अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको अध्यक्ष लालगोपाल सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकले विष्णुमाया ‘विभु’ र सीताराम थापालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेको छ।

अनेसासको विधानअनुसार केन्द्रीय कार्यसमितिको अनुमोदनमा अध्यक्षले दुई जना सदस्य एक महिला र एक पुरुष मनोनयन गर्ने प्रावधान रहेको छ। सोही प्रावधानअनुसार विभु र थापालाई सदस्यमा मनोनित गरिएको हो।

मनोनित सदस्य विष्णुमाया ‘विभु’ अनेसास नर्वे च्याप्टरकी पूर्वअध्यक्ष हुन् भने सीताराम थापा अनेसास कतार च्याप्टरका पूर्वअध्यक्ष हुन्। दुवै जना लामो समयदेखि अनेसासका गतिविधि तथा नेपाली भाषा-साहित्यको प्रवर्द्धनमा सक्रिय रहँदै आएका छन्।

अनेसासको १७ सदस्यीय केन्द्रीय कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, पाँच भौगोलिक क्षेत्र- ओसियानिया, एसिया, अफ्रिका, युरोप र अमेरिकाका उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित सात जना सदस्य रहने व्यवस्था छ। सात सदस्यमध्ये पाँच जना निर्वाचनबाट निर्वाचित हुने र दुई जना अध्यक्षबाट केन्द्रीय कार्यसमितिको अनुमोदनमा मनोनित हुने व्यवस्था रहेको छ।

गत निर्वाचनमा अफ्रिका क्षेत्रको उपाध्यक्ष पदका लागि कसैको उम्मेदवारी नपरेकाले उक्त रिक्त पदमा विधानअनुसार उपयुक्त व्यक्तिलाई मनोनयन गरी केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने निर्णयसमेत बैठकले गरेको छ।

प्रतिकृया दिनुहोस्