श्रष्टा समाजको स्थापना दिवसका अवसरमा विविध साहित्यिक कार्यक्रम
ललितपूर । नेपाल स्रष्टा समाजले चर्चित निबन्धकार स्व.कृष्णचन्द्रसिंह प्रधानको सतवार्षिकीको अवसर पारेर आफ्नो १९ औं स्थापना दिवस मनाउँदै बृहद आत्मपरक निबन्ध गोष्ठी गरेको छ । लिटिल एन्जल्स स्कूलको सह-आयोजनामा सम्पन्न उक्त गोष्ठीमा समकालीन निबन्धकारहरुले आ-आफ्ना निबन्ध सुनाए ।
कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ निबन्धकार डा. माधव पोखरेलले आफ्नो निबन्धअंश सुनाउँदै नेपाली साहित्यमा हेलाँमा परेको निबन्ध विधाको गोष्ठी गर्नु आफैंमा महत्वपूर्ण भएको बतए । निबन्धकारहरुलाई गुरु बनाएर निबन्ध कार्यशाला गर्नु जरुरी भैसकेको उनको कथन थियो ।
वर्तमान नेपाली निबन्धको परम्परा र प्रवृत्ति विषयमा बरिष्ठ समालोचक प्रमोद प्रधानले आफ्नो विचार व्यक्त गर्ने क्रममा नेपालमा निबन्ध लेखन आधुनिक कालको शुरुवाती चरणमा दुईधार देखा परेको भन्दै ७० को दशकपछि आत्मपरक निबन्ध लेखनीमा केही बृद्धि भएको बताए । उनले आत्मपरक निबन्धलाई परिभाषाभित्र बाँध्न नसकिने पनि बताए ।
गोष्ठीमा बोधराज पौडेल, विष्णुबहादुर जिसी, भागवत खनाल, रञ्जना निरौला, श्रीबाबु कार्की, ज्ञानु अधिकारी, डा.चेतनाथ कँडेल हरित, डा.मानसाग्नी, ज्ञानेन्द्र विवश, भिष्म उप्रेती, डा.खगराज बराल, डा.रजनी ढकाल, प्रा. डा. ज्ञानु पाण्डे, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, मञ्जुल, मुकुन्दराज शर्मा लगायत आधा दर्जन निबन्धकारहरु सुनिए ।
वाचन गरिएका निबन्धहरु बारे समालोचक डा. जीवराज बस्यालले टिप्पणी गर्दै
गोष्ठीमा बाचित निबन्धहरु निजात्मक र अनुभूतिमय भएको बताए । कतिपय निबन्धहरु मौलिक कवितात्मक चेतले भरिएका र निबन्धहरुमा स्मृतिबिम्वको प्रयोग भएका जानकारी दिए ।
कार्यक्रमको अध्यक्षता गरेका श्रीओम श्रेष्ठ रोदनले नेपाल स्रष्टा समाजको स्थापना दिवसको अबसरमा तीन दिन विभिन्न कार्यक्रमको आयोजना गर्ने क्रममा यो आत्मपरक निबन्ध गोष्ठी गरिएको बताए ।
समाजका सदस्य प्रदीप सापकोटाले सहजीकरण गरेको कार्यक्रममा समाजकी सदस्य रञ्जना निरौलाद्वारा स्वागत मन्तव्य व्यक्त गरिन् भने सह-आयोजक लिटिल एन्जल्स स्कूलका प्रिन्सिपल तथा निबन्धकार मुकुन्दराज शर्माले पनि आफ्ना अभिव्यक्ति दिए ।

सम्मान तथा पुस्तक विमोचन:
यसअघि समाजले आफ्नो स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा एक भव्य कार्यक्रमका बिच केहि दिन अघि घोषित यस बर्षको शुभद्रा- विश्वराज स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि प्रल्हाद पोखरेल तथा प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मानद्धारा युवा साहित्यकार अनिता पन्थीलाई समर्पण गरेको थियो । सोही अबसरमा साहित्यकार जीवनाथ पोखरेलको कथासङ्ग्रह फेसबुकको करामत र कवि अम्बु बिहानीको मुक्तकसङ्ग्रह अतृप्त रहरहरुको लोकार्पण समेत गरेको थियो ।
समारोहका प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा. डा. अभि सुवेदी, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, भागिरथी श्रेष्ठ, हिरण्यकुमारी पाठक, विधान आचार्य, चेतनाथ कँडेल हरित तथा स्रष्टाद्धय लगायतले कृति लोकार्पण गरेका थिए ।
लोकार्पित कृतिहरू माथि समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्कीले चर्चा गरेका थिए भने समाजका संरक्षक पवन आलोकले समाजका लागि विगत देखि नै योगदान गर्नेहरुलाई स्मरण गरेका थिए ।
कार्यक्रममा पुरस्कारका संस्थापक मध्येबाट विधान आचार्य तथा चेतनाथ कँडेल हरितले मन्तव्य व्यक्त गरेका थिए ।
शुभद्रा विश्वराज स्रष्टा सम्मान वि.सं.२०७४ मा विधान आचार्यले स्थापना गरेका हुन् । भने प्रसिद्ध कँडेल राष्ट्रिय युवा स्रष्टा सम्मान चेतनाथ कँडेल हरित र सीता भण्डारी कँडेलले वि.सं.२०७४ सालमा स्थापना गरेका हुन् ।

