पदम विश्वकर्मा साहित्य प्रतिष्ठानद्वारा पुरस्कार वितरण तथा कृति प्रकाशन
काठमाडौं २४, शुक्रबार, पदम विश्वकर्मा साहित्य प्रतिष्ठान तथा नेपाल दलित तथा संस्कृति प्रतिष्ठानको आयोजनामा प्रतिबन्ध कथासंग्रहको लोकार्पण तथा स्रष्टासम्मान एवं पुरस्कार वितरण समारोह सम्पन्न भयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटीका अध्यक्ष एवं पदम विश्वकर्मा साहित्य प्रतिष्ठानका संस्थापक पदम विश्वकर्माको उपस्थितिमा उक्त समारोह भएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा भएको उक्त समारोहको सभापतित्व नेपाल दलित तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बरालीले गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष डा. मानबहादुर विश्कर्माले स्वागत मन्तव्य तथा प्रतिष्ठानका विषयमा पदम विश्वकर्माको मन्तव्यपश्चात प्रतिष्ठानबाट प्रकाशित कृति प्रतिबन्ध कथासंग्रहको लोकार्पण प्रमुख अतिथि भुपाल राईलगायत मञ्चासीन सबैबाट गरेर समारोहको उद्घाटन गरिएको थियो ।
साहित्यकार सम्पादक रमेश दाहालको सम्पादन रहेको उक्त कृतिभित्र भेदभावविरुद्धका २० ओटा कथाहरु संगृहीत छन् ।
प्रतिष्ठानले गरेको विद्यालय स्तरीय राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम द्वितीय र तृतीय भएका कविताका सर्जकलाइ क्रमशः नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
पुरस्कृत कविताका स्रष्टाहरु तृतीय हुने रुपेश सदाय, द्वितीय हुने नविना लम्जेल र प्रथम हुने सलिना वि.कले पुरस्कृत कविता वाचन गरेका थिए ।
प्रतिष्ठानले जातीय भेदभावविरुद्ध सशक्त कलम चलाउने सामाजिक अभियन्ता एवं साहित्यकार डिकबहादुर विश्कर्मालाई नगद राशीसहित सम्मान पत्र अर्पण गरिएको थियो भने प्रतिष्ठानका अध्यक्ष एवं नेपाल सरकारका पूर्व सचिव डा. मानबहादुर विश्वकर्माद्वारा स्थापित भीम माया स्मृति प्रतिष्ठानले सञ्चारक्षेत्रबाट भेदभावविरुद्ध अभियान चलाएबापत चन्द्रमान विश्कर्मालाई नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
समारोहमा पूर्व राजदुत तथा छनौट समितिका संयोजक पद्म सुन्दास, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य बाबा बस्नेत, पञ्चकुमारी दर्जी, ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रीमिनेशनका वरिष्ठ उपाध्यक्ष मोती नेपाली, कविता प्रतियोगिता व्यवस्थापन समितिका संयोजक आर.बि. निश्चलले शुभकामना मन्तव्य दिएका थिए ।
समारोहमा नेपाल साहित्यिक प्रत्रकार संघका अध्यक्ष एवं अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली साहित्यकार प्रतीक ढकाल, ममता मृदुल, पुष्कर लोहनी, महेश पौड्याल, राजकुमार बानिया, विमल भौकाजी, मदानी मुभी एण्ड इन्टरटेन्टमेन्टका संचालक अनन्त तिमल्सिना, नवीन पुरी, कृतिका भट्टराईलगायतको आतिथ्यतामा उल्लेख्य सहभागीहरुका बीच सम्पन्न भएको थियो ।
नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा भएकोको समारोहको संचालन रणबहादुर रम्तेलले गरेका थिए ।