बेलवासेको ‘चोटहरुको उत्सव’ लोकार्पित

काठमाडौं । कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेको कविता कृति ‘चोटहरुको उत्सव’ सार्वजनिक भएको छ  । राजधानीमा शुक्रबार आयोजित एक साहित्यिक समारोह बिच उक्त कृतिको बरिष्ठ कवि तुलसी दिवस, साहित्यकार एवं राजनीतिज्ञ शान्ता मानवी, गायिका आनी छोइङ डोल्मा लगायतले लोकार्पण गरे ।

सुनकोसी वाङ्मय प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा आफ्नो विचार राख्दै कवि दिवसले मान्छेलाई चोटहरुले नै साँचो अर्थमा मान्छे बनाउने भनाइ राख्दै कवि बेलवासेका कविता चोट पाएरै सिर्जना गरिएका झैँ यथार्थपरक लाग्ने बताए ।

चर्चित गायिका आनीले कवि बेलवासेलाई बधाई दिँदै देखेका, भोगेका अनुभवहरु सँगालेर सुन्दर कविता कोर्न कवि सफल भएका आफूले पाएको बताइन् । कृतिमाथि टिप्पणी गर्दै राजनीतिक विश्लेषक शंकर तिवारीले कवि बेलवासेका कविता बौद्धिकताले भरिएका तथा प्रेम दर्शन र भोगाइहरु कवितामा बलशाली बनेर आएका उल्लेख गरे ।

स्रष्टा बेलवासेले लेखकीय अनुभूति राख्दै आफ्ना चोट र पीडा मात्र नभएर समग्र मानवका चोट र पीडाहरूलाई कविताको माध्यमबाट अभिव्यक्त गर्ने  प्रयास गरेको बताए ।

 

 

कार्यक्रमका सभाध्यक्ष सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कवि बेलवासेलाई सम्मान पत्र सहित अभिनन्दन समेत गरे भने कविहरू विश्व सिग्देल, मणि लोहनी, सोझो गाउँले, हेम प्रभास, शोभा अधिकारीले लोकार्पित कृतिबाट केही थान कविताहरु वाचन गरेर सुनाए ।

प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेको कार्यक्रममा पूर्णबहादुर श्रेष्ठ हृदयङ्कृतले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्