उपाध्यायको उपन्यास ‘ऐँजेरु’ सार्वजनिक

काठमाडौं । उपन्यासकार शुकदेव उपाध्यायको ‘ऐँजेरु’ उपन्यास सार्वजनिक भएको छ । साहित्य सदनमा शनिबार आयोजित एक कार्यक्रममा रोचक घिमिरे,श्रीओम श्रेष्ठ रोदन, निर्मोही ब्यास, चन्द्रप्रसाद भट्टराई, माधव प्रसाद गौतम र उपन्यासकार स्वयंले संयुक्त रूपमा उक्त उपन्यासको लोकार्पण गरे ।
नेपाल स्रष्टा समाजद्वारा आयोजित कृति लोकार्पण कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरेले ऐँजेरु जस्ता पात्रहरु समाजमा यत्रतत्र पाइने बताउँदै समाजको यथार्थलाई समेटेको उपन्यासले पश्चिम नेपालको भूगोलको परिवेश पनि चित्रण गरेको चर्चा गरे ।
उपन्यासका पात्रहरुले सजीव ढंगले संवाद गरेका उल्लेख गर्दै समीक्षक चन्द्रप्रसाद भट्टराईले कथाबस्तु शान्त र सलल बगेको बताए । नियात्राकार निर्मोही ब्यासले उपन्यासको कथानक यथार्थमा आधारित भएको बताउँदै आफू उपन्यास पढेर भावुक भएको सुनाए ।
सभाध्यक्ष एवं नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले पश्चिमा शैलीमा जन्मदिन मनाउने प्रचलन हाबी भइरहेका बेला एउटा सर्जकले आफ्नो सिर्जनात्मक कर्म गरेर कृति सार्वजनिक गरी जन्मदिन मनाउनु उदाहरणीय कार्य भन्दै प्रशंसा गरे । डा.शान्तिमाया गिरीले लेखकको व्यक्तित्व माथि प्रकाश पारिन् भने उपन्यासकारका गुरु माधव प्रसाद गौतम, उपन्यासकार शुकदेव उपाध्याय लगायतले मन्तव्य राखे ।
उपन्यासकार उपाध्यायको ७१ औँ जन्मोत्सवको अवसर पारेर उनको दोश्रो औपन्यासिक कृति सार्वजनिक भएको हो । स्रष्टा समाजका कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रम समाजका सदस्य प्रदीप सापकोटाले सञ्चालन गरेका थिए ।