श्रद्धाञ्जली सभामा ‘मेरो देश प्रेमको देश’ अभियानको चर्चा

२०८२ मंसिर १४, काठमाडौं ।

अनेसास केन्द्रका पूर्व अध्यक्ष मोहन सिटौला तथा अनेसास डिसी च्याप्टरका उपाध्यक्ष कविन्द्र सिटौलाकी ममतामयी माता मनमाया सिटौलाको श्रद्धाञ्जली सभा एवम् कवि कविन्द्र सिटौलाको ‘मेरो देश प्रेमको देश’ अभियानको बारेमा जानकारी दिने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरियो ।

अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजना गरिएको सो शोकसभा कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती, वरिष्ठ कथाकार पुष्कर लोहनी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाई तथा खगेन्द्र सिटौलाले मनमाया सिटौलाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनको व्यक्तित्वका बारे बोलेका थिए ।

दिवङ्गत मनमाया सिटौला स्रष्टा हुनुका साथै लोकगायिका समेत हुन् । ‘मैले बिताएको युग’ मनमाया सिटौलाको आत्मवृतान्त कृति प्रकाशित रहेको छ । मनमाया सिटौलाको गत २०८२ मङ्सिर २९ गते ९६ वर्षको उमेरमा काठमाडौं रातोपुलस्थित आफ्नै निवासमा निधन भएको थियो ।

शोक सभा कार्यक्रममा मनमाया सिटौलाप्रति श्रद्धाञ्जली प्रकट गरिएका कविताहरू पनि वाचन गरिएको थियोे । कविता वाचन गर्नेहरूमा मनमाया सिटौलाका छोरा कविन्द्र सिटौला, छोरी राधिका सिटौला दाहाल, कवि एवं आख्यानकारहरु हिरण्यकुमारी पाठक र सीता पाण्डे, अनेसास केन्द्रीय सदस्य सुमन वर्षा, अनेसास नेपाल च्याटरकी सदस्य द्वारिका कुइँकेल रहेका थिए ।

अनेनास नेपाल च्याप्टरकी कोषाध्यक्ष कमला रिसालले कार्यक्रमको उदेश्यमा प्रकाश पार्दै आफ्नै शब्द, स्वर र सङ्गीत रहेको ‘आमा’ शीर्षकको गीत गाएकी थिइन् ।

कार्यक्रम शुरु हुनु अगावै कविन्द्र सिटौलाले ‘मेरो देश प्रेमको देश’ अभियानका बारेमा संक्षेपमा प्रकाश पार्दै नेपाली कागजको एक पन्नामा लेखिएको युग परिचायक कवितासङ्ग्रह (Mega Poetry Collection) का केही हरफहरू भरेर उपलब्ध गराउन सबै कवि लेखकहरूमा आग्रह गरेका थिए।

प्रेम के हो, प्रेम कहाँ हुन्छ, कसरी हुन्छ भन्ने कुरा चार चार हरफ खाली ठाउँमा आ-आफ्नो विचार भरेर बुझाउनसमेत अनुरोध गरेका थिए । उक्त फर्म नेपाल बाहेक अन्य देशमा पनि भराइने र सङ्कलित ती सबै फर्महरू अमेरिकाको कुनै एक पुस्तकालय, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा तेह्रथुमको आठराइमा समेत राखिने कुरा बताए ।

वि. सं. २०४६ को जनआन्दोलनपश्चात् अमेरिका छिरेका कविन्द्र सिटौलाद्वारा आमा मनमायाको आवाजमा संगीनी गीत र लोकभाका गीतको रेकर्ड सुनाइएको थियो। अनेसास नेपाल च्याप्टरद्वारा आयोजित सोही कार्यक्रममा युवा गायक एवं संगीतकार नरहरि प्रेमीले पनि ‘आमा’ बोलको गीत गाएका थिए ।

अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले सभापतित्व गरेको सो कार्यक्रमको सहजीकरण अनेसास नेपाल च्याप्टरकी उपाध्यक्ष मन्जिला अनिलले गरेकी हुन्।

कार्यक्रममा प्राज्ञ बाबा बस्नेत, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अनेसास नेपाल च्याप्टरकी निवर्तमान अध्यक्ष एवं पुरस्कार समिति सदस्य सन्ध्या पहाडी, अनेसास दर्पणका सम्पादक रमेश दाहाल, अनेसास कोलोराडो च्याप्टरकी पूर्व अध्यक्ष आचार्य प्रभा, वरिष्ठ नियात्राकार युवराज नयाँघरे, प्रा. डा. गोविन्दमानसिंह कार्की, साहित्यकारहरु विजयध्वज थापा, पूर्ण ओली, केशव आचार्य, श्रीबाबु कार्की, सन्तोष श्रेष्ठ, रश्मि रिमाल, अनेसास सदस्यहरु डा. शान्तीमाया गिरी, शान्ति रिसाल, डीआर राई,लक्ष्मण सिटौला, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, मनमायाका छोरा नगेन्द्रराज सिटौला, छोरीहरू राधिका दाहाल र विजया पन्त लगायतको उपस्थिति रहेको थियो ।

साभारः  शब्दपथ प्रतिनिधि: सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’

प्रतिकृया दिनुहोस्