सिग्देलका कवितासँगै प्रलेस काभ्रेको मासिक कार्यक्रम सम्पन्न
काभ्रेपलाञ्चोक । प्रगतिशील लेखक संघ (प्रलेस) काभ्रेले आयोजना गर्ने मासिक कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम शनिबार बनेपामा सम्पन्न भयो । यस महिनाको ‘स्रष्टा विशेष’मा बनेपाका साहित्यकार विश्व सिग्देललाई प्रस्तुत गरियो ।
कविता, निबन्ध र कथामा सक्रिय सिग्देलले चार कविता वाचन गर्दै समाजका असमानता, शोषण, राजनीतिक विसंगति, प्रकृतिमाथि मानवीय हस्तक्षेप र वैश्वीकरणका प्रभावजस्ता विषय प्रस्तुत गरे । उनका कविताले वञ्चित समुदायको पीडालाई पनि उजागर गरेका थिए । ‘तालीको समाजशास्त्र’, ‘अव्सेसन’ (संयुक्त कथा सङ्ग्रह) र ‘द प्राइमर्डियल सङ अफ लभ’ (संयुक्त कविता संग्रह) का सर्जक सिग्देलका केही कविता अंग्रेजी र जर्मन भाषामा अनुवाद भइसकेका छन् । सिग्देलले नियमित रूपमा आयोजना हुँदै आएको प्रलेस काभ्रेको मञ्चले नयाँ स्रष्टा पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

कार्यक्रममा रमी प्रिया, चन्द्रबहादुर लामा, केशवराज पौडेल, सञ्जय सुमन, डी.पी. आत्रेय, बलराम विष्ट, सौगत घिमिरे, शशीश्री आचार्य, हरिप्रसाद चौलागाईं, रामसुन्दर देउजा, केशव घिमिरे, सुशिला विष्ट, श्रीकृष्ण पाण्डे, मुराहरी रायामाझी, रक्तिम लामा, शुभद्रा अधिकारीलगायतले पनि कविता प्रस्तुत गरे ।
प्रलेस काभ्रेका अध्यक्ष कञ्चनमान लामा ‘रक्तिम’को अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा इन्चार्ज गोविन्द श्रिङ्खला प्रमुख अतिथि थिए भने सञ्चालन प्रलेस काभ्रेका सचिव दिनेशराज खरेलले गरेका थिए ।
