एघार वर्षीय अभिकको उपन्यास लोकार्पण
काठमाडौं । उमेरले जम्मा ११ वर्षका भए अभिक गौतम । कक्षा ५ मा अध्ययनरत अभिकले यही उमेरमा आफ्नो पहिलो उपन्यास पाठक माझ ल्याएका छन् । उनको त्यही पहिलो उपन्यास ‘द वाइल्ड्स एन्ड वन्डर्स अफ भेनुआ आइल्याण्ड’ एक विशेष समारोहका बीच ललितपुरमा लोकार्पण गरिएको छ । साहित्यकारहरू श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, छविरमण सिलवाल र स्रष्टा गौतम आफैँले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरेका हुन् ।
प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष एवं निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले यति सानै उमेरमा उपन्यास तयार पार्नु आफैंमा सानो सफलता नभएको बताउँदै नेपाली पाठक र साहित्यकारहरुको निम्ति यो गर्वको विषय भएको र गौतमबाट आफूले अरु कृतिको पनि अपेक्षा गरेको भनाइ राखे ।
विशिष्ठ अतिथि बरिष्ठ साहित्यकार एवं समालोचक प्रमोद प्रधानले कृतिमा यात्रा, रोमाञ्चकता, साहस सबै कुरा आएको चर्चा गरे ।
आफ्नो उमेरका बालबालिकाको मनोविज्ञान बुझेर लेखेको सो उपन्यासले लेखकको कल्पनाशीलता प्रष्ट पारेको उनले बताए । कम उमेरमै देखिएको सृजनात्मक क्षमता, कथाको संरचना र कल्पनाशील प्रस्तुतीको प्रशंसा गर्दै बालबालिकामा पठनसंस्कृति र सिर्जनशीलताको प्रवर्द्धनका लागि यस्तो पहल प्रेरणादायी रहेको प्रधानले उल्लेख गरे । विचित्र जनावर र छुट्टै संसारको निर्माण गरी उपन्यास सृजित भएको भन्दै सञ्चारकर्मी विन्देश दहालले अभिकले आमाको सम्मानभाव पनि प्रकट गरेको बताए ।
सुनकोसी वाङ्मयका प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले बालबालिकाको सृजनालाई महत्व दिने विद्यालय र परिवारप्रति धन्यवाद प्रकट गरे । कृतिकार अभिक गौतमले आफुले माया पाएर उत्साहित भएको भन्दै उपस्थित सबैलाई धन्यवाद दिए ।
भुँडीपुराण प्रकाशनका केशव पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निसर्ग वाटिका विद्यालयका प्रधानाध्यापक मोनिका प्रधान, साहित्यकार भारद्धाज मित्रले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नियात्राकार प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा लेखकका साना साना बहिनीहरु साम्राज्ञीसिंह कुँवर र अस्मि महतले पनि लेखकलाई बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा साहित्यकार,कृतिकारका परिवारका सदस्यहरु,निसर्ग वाटिकाका शिक्षक,शिक्षिका र विद्यार्थीहरुको बाक्लै उपस्थित रहेको थियो । साहसिक तथा कल्पनाशील कथामा आधारित जिज्ञासा, साहस र अनपेक्षित यात्रामार्फत जीवन रूपान्तरणका विषयलाई उजागर गरेको उक्त उपन्यास अविकले ९ वर्षको उमेरदेखि लेख्न सुरु गरेका थिए । कृतिलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
