भानुजयन्तीको अवसरमा हजुरबा-आमा दिवस मनाउने घोषणा

बिहिवार जुलाई १४।२०२२ तदनुसार आषाढ ३१।२०७९का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानडाले २०९औँ भानुजयन्ती मनायो ।

अनेसास क्यानडाका अध्यक्ष तारा उप्रेतीको अध्यक्षता र सहजतामा भएको उक्त कार्यक्रममा विभिन्न कविहरूले आआफ्ना कविताहरू वाचन गरेर सुनाएका थिए । बालकवि सम्राट सङ्ग्रौलाले “भानुभक्त अहिले भएको भए” भन्ने शीर्षकको कविता सुनाए भने पंण्डित धर्मदास शास्त्रीले “म सिन्धूको विन्दू” गीत गाएर सुनाएका थिए । त्यस्तै कवि प्रजापति सुवेदीले “भानुजयन्ती” शीर्षकमा कविता वाचन गरे ।

कवि रन्जना कार्कीले “मेरी छोरी र प्रथम रजश्वला” शीर्षकको मार्मिक र चेतनामूलक कविता सुनाइन् । कवि तथा गीतकार सुरेन उप्रेतीले “तिमी कोहौ” र “स्वाधिनता” बिषयमा लेखिएका दुई गीतहरू सुनाएका थिए ।कवि संस्कृति बुढाथोकीले आदिकविको “एकदिन नारद सत्यलोक पुगगया लोकको गरौँ हित भनी” शार्दूलविक्रीडित छन्दको कवितालाई लयबद्ध वाचन गरेर सुनाइन् । कार्यक्रममा नवीन सुवेदी, विकाश चुँडालको पनि सहभागिता रहेको थियो ।

 मन्तव्यका क्रममा सुरेन उप्रेतीले; नेपालमा चेलीहरूका लागि तीज चेलीमाईतीहरूका लागि तिहार आमाहरूका लागि मातातीर्थ औँसी बुबाहरूका लागि कुशेऔँशीजस्ता पर्वहरू रहेका छन् तर हजुरआमा र हजुरबुबाहरूका लागि त्यस्ता कुनै दिन छैनन् ।

नातिनातिनाहरू र हजुरबाआमाको दूरी टाढा हुँदै गएको छ । हजुरबा र हजुरआमाहरूले आफ्ना छोराछोरीभन्दा नातिनातिनाहरूलाई अझ मुटुकै एक अंश ठान्दछन् अतः यो दुईटा पुस्तालाई जोड्न हजुरबाआमा दिवस मनाउनुपर्छ भनेका थिए । उप्रेतीले हरेक वर्ष मङ्सिरको तेस्रो शनिवारलाई हजुरबाआमा”दिवस मनाउने प्रस्ताव राखेका थिए । उक्त  प्रस्तावलाई कार्यक्रमबाट सर्वसम्मतबाट पारित गरिएको थियो ।

हरेक परिवारले र विद्यालयहरूले त्यस दिनलाई नातिनातिनाहरूसँग भेट गराउने कुरा गराउने, मिठामिठा परिकारहरू बनाएर ती दुवै पुस्ताहरूलाई सँगै खाने-खुवाउने, हजुरबाआमाहरूलाई उपहारहरू दिनेजस्ता परम्परा सुरू गर्नुपर्ने सहभागीहरूले बताएका थिए ।

कार्यक्रममा भानुभक्तका सातौँ पुस्ताका डा सन्तोष उपाध्यायले आदिकवि भानुभक्त आचार्यको बारेमा प्रकाश पारेका थिए । तनहुँको रम्घामा पण्डित कृष्णप्रसाद आचार्यका छोरा धनन्जय आचार्यकी धर्मपत्नीका कोखबाट १८७१ आषाढ २९ गते जन्मिएका भानुभक्तको न्वारानको नाम भने देविभक्त थियो ।

धनन्जय आचार्य २८ वर्षको हुँदा पनि सन्तान भएनन् । त्यो समयमा बालविवाहको प्रचलन विद्यमान थियो । १८-२० वर्षमा सबैका सन्तान भइसक्थे । अठ्ठाईस वर्षको हुँदासमेत सन्तान नभएपछि उनले सूर्यको व्रत तलिएर  सूर्य उपासना गरे । बाह्रवर्षपछि उनी ४० वर्षको हुँदा देवीभक्तको जन्म भयो । धनन्जयले सू्र्यको आराधना गरेर जन्मिएको हुनाले उनलाई भानुभक्त नाम राखियो । संस्कृत भाषामा सूर्यलाई ‘भानु’ भनिन्छ । उनको बाल्यकाल शिक्षा-दिक्षा भने हजुरबुबा पण्डित कृष्णप्रसाद आचार्यबाट भयो । त्यसताकाका विद्वान् र कृति फैलिएका पण्डित कृष्णप्रसाद काँशीसम्म गएर पठनपाठन गर्दथे । उनका बुबा धनन्जय आचार्य पनि पढेलेखेका हुनाले खरदार भएर सरकारी जागिर खान्थे । भानुभक्तले हजुरबासँगै काँशीमा गएर अध्ययन गर्ने अवशर प्राप्त गरे ।

कार्यक्रममा अनेसास क्यानडाका पूर्वअध्यक्ष डाक्टर भानुभक्त आचार्यले भानुजयन्तीलाई साहित्यिक कार्यक्रम गरेर मात्र भानुभक्तप्रति श्रद्धा पुग्दैन, अब कसरी नेपाली भाषा र साहित्यलाई संरक्षण र सम्वर्धन गर्ने विषयमा सोच्नुपर्ने बेलाआएको छ भनेर भानुबारे चिन्ता व्यक्त गरे ।

अनेसास, गैरआवासीय नेपाली संघ (एनआरएन) नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल सरकारबाट नेपाली भाषालाई जोगाउन पहल गरिनुपर्छ भन्दै निम्नानुसारका बार्हबूँदे उपायहरू प्रस्तुत गरिएको थियो ।

१. नेपाली भाषामा बढ्दो अङ्ग्रेजीकरणले झर्रो नेपाली भाषाको स्वाद खोज्न सिक्किम दार्जिलिङ जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । सञ्चारमाध्यममा अङ्ग्रेजीकरण बढेकाले पाठक/श्रोतामा पनि त्यस्ता शब्दको प्रयोग बढेको हुनसक्छ । त्यसको न्यूनीकरणका लागि नेपालका सञ्चारमाध्यमले नेपाली भाषामा प्रयोग गर्न सकिने अवस्था रहेसम्म नेपाली भाषा नै प्रयोग गर्ने नीति अवलम्बन गर्नुपर्छ । यसका लागि नेपाल पत्रकार महासंघको समेत पहलकदमी आवश्यक छ ।

२. नेपालका विश्वविद्यालयमा पढाइ हुने भाषा विषय बाहेक अन्य जुनसुकै विषयमा नेपाली भाषामा पढ्न, परीक्षा दिन र थेसिस गर्न पाउने कानुनी व्यवस्था हुनु आवश्यक छ । अङ्ग्रेजीमा मात्रै प्रश्न सोध्ने वा थेसिस अङ्ग्रेजीमा लेख्न बाध्य पार्ने विभागहरुलाई तत्कालै नियम सच्याउन सम्बन्धित निकाय वा मन्त्रालयको निर्देशन आवश्यक छ ।

३. भारत, भुटान, थाइल्यान्ड, बर्मालगायत संसारभरिका नेपालीमूलका मानिसले नेपाली भाषा सिक्न नेपाल आउने र त्यसअनुसारको कोर्स तयार गरेर विश्वविद्यालय र प्रज्ञा-प्रतिष्ठानहरूले यथाशीघ्र लागू गर्न आवश्यक छ ।

४. नेपालभित्र लेखिने साइनबोर्ड, सूचनापाटी आदिमा सरकारी वा औपचारिक कागजात बनाउँदा अन्य जुनसुकै भाषामा लेखिएको भए पनि नेपालीमा समेत लेख्नै पर्ने कानुन निर्माण गरी नेपाली भाषालाई वास्तविक सम्पर्क भाषा बनाउन आवश्यक छ ।

५. नेपालभित्रका विश्वविद्यालय वा अन्य शिक्षण संस्थामा नेपाली भाषाको अध्ययन र प्रवर्धन गर्न आउने विदेशी विद्यार्थी, शोधार्थी आदिलाई भाषा उत्थानसम्बन्धी छात्रवृद्धि उपलब्ध गराउन आवश्यक छ ।

६. भुटानमा रहेका नेपाली भाषी समुदायका बालबालिकालाई त्यहाँको विद्यालयमा नेपाली भाषा पठनपाठन गर्न त्यहाँको सरकारले झन्डै दुई दशकदेखि बन्देज लगाएको छ । त्यसलाई खुलाउनेतर्फ नेपाल सरकार र नागरिक तहबाट समेत पहल हुन जरुरी छ ।

७. फिजीमा रहेका नेपालीमूलका मानिसहरूलाई नेपाल सरकारकै तर्फबाट औपचारिक भाषा शिक्षाका लागि आवश्यक पहल गर्न जरुरी छ ।
८. अन्तर्राष्ट्रिय साहित्यलाई नेपाली भाषामा र नेपाली साहित्यलाई अङ्ग्रेजीलगायत बढी बोलिने अन्तर्राष्ट्रिय भाषाहरूमा अनुवाद गर्न अभियानकै रुपमा नेपाल सरकार र नागरिक स्तरको पहलकदमी आवश्यक छ ।

९. युरोप, अमेरिका, अष्ट्रेलियालगायतका देशमा नेपालीमूलका बालबालिकालाई उनीहरूका अभिभावक र स्थानीय संघसंस्थाको पहलमा हप्ताको एक-दुई दिन नेपाली सिकाउने गरिएको छ । त्यसको स्तरीकरण र एक रूपताका लागि नेपाल सरकारका सम्बन्धित निकायले गैह्रआवासीय नेपाली संघसँग मिलेर पहल गर्न जरुरी छ ।

१०. नेपालभित्र र बाहिरी मुलुकमा समेत नेपाली भाषा प्रवर्धन गर्नका लागि हरेक वर्ष अन्तर्राष्ट्रिय नेपाली सम्मेलनको आयोजना गर्न सकिन्छ । त्यसका लागि विश्वभरि सञ्जाल रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र गैह्रआवासीय नेपाली संघमार्फत् पहल गर्न सकिन्छ।

११. नेपालमा काम गर्न आउने विदेशी कामदारहरूलाई न्यूनतम नेपाली भाषा जान्नै पर्ने व्यवस्था लागू गरी नेपाली भाषाका मानक कक्षाहरू (बेलायती आइएलटिएस वा अमेरिकी टोफलजस्तै) सञ्चालन गर्न सकिन्छ । त्यसले नेपाली भाषाको स्तरीकरण र विश्वव्यापीकरणमा मद्दत पुग्छ ।
१२. नेपालीमूलका विदेशी बालबालिकालाई नेपालमा छोटो अवधिका आवासीय नेपाली भाषा कक्षा (१ महिने, दुई महिने, तीन महिने) सञ्चालन गरी नेपालमा पर्यटन प्रवर्धन र विदेशमा नेपाली भाषा प्रवर्धन गर्न सकिन्छ ।

      कार्यक्रममा अनेसास केन्द्रका पूर्वमहासचिव एवम् अनेसास क्यानडाका संस्थापक अध्यक्ष तथा सल्लाहकार सुरेन उप्रेतीले नेपाली भाषा र साहित्यको महत्व र भानुभक्तको देनका बारेमा प्रकाश पारेका थिए । अनेसासकी अध्यक्ष तारा उप्रेतीले छोटो र व्यस्त समयमा पनि उपस्थित भएर नेपाली भाषा, साहित्य र भानुभक्तप्रति श्रद्धा दर्शाउने सबैलाई धन्यवाद दिएका थिए ।

प्रतिकृया दिनुहोस्