मर्नुअघि विचरण गर्दा…
मर्नुअघि विचरण गर्दा…

यो समाजलाई नियालिरहँदा पात्रहरूको खेल पनि बडो अकल्पनीय भेटिन्छन् । कोही आफ्नोपन लिएर सारा खुशी लुटेर जान्छन् त कोही आफ्नै बनेर सारा पीडाका हिस्सेदार जीवनभरि बनिरहन्छन् ।
आफूलाई फर्केर हेर्छु। क्षमता र योग्यताका कुरा गर्दा कसैको विचारको टिकाटिप्पणी गर्ने योग्य म आफूलाई पाउँदिन । केही बुझेर केही नबुझी ! आफ्नो मन भुलाउने, परिस्थितिअनुकूल आफूलाई अघि बढाउने हिसाबले रोजेको यो साहित्यिक पठन यात्रा । आज अरूका शब्द पढ्दै केही भाव आफ्ना मनका पोख्नेसम्म भएको छु कि जस्तो लाग्छ । त्यसैले कसैका बारेमा बोल्नुअघि हजार पटक दिमागमा सोच आउँछन् कतै गलत पो बोल्न पुगिन्छ कि ! कतै आफ्ना भनाइले कसैको हृदयमा ठेस पो पुर्याउन पुग्छु कि ! यस्तै-यस्तै सोचाइले भरिएको मन छ मसँग ।
मैले आजसम्म जतिपनि पुस्तकहरू पढेको छु ती पुस्तकलाई आफ्नो क्षमताअनुसार बुझाइको दायरामा ल्याउने गरेको छु तर पढिसकेका किताबबारे मनमा उठेका भावनाका तरङ्गहरू भने लेखेर व्यक्त गर्न कहिल्यै आएन । भनौँ कुनै पनि पुस्तकको समीक्षा गर्ने ल्याकत मैले राख्न सकेकी छैन ।
आज मसँग एउटा उपन्यास छ,”मर्नुअघि”। मैले मनले खोजेरभन्दा लेखकले मलाई पढ्नयोग्य रोजेर पाएको पुस्तक हो ‘मर्नुअघि’ उपन्यास । जब मैले पुस्तकको नाम सुनेँ, मेरो ध्यान शीर्षकतिरै तानियो । हुन पनि जीवन र मृत्युको दोसाँधमा अल्झेको हाम्रो जीवन ! मृत्युपछिको जीवन कस्तो छ भनेर कसैले सुनाएका छैन्न तर मृत्युअघिको जीवन हामी सबै बाँचिरहेका र भोगिरहेका भने छौँ । भोगाइ सबैका छन, दुखाइ सबैको मनमा छ । कोही लेख्दै जान्छन्, कहानी बन्छ । कोही मनमै सीमित राख्छन्, चितासँगै खरानी भएर जान्छ । फरक हामीमा यति नै हो ।
जब मैले यो पुस्तकको नाम सुनेँ मलाई पढ्ने इच्छा मनैदेखि जागेर आयो । स्वयम् लेखकले नै पुस्तक उपलब्ध गराइदिने भैसकेपछि म केही आशाका साथ पुस्तकको स्पर्श पाउने पर्खाइमा थिएँ र आज त्यो पर्खाइ सार्थक भएको छ । यदि कोही साँच्चै आउनेछ भन्ने थाहा हुन्छ भन्ने पर्खाइ पनि मीठो लाग्नेरहेछ । यही कुराको प्रमाण हो यो पुस्तक ।
पुस्तकको बाहिरी आवरणमा प्रेमिल नजर डुलाउँदै मेरा नजरहरू हरेक पानाको यात्रामा डुलिरहेका छन् । कहिलेकाहीँ यात्रामा बिसौनी आउछन्, आराम गर्दै अघि बढ्नुपर्ने हुन्छ । मेरो पठनयात्रा पनि तिनै जिन्दगीका उकाली-ओरालीमाझैँ सुस्ताउदै, दौडिदै, आराम गर्दै र बात मार्दै अघि बढ्दै छ । आजको डिजिटल जमानामा पुस्तक दुई पात्रबीचको संवादीय शैलीबाट अघि बढेको छ जहाँ फेसबुकको माध्यमबाट जोडिएकी दीपा आफ्ना मुस्कानको पर्दामा लुकाएर राखिएको कहिल्यै निको नहुने खिल आँसुको थोरै सहारा लिँदै पोख्दैछिन् राजसामु । र……शुरु भएका विगतका तिता भोगाइले साँच्चिकै कसैको जीवनमा असन्तुलन ल्याइदिने रहेछ ।
नारीको जीवन भोगाइ, समाजको कहालीलाग्दो यथार्थ अहो ! प्रताडित त हरेक कालखण्डमा नारीहरू भएका थिए, फरक यति हो कि कोही शारीरिक रूपमा त कोही मानसिक रूपमा । सहनशीलताको पर्याय हुन् नारी । यो उपन्यासले केवल कथा बोलेको छैन, कसैको गाथा मात्र पनि बोकेको छैन । यहाँ ती तमाम नारीका अव्यक्त पीडाको थुप्रो पोखिएको छ जसको निकास साहित्यले गरेको छ ।
यो समाजलाई नियालिरहँदा पात्रहरूको खेल पनि बडो अकल्पनीय भेटिन्छन् । कोही आफ्नोपन लिएर सारा खुशी लुटेर जान्छन् त कोही आफ्नै बनेर सारा पीडाका हिस्सेदार जीवनभरि बनिरहन्छन् ।
उपन्यास पढिसकेपछि एउटा अनौठो तरङ्ग छरिएको छ मेरो मस्तिष्कमा । पोख्नलाई धेरै छन् यो पठनयात्राका हरेक बुझाइहरू तर मैले उपयुक्त शब्द र भावलाई समेटेर राख्नै सकेकी छैन । एकातिर मेरो बुझाइ, नारी, समाज, प्रेम र विवाहप्रतिको र अर्कातिर पुस्तकको कटुयथार्थ । कहीँ कतै मेरो सोचाइलाई वास्तविक आकार दिइरहेको भेट्छु अनि झस्किन्छु। कतै आफैभित्र डर पलाउने यथार्थ पाउँछु र आउँदा दिनहरू सम्झन्छु- के साँच्चै नारीहृदय बुझ्ने ऐना यो समाजमा कोही बन्न सक्दैनन् र ! दु:ख,पीडा र शोषणलाई म कुन रूपमा नियालौँ ? घात र विश्वासलाई कुन ताराजुले मापन गर्न सक्छ ? विवसता कस्तो हतियार हो ? सम्झौता विवाह हो भने प्रेम के हो ? परिवारको इज्जत र प्रतिष्ठा छोरीको माथमा मात्र ? सन्तानबीचको फरक जिम्मेवारी यो कस्तो ? समानता खै कहाँ छ ? र यस्तै यस्तै प्रश्नका अनेकौँ छालहरू मनमा उब्जाउँदै मेरा नजरबाट अन्तिम पानाहरू बिदा भएर गए ।
कृतिः मर्नुअघि (उपन्यास)
लेखक: जमुना भट्टराई
प्रकाशकः अनेसास केन्द्रीय कार्यसमिति
मूल्यः ने रु. ४८० विदेशमा १९.९९ $ डलर
*बेलबारी मोरङ निवासी लेखक पेशाले अध्ययन र अध्यापन गर्नुहुन्छ ।
