शीर्षक: रिक्तताको महा-शून्य

-ब्रह्मदत्त वाग्ले/बेल्जियम

प्रिय !
तिमी ईश्वरको घर गएपछि
मेरो छातीभित्रको गर्भगृहबाट
अचानक एउटा प्रज्वलित दीप निभ्यो,
र सुरु भयो— मेरो जीवनमा अनन्त अमावस्या।

यो घर—
जसका भित्तामा अझै तिम्रो हाँसोको रङ उस्तै छ,
झ्यालका पर्दाहरूमा तिम्रै स्पर्शको सुगन्ध बाँकी छ,
तर आज यो घर, घर रहेन—
एउटा ‘असहाय टुहुरो’ जस्तो उभिएको छ,
जहाँ हरेक विहानी ‘अधुरो प्रार्थना’ जस्तै उदाउँछन्
र हरेक साँझ ‘विधवा’ बनेर
कौरव-सभाको द्रौपदीझैं करूण क्रन्दनमा ढल्छन्।

तिमी नहुनुको अर्थ—
यो वासस्थान अब विरहको ‘महा-श्मशान’ भएको छ,
जहाँ म जिउँदै चिता जलिरहेछु।
रात गहिरिँदा—
मेरो श्वासको ‘नाभी’ बाट कसैले तिम्रो नाम जप्छ,
त्यो स्वर मेरो होइन,
मेरै अन्तरकुन्तरमा गुन्जिरहेको तिम्रो ‘प्रेमको प्रतिध्वनि’ हो।

मान्छेहरू भन्थे— ‘समयले घाउ भर्छ’,
तर समय त ‘शिशिर’ बनेर आयो—
जसले मेरो जीवनको ‘बसन्त’लाई रित्तो बनाएर
मलाई एउटा ‘विराट शून्य’ मा हुत्याइदियो।

प्रिय !
अब सूर्य पनि ‘अपूर्णताको व्रत’ बसेर उदाउँछ,
र मलाई रित्तो पारेर अस्ताउँछ।
सिरानीमुनि लुकेका आँसुहरू
हरेक रात ‘मौनताको कफन’ ओढेर ब्युँझिन्छन्।

बुझ्दै छु आज—
प्रियजन गुमाउनु भनेको एउटा मान्छे हराउनु मात्र होइन रहेछ,
आफ्नै आत्माको ‘पवित्र अंश’लाई
कालको ‘अतल गर्भ’ मा विसर्जन गर्नु रहेछ।

अन्त्यमा—
जब म समयको त्यो ‘अँध्यारो नदी’ (वैतरणी) मा ओर्लिनेछु,
मेरो अन्तिम कम्पनमा तिम्रै नामको ‘राग’ होस्,
र मृत्युले पनि मेटाउन नसक्ने गरी
मेरो मौनताभित्र तिम्रै स्मृतिको ‘अमर दीप’ बलिरहोस्।

प्रतिकृया दिनुहोस्