(कविता)  कामना  ~कमला न्यौपाने  

(कविता)

कामना

~कमला न्यौपाने  

यतिबेला म
मेरो कविताको क्यानभासमा 
देशको नक्सा कोर्दै छु 

माटोको गीत गाउँदै, हिँड्दै छु 
सृजनाका कसीले नेपालको श्रृङ्गारमा लाग्दैछु 
देशलाई मुटुमा राखेर  
कर्णाली र सुनकोसीको नीलो अँगालोमा बग्दैछु

जहाँ जहाँ बग्छु म 
बुद्धको वाणी गाउनेछु 
शान्तिका दुई आँखाले 
सद्भावको मार्ग कोर्नेछु 

चाँदीको फेटा गुथेको हिमालझैँ 
सँधै अग्लो छाती बनाउनेछु
फैलाउने छु कृति देशको 
आकाशझैँ फराकिलो इतिहास कोर्नेछु 

लालीगुराँसको रातो रंग पोतिएको 
चन्द्र सुर्य झण्डालाई सधैँ राखेर शीरमा
हरपल म सपना देख्छु 
पौरखीको पसिनाले खेतमा रोपाँई गरेको
फाँटैभरि सुनका बाला लहलह झुलेको 

 

लाग्छ 
घामजूनझैँ चम्किला सिता र भृकुटी तारा बनू
सिमाना कटेर संस्कृतिको उज्यालो छरूँ
वीर पूर्खाको सन्तान हुँ म
यही माटोकै लागि मरूँ
कामना छ हृदयभरि
मरेँ भनेपनि
जन्मौ जन्म फेरि पनि यहि माटोमा परुँ

Kansas, USA 
Email : [email protected] 

 

प्रतिकृया दिनुहोस्