कालीभक्त पन्त लोकसाहित्य पुरस्कार नन्दकृष्ण जोशीलाई

प्रजातन्त्रका सेनानी तथा नेपाली लोकसंस्कृतिका अग्रपुरुष कालीभक्त पन्तको ३४ औँ वार्षिक दिवसको अवसरमा नेपालको लोकवार्ताको क्षेत्रमा गहन योगदान गर्नुहुने स्रष्टालाई दिँदै आइएको कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार यो वर्ष नन्दकृष्ण जोशीलाई दिइने भएको छ ।

दशकौँदेखि नेपाली लोकगीत संगीत र साहित्यका क्षेत्रमा अविरल छाइरहेका नन्दकृष्ण जोशी विशेषतः पश्चिमी लोक संस्कृति देउडाका नायक मानिन्छन् ।

उनका कयौँ देउडा गीतहरुले नेपाली गीतसंगीतको क्षेत्रलाई उचाइमा पुर्याएको छ ।

कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कारबाट हालसम्म ६ जना नेपाली लोकवार्ताका क्षेत्रमा गहन योगदान पु¥याउने स्रष्टा पुरस्कृत भइसकेका छन् ।

यस पुरस्कारबाट पुरस्कृत हुने आठौँ स्रष्टा नन्दकृष्ण जोशी रहेका छन् ।

पहिलो पुरस्कारबाट पुरस्कृत हुने व्यक्तित्व सत्यमोहन जोशी हुनुहुन्थ्यो भने दोस्रो पुरस्कार नेपाली लोकगीत संगीतका क्षेत्रमा इन्द्रेणी टेलिभिजन कार्यक्रममार्फत योगदान पुर्याइरहेका कृष्ण कँडेलले पाएका थिए । त्यसैगरी क्रमशः तुलसी दिवस, चूडामणि बन्धू कुमार बस्नेत आन्ना स्टिफर, प्रेम छोटा रहेका छन् ।

यस कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक बोस्टन, अमेरिका निवासी महेश्वर पन्त हुन् ।

पुरस्कार यही माघ २४ गतेका दिन मैतीदेवीस्थित जिपी तिमिल्सिना फाउण्डेशनको सभाकक्षमा वितरण गरिने कुरा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले बताएका छन् ।

तिमिल्सिनाका अनुसार उक्त पुरस्कार वितरण कार्यक्रमकै अवसरमा प्रतिष्ठानद्वारा अन्य पुरस्कार घोषणाका साथै नेपाली लोक सांस्कृतिक कार्यक्रम पनि रहेको छ ।

प्रतिकृया दिनुहोस्