स्रष्टा एवम् रङ्गकर्मी केदार श्रेष्ठलाई यस वर्षको मोती पुरस्कार प्रदान गरिने
२०८१ भाद्र कृष्णाष्टमी
राष्ट्रिय युवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको युवावर्ष मोती पुरस्कार यस वर्ष स्रष्टा एवम् रङ्गकर्मी केदार श्रेष्ठलाई प्रदान गरिने भएको छ।
वरिष्ठ साहित्यकार प्रा. रामकुमार पाँडेको संयोजकत्वमा गठित मूल्याङ्कन समितिको सिफारिसअनुसार वि. सं २०८१ को युवावर्ष मोती पुरस्कार श्रेष्ठलाई प्रदान गरिने निर्णय भएको हो।
युवा कोषका सद्स्य सचिव डा. विष्णुबहादुर भण्डारीको हस्ताक्षरित विज्ञप्तिमा कोषले श्रेष्ठलाई रू. चालिस हजार नगदसहित प्रदान गरिने कुरा उल्लेख गरिएको छ।
श्रेष्ठ बालसाहित्य क्षेत्रमा कथा लेखन, कथा–कथन, बालनाटक/चलचित्र लेखन, निर्देशनमा सक्रिय रहेका छन् । साथै सर्जक श्रेष्ठ समकालीन कला–साहित्य क्षेत्रमा प्रतिवद्ध युवा रङ्गकर्मीको रूपमा परिचित रहेका छन् ।
उनका प्रकाशित पाँच बालपुस्तकमध्ये गुलियो स्याउ, आइसक्रिम सपना नेपाली बालसाहित्य क्षेत्रमा चर्चित छन् । रङ्गमञ्चमा परिकल्पनाकार तथा निर्देशकका रूपमा सक्रिय श्रेष्ठ थिएटर मल नाटकघर र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालका संस्थापक तथा कला निर्देशकसमेत हुन् ।
अन्तर्राष्ट्रिय पुरस्कार विजेता लघु चलचित्र ‘जुनुको जुत्ता’को निर्माता, निर्देशक रहेका श्रेष्ठ पछिल्लो समयमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत कथानक चलचित्रहरू ‘ऐना झ्यालको पुतली’ र ‘गाउँ आएको बाटो’को कास्टिङ निर्देशक पनि हुन् ।
साहित्य लेखनबाहेक विविध साहित्यकर्म गर्दै मोतीरामीय गुणले भाषा- साहित्यको उन्नयनमा विशेष योगदान दिएका स्रष्टाहरूलाई प्रदान गरिने मोती पुरस्कार पाउने प्रथम स्रष्टा कवि, गीतकार दैवज्ञराज न्यौपाने थिए। गत वर्षको मोती पुरस्कार कवि, गीतकार एवम् अनुवादक प्रमोद सारंगलाई प्रदान गरिएको थियो। मोती पुरस्कारको इतिहासमा रङ्गमन्चमा समर्पित स्रष्टाहरूमा सरूभक्त, अशेष मल्ल र अविनाश श्रेष्ठपछि यसपटक केदार श्रेष्ठले मोती पुरस्कार प्राप्त गरेका छन्।
प्रतिकृया दिनुहोस्