ऋषभदेव घिमिरेको शब्दमा अनेसास नेपाल च्याप्टरद्वारा ‘अनेसास गान’ सार्वजनिक

काठमाडौं — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको साधारण सभाले अनेसासको उद्देश्य, भावना, नेपाली भाषा–साहित्यप्रतिको समर्पण र विश्वभरका सर्जकबीचको एकतालाई समेटिएको ‘अनेसास गान’ पारित गर्दै सार्वजनिक गरेको छ।

ऋषभदेव घिमिरेद्वारा रचित उक्त गानमा अनेसासलाई नेपाली भाषा, साहित्य, कला र संस्कृतिमा सक्रिय सर्जकहरूको साझा घरका रूपमा चित्रण गरिएको छ। गानले नेपाली भाषा र साहित्यलाई विश्वभर फैलाउने, विविधताबीच एकता कायम गर्ने तथा नेपाली पहिचानलाई सिर्जनामार्फत विश्वसामु चिनाउने भावलाई आत्मसात् गरेको छ।

‘भाषा–शिल्प कला राम्रो नेपालीको भेष,
सर्जकको साझा घर हाम्रो अनेसास’ भन्ने मूल भावबाट सुरु हुने गानमा साहित्य र संस्कृतिलाई संगीतका भाकासँग जोड्दै नेपालीको गौरवगाथा विश्वभर फैलाउने संकल्प व्यक्त गरिएको छ।

गानका पंक्तिहरूमा बहुभाषिक सिर्जना, विविधताबीचको एकता र नेपालीपनको सुन्दर चित्र प्रस्तुत गरिएको छ। ‘अनेक भाषा एउटै मन, एउटै हाम्रो बोली, एकताको चित्र कोर्छौँ सातै रङ घोली’ जस्ता पंक्तिले विश्वभर रहेका नेपालीभाषी सर्जकलाई एउटै भावनात्मक सूत्रमा बाँध्ने सन्देश दिएका छन्।

यस गानमा संगीतकार नरहरि प्रेमीले संगीत भरेका छन्। उनको संगीत संयोजनले गानका शब्दमा निहित साहित्यिक भाव, राष्ट्रियता, एकता र अनेसासप्रतिको आत्मीयतालाई सुमधुर सांगीतिक स्वरूप प्रदान गरेको छ। शब्द र संगीतको संयोजनले ‘अनेसास गान’लाई औपचारिक गान मात्र नभई अनेसासको साझा भावनाको सांगीतिक अभिव्यक्तिका रूपमा स्थापित गरेको छ।

साधारण सभाले गानलाई अनेसास नेपाल च्याप्टरको भाव, उद्देश्य र पहिचानसँग जोडिएको महत्वपूर्ण सिर्जनाका रूपमा ग्रहण गर्दै सर्वसम्मत रूपमा पारित गरेको हो। अब अनेसास नेपाल च्याप्टरका विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूमा यस गानलाई प्रस्तुत गर्ने तयारी गरिएको छ।

अनेसास नेपाल च्याप्टरले गानका रचनाकार ऋषभदेव घिमिरे तथा संगीतकार नरहरि प्रेमीप्रति आभार व्यक्त गर्दै ‘अनेसास गान’ले विश्वभर छरिएका नेपाली सर्जकलाई सिर्जना, भाषा र साहित्यको साझा यात्रामा अझ नजिक ल्याउने विश्वास व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्