनी को पुग्छ शिक्षा दिन?
जन्मेकै पल, प्राण उड्छ कि भनी छाती चुसी काँप्दछ
मान्छे जीवनमा भयावह लिँदै बाँच्ने न हो, स्पष्ट छ !

पक्षीको डरमा जिए युगयुगौँ कीरा फट्याङ्ग्राहरू
पक्षीको शिरमा खसाल्छ कहिले मान्छे मट्याङ्ग्राहरू ।
हात्ती स्याल र बाघका मनभरी छन् फेरि अर्कै डर
प्राणी को ? भयहीन बाँच्दछ यहाँ आनन्दमा को छ र?

छन् केही डर धर्मका र कति छन् यी पाप भन्ने डर
चल्छन् राष्ट्र विधानको डरसँगै छन् लोक झन् काँतर ।
हेर्दा देख्छु जताततै छ भयको सम्भावना कल्पित
मान्छे मात्र कहाँ छ त्रस्त, धरती बन्छिन् कि आतङ्कित ।

अल्छी लाग्दछ सुत्छु भन्न किन खै सक्दैन त्यो घामले
हावाले डर मान्छ कुन्नि कसको? बस्दैन आरामले ।
भाग्यो भीर पहाडबाट, कसको मान्यो नदीले डर
केही दिव्य रहस्य भेट्न भयको पर्दा चिरौँ हुन्न र?

छन् निर्जीव र जीव सृष्टिभरका आक्रान्त, के हो डर?
चिम्ली लोचन अन्धकार बिचमा खोज्ने कि? के हो डर ?
बाँच्छन् जो डरमा, मरे सरह हो, जागौँ डराओस् डर!
खोजौँ निर्भयको अमूल्य पदवी, आनन्दको सागर ॥

जन्मुन् अझै माधव
कवि: नुरज भट्टराई “नदी”| ठेगाना: इलाम, नेपाल

   

स्रष्टा माधव माधवी सहितका साहित्यसेवी मठ
लक्ष्मीका पतिदेवझैँ कमलका पुष्पादि शोभान्वित ।
सिङ्गो वाङ्मय वाङ्मयी चरणका भाषार्चना वैभव 
थाम्ने सृष्टिकला लिई भुवनमा जन्मुन् अझै माधव ।।१।।

काव्यात्माभरि गुञ्जने लयहरू हाम्रै नयाँ  गीत हुन् 
उल्था नाटक वा निबन्ध रसिला हाम्रै व्यथा प्रीत हुन् ।
थाकेनन्  कहिले  निरन्तर  जुटे  लेखे हुने सम्भव 
सच्चा साधक जन्मिए जनकझैँ जन्मुन् अझै माधव ।।२।।

भाषातीर्थ पुगेर पढ्न म सकूँ  के हो कला जीवन 
तिम्रा काव्य पढेर बुझ्न म सकूँ के हो सही लेखन ।
स्रष्टा साधन साध्य वा सफलता को हुन् सही मानव  
माटो चिन्न सके उही हृदयका जन्मुन् अझै माधव ।।३।।

नेपाली वनकन्दरा खुश रहुन् गौरी फिरेको पल 
कर्णाली पनि गाउलान् रहरले धर्ती खुले झल्मल ।
साझा दर्शनमा फुलुन् समधरा आँटुन् सबै बान्धव
जोड्ने राष्ट्र सपूत छौँ यदि भने जन्मुन् अझै माधव ।।४।।

मेरा यत्न सदैव उच्च बनियोस् पढ्ने तिमी बेसरी
सिक्ने साहस साथमा रहिरहोस् माला उनेको सरि ।
कच्चा वैद्य म हूँ तथापि दिलको खाटा दुखाउन्न म 
तिम्रा कीर्तिअगाडि झुक्न म सके जन्मुन् अझै माधव ।।५।।

 

 

 

प्रतिकृया दिनुहोस्