अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले मनायो देवकोटा जयन्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्र तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको संयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइयो । केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्व तथा वरिष्ठ साहित्यकार कृष्णहरि बरालको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी कार्यक्रमको शुरुवात गरियो भने नेपाली भाषा पाठशालाका विद्यार्थीहरूद्वारा नेपाली तथा अमेरिकी राष्ट्रिय गान प्रस्तुत गरियो । 

देवकोटाको तस्विरमा पुष्पार्पण गरी कार्यक्रमलाई अगाडि बढाइयो । प्रमुख अतिथि प्राडा कृष्णहरि बरालले देवकोटाको बहुआयामिक योगदानबारे छर्ल्याङ्याउदै प्रवासी श्रष्टाले अध्ययन र साधनाद्वारा आफ्ना रचनाको स्तर वृद्धिबारे ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
सभापतिको आसनबाट बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अर्काइभका माध्यमबाट नेपाली श्रष्टाका हरेक कृतिलाई हजारौँ वर्ष सुरक्षित राख्ने अभियान अगाडि बढाउने योजना रहेको खुलासा गरे । बोर्ड अफ ट्रष्टिजका सभापति पदम विश्वकर्माले देवकोटा जयन्ती र भानु जयन्ती विशेष कार्यक्रम गरी मनाउने परम्परालाई विगत ३० वर्षदेखि नै निरन्तरता दिई प्रवासमा भाषा साहित्यलाई दोस्रो तेस्रो पुस्तामा हस्तान्तरण गर्ने कार्यमा अनेसासले नैँ नेतृत्व गरिरहेको तथ्य प्रस्तुत गरे । केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले देवकोटाको साहित्यिक योगदानबारे चर्चा गर्दै कवितामा जत्तिकै महाकविले योगदान निवन्धमा पनि दिएको तथ्य औँल्याए । केन्द्रीय कार्यसमिति उपाध्यक्ष (अमेरिका क्षेत्र) सुदीपभद्र खनाल, बिओटी कोषाध्यक्ष नेत्रबन्धु पोखरेल तथा पूर्व केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले देवकोटा जयन्तीबारे छोटो मन्तव्य व्यक्त गर्दै आ-आफ्नो रचना वाचन गरे ।
साहित्यकार मिलन कोइरालाले प्रमुख अतिथि डा. बरालको गीत, गजल र समालोचनाको क्षेत्रमा दिएको योगदान र महाकवि देवकोटाको जीवनीबारे प्रकाश पारे । देवकोटालाई विभिन्न कवि, गजलकार, गायकहरूबाट आ-आफ्ना रचना वाचन तथा गायनद्वारा श्रद्धा भाव व्यक्त गरियो । यसरी रचना वाचन र गायन प्रस्तुत गर्नेहरूमा भूपेन्द्र महत, देव भट्टराई, सिर्जना अर्याल, रमेश गुरुङ, श्री पोखरेल, मनोजकाजी तुलाधर, मनोजराज शिवाकोटी, लाल चौलागाईं आदि थिए ।

प्रतिकृया दिनुहोस्