(कविता) गोवर्द्धन पूजा पीडा
कविता
गोवर्द्धन पूजा
पीडा
रात बाँकी छदै
चन्द्रमाले सुटुक्क भन्यो-
भोलिको बिहानीले फाटेको मन टाल्नुपर्छ
पीडाको पहाड पगाल्नुपर्छ
मैले एकपटक मनको डेरामा हेरें-
लम्पसार लथालिङ्ग थुप्रिएका
दुब्ला दु:खी सपनाहरू
बाँच्ने जिजीविषामा
तनावका तटबन्ध तोड्ने तयारीमा थिए
हाँस्ने उत्कट अभिलाषामा
विश्वासका विउ-बिजन जोड्ने तयारीमा थिए
स्वतन्त्रताको समुद्रमाझ
फक्रदै गरेकी “छोरी सपना”
आकाश ओढेर सुतेकी ‘ आमा विश्वास”सँग
वाँच्न पाउने नैसर्गिक अधिकार माग्दै थिई
र भन्दै थिई –
हिड्नुपर्छ , हिडेपछि गन्तव्य भेटिन्छ
पुग्नुपर्छ, पुगेपछि थकान मेटिन्छ ।
त्यतिबेला मलाई
कर्तव्यको झरीले निथ्रुक्क भिजायो
र आँखाभरिको समुद्र वाष्पीभूत भएर
उज्यालो लेपित दिन बनेर उदायो
मनका पाटाभरि झलमल्ल घाम लागे
जीवनका बाटाभरि असरल्ल खुशी जागे
साच्चै जीवन भोग्न-
सत्यको साबुनले हृदयको मैलो पखाल्नुपर्दो रहेछ
प्रेमको पहारले पीडाको पहाड पगाल्नुपर्दो रहेछ ।
त्यसैले जीवन बुझ्नेहरू भन्दा रहेछन –
अभावमा फाटेको मनलाई
धैर्यताका टालाटुलीले टालेपछि
फेरि कहिल्यै उध्रिदैन
फेरि कहिल्यै टुक्रिदैन ।
( भानुमोति काव्य पुरस्कार २०५७ प्राप्त कविता)