(कविता) लडाइँमा लाहुरेको गीत == रबिन शर्मा
(कविता) लडाइँमा लाहुरेको गीत
=================
रबिन शर्मा
बुट बजारेपछि जमिनमा
किन सुनिन्छ झरनाको लय<
किन आउँछ पहाडको खोलामा बग्ने
पानीको याद<
खै को हो कुवाको
छेउमा बन्दुक बिसायर
कटुसको पातले
तिर्खा मेटिरेछ कि
या सम्झिरहेछ आफ्नै पुराना दिन ।
छाती चौडा बनाएर
सास रोकेर दौडिएपछी
गल्लाको नजरमा परेको हो
एउटा ज्युँदो सहिद
जो अन्वरत परीक्षा दिइरहन्छ
के लाहुरे हुनु भनेको
मृत्यु पासको परीक्षा दिनु हो<
रोकेर आफ्नै सासलाई
म आफू आफू नै हुँ भनेर चिन्न
कस्तो परीक्षा दिनुपर्छ जिन्दगीको<
सास फेर्नु भनेको बाँच्नु मात्र हैन रहेछ,
सास नफेर्नु भनेको मर्नु मात्र हैन रहेछ ।
कोही मान्छे मृत्युपछि पनि बाँचेको छु भन्छ भने
कि तपाई झुट बोलेको हुनुपर्छ
कि तपाई युध्द होमिएको लाहुरे हुनुपर्छ ।
कोर्ट गार्डको ट्रेनिङमा
मैले सिकिसकेको छु आँखा नझिम्क्याई
दुस्मनलाई हेर्न
युद्धमा दुस्मनलाई जति प्रेमले हेरियो भने पनि
दुस्मन नै देखिने रहेछ
दुस्मनले पनि मलाई दुस्मन नै देख्छ
आखिर मेरो आँखामा ऊ दुस्मन हो
उसको आँखामा म दुस्मन हुँ
दुस्मनको पनि देश छ
दुस्मनको पनि घर छ
दुस्मनले पनि गीत गाउँछ
“म बाँचे फर्केर आउँछु आमा ”
एउटा दुस्मन बाँच्न चाहन्छ
र अर्को दुस्मन मर्न चाहँदैन
आखिर दुवै दुस्मनहरू सास फेर्छन्
वर्षौदेखि दबिएको आवाजमा
पिल्सिएको धुनमा
थिचिएको स्वतन्त्रता
कुन गीत गाउँछ होला<
खैँजडी आजभोलि बज्दैन
मुजुरा बजाउने हातहरू छैनन्
मादलको खरी खसेको छ
दमाहा, ढोलकी, कसले बजाउला <
सारङ्गी कसले रेटिदेला
यी हातहरूले त केवल
युद्धमा रगतको गीत गाए
आजभोलि मैले सारङ्गी रेट्न खोज्दा
युद्ध मात्र देख्छु
गाउँमा बसेर बाँसुरी बजाएजस्तो नहुने रहेछ ,
घेरै चिजहरूले
घर्षण र दबावपछि मात्र आवाज दिने रहेछन्
लाहुरे राइफललाई सिरानी राखेर
भुइँमा बस्यो भने
जमिनलाई देश सम्झन्छ
आकाशलाई स्वर्ग
लाहुरेले जाहाँ टेक्यो त्यहीँ देश बन्छ
लाहुरेको बुट जहाँ बजारियो त्यहीँ नक्सा बन्छ ।
लाहुरेहरूले गीत गाउनु पर्दैन
जङ्गलमा पेट्रोलिङ गर्दा
लाहुरेको स्वागतमा चराहरूले गीत गाइदिन्छन्
जङ्गलमा फुलेका फूलहरूले
प्रियसीको झल्को दिन्छन्
सुक्दैगरेका रुखहररूले
“आमा बा” लाई सम्झाउछन्
कोपिला लागेका फूलहरूले
छोरा छोरी
अनि झर्दैगरेका पातहरूले
आफ्नै जिन्दगी र भविष्य
झरेका पातहरूको आवाजमा
लाहुरे जिन्दगीको मिठो धुन सुनिरहन्छ
टिपेर झरेको पात
सुकेको रुखनजिकै बसी
हेरेर कोपिला अनि फुलेको फूल
लाहुरे एउटा गीत लेख्छ
झरेको पातमा पो आमा, जिन्दगी रहेछ ।
म हावामा नै हुनेछु आमा, तिमीले सास फेर्नू ।
चुवा पर्वत
हाल जापान