नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा आयोजना हुँदै
नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा आगामी मे महिनाको २२ देखि २५ तारिखसम्म चारदिने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुन लागेको खबर छ ।
सन् २००९ मा अमेरिकाको न्यूयोर्कबाट ‘प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’का रूपमा शुरू भई हरेक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएकोमा यसअघि ‘आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ सन् २०२४ को मे महिनामा युरोपको पोर्चुगलमा सम्पन्न भएको थियो । यस बिचमा अमेरिका, जापान, अष्ट्रेलिया, बेलायतलगायत विश्वका विभिन्न सहरमा अन्य छ वटा अन्तर्राष्ट्रिय सम्मेलनहरू भव्य रूपमा सम्पन्न भइसकेका छन् ।
आगामी साहित्य सम्मेलनको तयारीका लागि हालै कोलोराडोको नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा संघसंस्थाका प्रतिनिधि, साहित्यकार तथा नागरिक समाजका अभियान्ताहरूको बैठक बसी छलफल भएको थियो ।
अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीको अध्यक्षतामा सम्पन्न सो बैठकमा अनेसास केन्द्रीय महासचिव राजु सिटौलाले कार्यक्रम गर्नुको उद्देश्य र सम्मेलनको चार दिनमा आयोजना गरिने प्रस्तावित कार्यक्रमहरूको ढाँचा प्रस्तुत गरेका थिए । बैठकमा अनेसास बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले यसअघिका ८ वटा सम्मेलनहरू सम्पन्न भएका स्थान र समय स्मरण गराउँदै कोलोराडोमा यो सम्मेलन आयोजना गर्नुको आधारहरू तथा प्रस्तावित आय–व्ययको बारेमा प्रकाश पारेका थिए । यसैगरी कार्यक्रम संयोजक तथा कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न मूल समिति र विषयगत उपसमितिहरूको नाम प्रस्ताव गरेका थिए ।
नेपाली भाषा–साहित्यको विकास र विश्व साहित्यमा नेपाली साहित्यको पहिचानका बारेमा अन्तरक्रिया तथा छलफल गर्दै साहित्यिक अभिरुचि बढाउने मुख्य उद्देश्य रहेको सम्मेलनमा गजल गायन, कविता वाचन, अन्तरक्रिया, छलफल तथा साहित्यिक भ्रमण लगायतका कार्यक्रम हुने आयोजकले जानकारी गराएका छन् ।
नेपालसहित विश्वका विभिन्न देशबाट १५० भन्दा बढी साहित्यकार र साहित्यिक अनुरागीहरू सहभागी हुने अनुमान गरिएको सो सम्मेलनमा करिब ५३ हजार डलर खर्च लाग्ने अनुमान गरिएको छ ।
कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना गर्न पाउनु नेपाली भाषीहरूको गौरवको कुरा भएको जनाउँदै सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न यथाशक्य सहयोग गर्ने प्रतिबद्धता बैठकमा सहभागी सबै संघसंस्थाका पदाधिकारी तथा अभियान्ताहरूले व्यक्त गरेका छन् ।
अनेसासकी केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीद्वारा सहजीकरण गरिएको बैठकमा सहभागीहरूले कार्यक्रमसम्बन्धी विभिन्न जिज्ञासा र आफ्ना सुझावहरू पेश गरेका थिए ।
