तीन मुक्तककारले सुनाए पैँतालिस मुक्तक

काठमाडौँ । तीन काभ्रेली मुक्तककारहरूले काठमाडौंको ठमेलमा मुक्तक पारखीहरूलाई मन्त्रमुग्ध पारे । मुक्तककार रामसुन्दर देउजा, पूर्णबहादुर श्रेष्ठ ‘ह्रदयङ्कृत’ र सुभद्रा अधिकारीले संयुक्त रुपमा आ-आफ्ना पन्ध्र-पन्ध्र थान मुक्तक सुनाए ।

सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा सम्पन्न उक्त  मुक्तक वाचन कार्यक्रमका प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सुन्दर कार्यक्रमको निम्ति प्रतिष्ठानलाई धन्यवाद दिए ।

उनले वर्तमान समयमा चतुष्पदीय हरफमा लेखिने मुक्तकले गहिरो भावको सुत्रात्मक अभिव्यक्ति दिने बताए । अनुभूति, भावना अभिव्यक्त गर्ने शक्तिशाली माध्यमको रुपमा मुक्तक रहेको बताउँदै भने, ‘अन्य रचनाको तुलनामा मुक्तकमा विम्ब, प्रतिक, अलङ्कार, ध्वनि प्रयोग हुन्छ ।’

मुक्तक प्रतिष्ठानले मुक्तकसम्बन्धमा प्रा. डा. लक्ष्मणप्रसाद गौतमको अगुवाईमा सिद्धान्त निर्माण गरी पुस्तक समेत प्रकाशन गरेको छ । कार्यक्रममा उनले समेत आफ्ना केही थान मुक्तक सुनाएका थिए ।

यसैगरी लोमस वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटलले वाचित मुक्तकहरू समसामयीक विषयमा देशप्रेम, माटोको माया, भावना, प्रेम, सम्बन्ध लगायतका विषयमा केन्द्रित भएका पाइएको टिप्पणी गरे ।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले उपस्थित सबैलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सबैको सक्रिय सहभागिताको अपेक्षा गरे । चिवहालःगौचर परिवारको सहकार्यमा भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले गर्दै मुक्तककारहरुको छोटो परिचय समेत दिएका थिए । इखवर नेट डट कम कार्यक्रमको मिडिया पार्टनर थियो ।

प्रतिकृया दिनुहोस्