तोरण
      शान्ति रिसाल

तोरण

सम्झौता र सन्धिका तोरण
पुग्दैन झुण्डिएर, अब मलाई
हेलियोग्राफमा समेटिएकी हाम्री आमाको मुहार
लिम्पियाधुरा र लिपुलेकमा मुस्कुराइरहेको चाहिन्छ,

अधिकारको सीमा
शक्तिको परिधि भन्दा परपर
हजारौँ मृत्युसँग पौँठेजोरी खेल्दै
जीवनको शङ्खनाद गर्दै
आमा हाम्री ! मुहार मुस्कुराइरहेको चाहिन्छ ।

दुख्यो घाउ कहाँ ?
दुख्यो किन र कति ?
दुखायो कसले ?
ह्याकायनको पुञ्जबाट, युगमेलाको कुञ्जाबाट
ब्यास प्रगन्नाको गुञ्जनबाट
गुञ्जिरहेछन् ००००००००, गुञ्जिरहन्छन् …….=
कटी, नाबी, गुञ्जी, टिङ्कर र छाङहरू,
भरिरहेछन् सङ्गीत गब्र्याङ नब्यालर लिम्पियाधुराहरु
अनन्त ऊर्जा
उमङ्ग र आस्था बिनाको, उत्सवको मूल्य नरोज्दै
आगो अँगाल्यो तनले
प्रमिथसको झैँ आगोको न्यानो खोज्दै, खोज्दै ! ! ! ! !

पुग्दैन सन्धि र सम्झौताको तोरण झुन्डिएर
हेलियोग्राफमा हाम्री आमाको अनुहार मुस्कुराइरहेको, मुस्कुराइरहेको, मुस्कुराइरहेको ! ! ! ! ! !

प्रतिकृया दिनुहोस्