देवकोटा जयन्ती तथा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण कार्यक्रम सम्पन्न
समाचार/ तस्बिर/ भिडियो साभार: विश्वराज थापा/ ईनेपलिजडटकम
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही नोभेम्बर १, २०२५ का दिन मनासस भर्जिनियामा ११७ औं देवकोटा जयन्ती तथा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ ।


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पुरस्कार समितिका संयोजक तीर्थराज पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बोर्ड अफ ट्रस्टीका पूर्व अध्यक्ष डा. श्याम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको पहिलो चरणमा बिओटी सभापति, केन्द्रीय कार्यसमितिका अध्यक्ष, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्व अध्यक्ष गीता खत्रीबाट संयुक्तरुपमा पानसमा बत्ति बालेर उद्घाटन गरिनुका साथै देवकोटाको तस्वीरमा माल्र्यापण गरिएको थियो । स्थानीय साना भाइबहिनीहरूबाट अंग्रेजी तथा नेपाली राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । यसैगरी अनेसास डिसी मेट्रो च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीबाट स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक दिलिप नेपालबाट महाकवि देवकोटाद्धारा लिखित गीत इश्वर तैंले रचेर फेरी प्रस्तुत गरिएको थियो । सो अवसरमा अनेसास डिसी मेटो च्याप्टरका सल्लाहकार डा. बिष्णु घिमिरेबाट महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरिएको थियो ।


कार्यक्रमको अवसरमा अनेसासबाट प्रकाशित महाकवि देवकोटाको विविध आयाम समेटिएको अंग्रेजीमा विभिन्न विद्धानहरूद्धारा लिखित पुस्तक Laxmi Prasad Devkota: The Gem of Nepali Literature, डा. गोपी उप्रेतीद्धारा लिखित कृति From Run to Renewal तथा गीता खत्री, ज्योती पौडेल र पुनम काफ्लेद्धारा संयुक्तरूपमा लिखित पुस्तक हिमतरंग विमोचन डा. श्याम कार्की, पदम विश्वकर्मा, सर्वज्ञ वाग्ले, होमनाथ सुवेदी, गीता खत्री, डा. गोपी उप्रेती र Dr. Kieth Wright ले संयुक्तरूपमा विमोचन गरेका थिए । डा. उप्रेतीद्धारा लिखित सो पुस्तकको समीक्षा Dr. Kieth बाट गरिएको थियो ।

यसैक्रममा पुरस्कार समितिका संयोजक तीर्थराज पाण्डेय, समितिका सदस्यहरु दीपा राई पुन एवं इश्वरीप्रसाद भट्टले पुरस्कारको बारेमा जानकारी दिएका थिए । अनेसास बोर्ड अफ ट्रस्टी र डा. गोपी उप्रेतीद्धारा प्रायोजित अनेसास सवोत्कृष्ट पुस्तक पुरस्कार सन्त्रासका साठी दिन उपन्यासका लागि रोशन थापा निरव, मोमिला जोशीद्धारा लिखित प्रश्नहरू त बाँकी नै रहन्छन् निबन्ध संग्रहका लागि अनेसास तीर्थराज पाण्डेय सर्वोत्कृष्ट निबन्ध पुरस्कार, बोरा उपन्यासका लागि अखण्ड भण्डारीद्धारा लिखित अनेसास एकराज पाण्डे सर्वोत्कृष्ट पुरस्कार, डा. तुलसी आचार्यद्धारा लिखित स्वप्न भूभि उपन्यासका लागि अनेसास रोहिणी शर्मा होमनाथ सुवेदी बाङ्गमय डायस्पोरा पुरस्कार, कृष्ण कुसुमद्धारा लिखित पाश्र्वधुन कथा संग्रहका लागि अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार, कृषु क्षेत्रीद्धारा लिखित पसिनाको क्यान्भास कविता संग्रहका लागि अनेसास विश्वबहादुर शाह सर्वोत्कृष्ट राष्ट्रकवि काव्य पुरस्कार, जगन्नाथ पौडेलद्धारा लिखित बग्दै बग्दै कविता संग्रहका लागि अनेसास राष्ट्रकवि गीता खत्री तथा रश्मी भट्ट सर्वोत्कृष्ट काव्य पुरस्कार, डा. दुर्गाबहादुर घर्तीद्धारा लिखित सांस्कृतिक अध्ययनका लागि अनेसास सीता शर्मा संस्कृति तथा दर्शन सर्वोत्कृष्ट पुरस्कार, विमला निरौला ढुंगानाद्धारा लिखित यात्रामा देश बाल साहित्यका लागि अनेसास शिव लामिछाने सर्वोत्कृष्ट बाल साहित्य पुरस्कार, भिम रेग्मी, पुरू सुवेदी र रीतादेवी प्रधानद्धारा संयुक्तरूपमा प्रदान गरिएको शशिकुमार कार्कीद्धारा लिखित रूकुमका लोककथाका लागि अनेसास नन्दादेवी सर्वोत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो भने लक्ष्मण सिटौलाद्धारा लिखित ध्वर्तीको ध्वनी गीत संग्रहका लागि पुरू सुवेदी तथा कल्पना सुवेदीद्धारा प्रदान गरिने अनेसास सर्वोत्कृष्ट शिव सत्याल सर्वोत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कारहरू प्रमुख अतिथि डा. श्याम कार्की, बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्मा, पुरस्कार समितिका संयोजक तीर्थराज पाण्डेय र पुरस्कारदाताहरूबाट प्रदान गरिएको थियो । यस पटक विविध विधामा गरी जम्मा ११५०० डलरको पुरस्कार प्रदान गरिएको हो ।


यसैगरी अनेसासमा लामो समयदेखि विशिष्ट सेवा प्रदान गर्दै आउनु भएका टेक्सास निवासी अनेसास ट्रस्टी, पूर्व प्रमुख निर्वाचन आयुक्त भीम कार्कीलाई अनेसास दीर्घ सेवा पदक सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) प्रदान गरिएको थियो । सो क्रममा अनेसासका नयाँ ट्रष्टी न्यूहेम्शायर निवासी शारदा भट्ट, भर्जिनिया निवासी डा. प्रेमप्रसाद शर्मा पौडेल, बोस्टन निवासी विरोचन नेपाल र थानीरत्न कंडेल, कोलोराडो निवासी सुनिल पाठक, भर्जिनिया निवासी खेमकुमारी पौडेल र न्यूयोर्क निवासी प्रेमिला गौचनलाई प्रमुख अतिथि डा कार्की र बिओटी सभापति विश्वकर्माले अनेसास ट्रस्टी सदस्यता प्रमाण पत्र प्रदान गरेका थिए ।


सो अवसरमा पुरस्कृतहरूको तर्फबाट अखण्ड भण्डारी, डा. तुलसी आचार्य, विमला निरौला ढुंगाना र जगन्नाथ पौडेलले अनेसासप्रति आभार प्रकट गरेका थिए । पुरस्कारदाताहरूमध्येबाट गीता खत्री, बिडिएका अध्यक्ष महेश्वर पन्त, एएनए एएनए अध्यक्ष खगेन्द्र अधिकारी, एनआरएनए अमेरिका अध्यक्ष सतेन्द्र शाह, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, अनेसास बोर्ड अफ ट्रस्टीका सल्लाहकार तीर्थराज अधिकारी, मेरिल्याण्ड हाउस अफ डेलिगेट डा. ह्यारी भण्डारी, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, प्रमुख अतिथि, डा. श्याम कार्कीले मन्तव्य प्रकट गरेका थिए भने अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेले मन्तव्यसहित बधाइ ज्ञापन र अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माले धन्यवाद ज्ञापन तथा समापन मन्तव्य प्रकट गरेका थिए । कार्यक्रम अनेसास केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीबाट सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा नेजाका अध्यक्ष सुरज भण्डारी, इन्जाका अध्यक्ष गुणराज लुइटेल, पूर्व अध्यक्षहरू पुरू सुवेदी, भीम रेग्मी, बसन्त श्रेष्ठ, साहित्य परिषद भूटानका प्रतिनिधिहरू, हिमालय खबरका विकासराज न्यौपाने, इनेप्लिज डटकमका प्रधान सम्पादक विश्व राज थापा , डिसी नेपालका कविन्द्र सिटौला, एनआरएन भर्जिनिया च्याप्टर अविजित राई, बोर्ड अफ ट्रस्टीका पदाधिकारीहरू प्रकाश नेपाल, नारायण अधिकारी, नेत्रबन्धु पोखरेल, रश्मी भट्ट, केकास पदाधिकारीहरू लालगोपाल सुवेदी, सुदिप भद्र खनाल, राजु सिटौला, तारा अधिकारी, पुष्पा खनाल, साहित्यकार गोविन्द गिरी प्रेरणा, अनेसास डिसी मेट्रो च्याप्टर र मेरिल्याण्ड च्याप्टरका पदाधिकारीहरू, नाकका पदाधिकारीहरू, अनेसासका ट्रस्टी र आजीवन सदस्यहरू, पत्रकारहरू र स्थानीय गन्यमान्य व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।


कार्यक्रमको दोस्रो सत्र निवर्तमान अध्यक्ष गोवर्धन पूजाको सभापतित्वमा सञ्चालित काव्य गोष्ठीमा ५२ जना कविहरुले आ-आफ्ना रचना वाचन गरेका थिए । उक्त कार्यक्रम ट्रस्टी बोर्डका नारायण अधिकारी र रश्मी भट्टबाट संयुक्त रुपमा सञ्चालन गरिएको थियो । कार्यक्रमको अघिल्लो दिन अनेसास डिसी मेट्रो च्याप्टरबाट स्वागत रात्रीभोजको आयोजना गरिएको थियो ।





























