अनेसासका पूर्व अध्यक्ष एवं वरिष्ठ साहित्यकार प्राध्यापक मोहन सिटौला एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्। उनलाई डा एपीजे अब्दुल कलाम फाउन्डेसनले भारतको कोलकातामा आयोजना गरेको ९३ औँ जन्मजयन्त्तीको अवसरमा सम्मान गरिएको हो।
कलाम आधुनिक एरोस्पेसका शीर्ष वैज्ञानिक र ‘मिसाइल म्यान अफ इन्डिया’ समेत रहेका थिए। उनी भारतका ११ औँ राष्ट्रपति भएका थिए र ज्यादै लोकप्रिय उनलाई “जनताका राष्ट्रपति” पनि भनिन्थ्यो।
कलामले ‘ग्रिन टेक्नोलोजी’को अभिनव अभियान पनि सुरु गरेका थिए। उनको सन् २०१५ मा निधन भएको थियो।
फाउन्डेसनले गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि मेघालय विधान सभाका अध्यक्ष थोमस ए सांग्मा थिए।
कोलकताका एक प्रसिद्ध पुर्खौली समाजसेवी परिवारका सन्तति तथा सो फाउन्डेसन (प्रतिष्ठान) का संस्थापक महासचिव अब्दुल खलिकको सभापतित्वमा सो साहित्यिक र सम्मान कार्यक्रम सम्पन्न भएको थियो।
प्रा सिटौलालाई प्रमुख अतिथि थमस ए सांग्मा तथा फाउन्डेसनका अन्तर्राष्ट्रिय सल्लाहकार तथा कार्यक्रमका संयोजक प्रदीप खनालले सो सम्मान प्लाकहरू प्रदान गरेका थिए।
यसअघि सोही दिन फाउन्डेसनले अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रमको उद्घाटन गरी सञ्चालन गरेको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रा सिटौलाले सम्बोधनसमेत गरेका थिए।
नेपाली साहित्यलाई विश्वस्तमा पुर्याउन तथा पूर्व र पश्चिमका प्राचीन एवम् आधुनिक साहित्यलाई अङ्ग्रेजी र नेपाली भाषामा तुलनात्मक समालोचना र प्रवचनका माध्यमले जनमानसमा आपसी निकटतम ल्याउन सिटौलाको भूमिका अहम् छ। उनलाई केही अमेरिकी संस्थाले “कवि राजदूत” को उपाधिले सम्मान गरेको पनि निकै पहिले नै हो। गत वर्ष मात्रै उनले दुई हजार डलरको अनेसास सुनिल पाठक विशिष्ट पुरस्कार पनि पाएका थिए।
यस अघि सिटौलाले
-महाकवि देवकोटा राष्ट्रिय पुरस्कार— नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय —२०७७
-आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार,नेपाल सरकार —२०७१
-युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ बाट सम्मानित भएका थिए ।
यो अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कार भाषा, साहित्य, संस्कृति, ज्ञान, विज्ञान र सङ्गठनका माध्यमले अन्तर्राष्ट्रिय मानवीय सभ्यता र भाइचाराको सद्भाव फैलाउन तथा व्यापक संस्कृति र प्रकृतिको समन्वयात्मक संरक्षण एवम् संवर्द्धन गर्न योगदान दिने व्यक्तित्वलाई प्रदान गरिन्छ।
नेपालमा रहँदा सिटौलाले त्रिविमा प्राध्यापन तथा केन्द्रीय प्राज्ञिक प्रशासनका अतिरिक्त केही क्याम्पसको प्रशासनिक नेतृत्व समेत गरेका थिए। सिटौला निबन्ध, समालोचना, गद्य, पद्य कविता सङ्ग्रह, गीति कविता र महाकाव्य समेत गरी एक दर्जन भन्दा बढी पुस्तक लेखिसकेका र अझै पनि सक्रिय ८२ वर्षीय सिटौला विश्वमा हुने गरेका अनेसासका विविध कार्यक्रममा भाग लिने गर्छन् र लेखनमा पनि त्यत्तिकै लगनशील छन्।
यसका अतिरिक्त सिटौला अमेरिका गए पछि अनेसासका पूर्व केन्द्रीय अध्यक्ष पनि भएका हुन् र त्यस संस्थाबाट व्यापक रूपमा ठुलो योगदान पुर्याएका हुन्।
स्रष्टा साँझ अमेरिका पनि उनको अर्को लोकप्रिय र प्रसिद्ध कार्य क्षेत्र हो।
यस्तो छ सिटौलाले पाएका पुरस्कारहरूको छोटो पृष्ठभूमि:
विसं २०२४ सालमा काठमाडौँमा सम्पन्न देशव्यापी नेपाली निबन्ध प्रतियोगितामा प्रथम, स्वर्ण पदक र नगद पुरस्कार ।
–हालसम्म अनेसास लगायत नेपाल सरकार, त्रिवि, नेपाल, भारत र अमेरिकाका विभिन्न नेपाली अन्य साहित्यिक सङ्घसंस्थाबाट लामै समयदेखि बारम्बार सम्मानित र पुरस्कृत हुँदै आएको ।
—राष्ट्रिय शिक्षा दिवस पुरस्कार (शिक्षा मन्त्रालय, श्री ५ को सरकार) —२०४३
—अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्कृष्ट सेवा सम्मान (प्लाक)— अनेसास—२००५
—आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार,नेपाल सरकार —२०७१
—अनेसास हिरो पदवीबाट सम्मानित (जापान) —२०१५
—स्रष्टा साँझ सम्मान – २०१८
—महाकवि देवकोटा राष्ट्रिय पुरस्कार— नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय —२०७७
—दाजीलिङ्ग, सिक्किम, आसाममा सम्मानित —२००८
—विश्व भुटानी साहित्यिक सङ्गठन (GBLO) बाट पेन्सिलभेनियामा सम्मानित —मार्च २२/२०२२
—अनेसास के का तारा किसनधामी पुरस्कार (२०२३) ।
—अभिवादन प्रतिभा पहिचान प्रतिष्ठान काठमाडौँबाट मोहन सिटौलालाई अभिवादन —२०७२ असार ।
—नइ देरुनिख अन्तर्राष्ट्रिय साहित्यिक व्यक्तित्व सम्मान र २ लाख नगद पुरस्कार— २०७९–२०२२ ।
—लीलाध्वज थापा साहित्य प्रतिष्ठान, काठमाडौँ— स्रष्टा—सम्मान—२०७९–२०२२ ।
—नइ काठमाडौँबाट साहित्यकार मोहन सिटौलालाई ‘नइ कीर्ति रत्न’ को उपाधि प्रदान — २०७९–२०२३ ।
—अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को २०७९–२०२३ मार्च मा बोष्टनमा सम्पन्न भएको पाँचौँ च्याप्टर र महिला भव्य सम्मेलनमा मोहन सिटौलालाई अनेसास (केन्द्रीय समिति) ले ‘साहित्य रत्न’ को उपाधि लगायत किसान तारा धामी ५०० डलर नगद पुरस्कार प्रदान गरेर सम्मान गरिएको ।
—युगकवि सिद्धिचरण राष्ट्रिय पुरस्कार— नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय — असार २०८० ।
—अनेसास सुनिल पाठक विशिष्ट पुरस्कार —जुलाई २०२३ विशेष उल्लेखनीय रहेका छन् ।
– एपिजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कार २०२४