खेल
           —सुमन वर्षा

 

तिम्रो बेहुलाले
मेरी बेहुलीलाई
उनेर गलामा
पहिर्यााइदिएको बेली-चमेली
तिम्रो बेहुलाको अन्तिम बिदाइमा
तिमीले नै धागो छिनाइदिएपछि
छरिएकी छिन्
बेली-चमेली फूलहरू छरिएजस्तै
यहाँ / त्यहाँ
अनिश्चितता र अन्योलमा
रुमलिएकी छिन्
यता /उता ।

खरानीमा बेहुला विलीन भएपछि
कमजोर खेलौना बनाइएकी उनी
कहिले वल्लो किनारमा
कहिले पल्लो किनारमा
गहिर्याउँदै आफ्नो एकान्तलाई
बेरङ खेलहरूमा हुँदै छिन् समाहित ।

तिम्रो बेहुलाले सिउँदोमा
फुलाइदिएको लालीगुराँसले
धपक्कै फक्रिएको थियो
ओठमा गुलाफ मेरी बेहुलीको
तिम्रो बेहुलाको अन्तिम बिदाइमा
मेरो बेहुलीको सिउँदोको गुराँस
तिमीले खोसेपछि
मुर्झाएका छन्
उनको ओठको गुलाफ ।

शून्यताको गुम्बज
बनेको छ उनको मस्तिष्क
डुब्दै छन् आँखाबाट उज्यालो
निराशा छाएको छ
उनको मनमा
शास्त्रका सूक्तिहरू
मच्चाउँदै छन् सनसनी
उनका कान वरिपरि पाखण्ड
अनि सिकाइरहेछ
उनलाई नीतिनियम ।

मलाई सम्झना छ
त्यो दिन
हामीले ईश्वर साक्षी राखेर
खेलेका थियौँ
जीवनका भाँडाकुटी
उक्त खेलमा
तिमी बेहुला लिएर आएका थियौ
मैले आफ्नै हातले सिँगारेर
सजाएकी थिएँ मेरी बेहुली ।

मायाको चिनो भनेर
बेली-चमेलीको माला
लगाइदिएका थिए
र सिउरिदिएका थिए
सिउँदोमा गुराँस
तिम्रो बेहुलाले
मेरी बेहुलीलाई ।

खु्ब रोएकी थिइन्
मेरी बेहुली
तिम्रो बेहुलासँग
मायाको चिनो साट्न
नपाएकोमा ।

तिम्रो बेहुलाको उदारतामा
नतमस्तक हुँदै
सम्पूर्ण जीवन नै
समर्पण गरिदिएकी थिइन्
मेरी बेहुलीले
तिम्रो बेहुलालाई ।

त्यस दिनदेखि
मेरी बेहुलीले
उनको शरीर
आत्मा र मस्तिष्कमा
उनको बेहुलालाई राखेर
यति बुझ्न पाएकी थिइन्
हरेक हावाले
उनीहरू दुवैलाई
एकैसाथ छुन्छ
प्रत्येक थोपा पानीले
उनीहरू दुवैलाई
भिजाउँछ समान ।

तर जब
मानव सभ्यतालाई
सिञ्चन गर्दै
चुपचाप बगेका
पृथ्वीका सम्पूर्ण नदीहरूमा
तिमीले स्वार्थको
नीति-नियम लादेर
पानीमा समेत मेरी बेहुलीलाई
विभेद गर्यौ
आफूले चाहेजसरी
पानी उपभोग गर्नबाट
वञ्चित गर्यौ
तब पो उनले बुझिन्
हामीले खेलेको जीवनको
भाँडाकुटी खेलमा
शकुनीलाई मात दिने
कति खतरनाक रहेछ छल र कपट ?

मेरी बेहुली हाम्रो खेलको
निरीह मोहोरा बनेकी रहिछन्
अनि मायाको नामका खेलाडीहरू
कति स्वार्थी रहेछन् ?

यद्यपि
तिम्रो बेहुलाले दिएको उपहारले
पुलकित थिइन् मेरी बेहुली
अपसोच
तिमीले नै तिम्रो बेहुलाको
बिदाइमा जब खोसेर लग्यौ
सबै प्रिय उपहार
मेरी बेहुलीको
र भन्यौ
उसैलाई फिर्ता दिन
उनका खुसीहरू
फेरि ट्याग पनि लगाइदियौ
विधवाको
तब यस्तो लाग्यो
तिमी स्वार्थी हौ वा तिम्रो बेहुला ।

यति बेला तिम्रो बेहुलाले
उनकी बेहुलीलाई
देखे भने
प्रश्न गर्नेछन्
चिताबाटै चिच्च्याएर भन्नेछन्
‘अबदेखि कसैले नदिनू बरु
फेरि आफैंले खोसेर
फिर्ता लैजानुपर्ने
नामका उपहारहरू
मलाई त्यति
नीच र निर्लज्ज पुरुष
बन्नु छैन ।’

कवि सुमन वर्षा अनेसास नेपाल च्याप्टरको बोर्ड सदस्य हुनुहुन्छ भने पशुपति बहुमुखी क्याम्पसमा अङ्ग्रेजी विषय अध्यापन गर्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्