‘अफगानिस्तानको आगो’ पोर्चुगलमा सार्वजनिक

पोर्चुगल । निबन्धकार रामप्रसाद पन्त (आरपी) को संस्मरणात्मक निबन्ध संग्रह ‘अफगानिस्तानको आगो’ पोर्तुगलको लिस्बोनमा लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पोर्चुगल च्याप्टरद्वारा आयोजित साहित्यिक कार्यक्रममा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले सो कृतिको लोकार्पण गर्नुभएको हो ।
प्रवासमा भोगेको पीडालाई लेखेर पुस्तकको रुपमा ल्याउने महत्वपूर्ण कार्यका लागि लेखकलाई र सुन्दर कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई प्रमूख अतिथि पौडेलले धन्यवाद दिनुभयो । लेखकप्रति दूतावासको सद्भाव रहेको बताउँदै लेखनमा थप सफलताको कामना पनि गर्नुभयो ।
अनेसास पोर्चुगलका सल्लाहकार अर्जुन श्रीले विमोचित पुस्तकबारे चर्चा गर्नुभएको कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, व्यवसायी, सञ्चारकर्मी लगायत साहित्य पारखीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली दुतावास पोर्चुगलका द्वितीय सचिव रामबाबु नेपाल, एनआरएनए पोर्चुगलका अध्यक्ष दीपा काफ्ले, आइसिसी सदस्य राजकुमार थापा, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर, नोबेल साकोस साहित्य संस्थाका संस्थापक अध्यक्ष सरस्वती गौतम, पत्रकार महासंघ युरोपका उपमहासचिव कलश खरेल, कलाकार सुलेमान शंकर ‘इकु’, बिमला गिरी लगायतले विमोचित कृतिको सफलताको कामना गर्दै निबन्धकार पन्तलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो ।
अनेसास पोर्चुगल च्याप्टरका अध्यक्ष सबी श्रेष्ठको सभापतित्वमा महासचिव एन.बी. अन्जानद्वारा सञ्चालित कार्यक्रम सफल बनाउन उपस्थित महानुभावहरूलाई यादव देवकोटाले स्वागत गर्नुभएको थियो ।
अनेसासका आजिवन सदस्य, निबन्धकार आरपी पन्तको ‘अफगानिस्तानको आगो’ पहिलो प्रकाशित कृति हो ।