प्रवासमा नेपाली अक्षरको खेती: विरासत, चुनौती र रूपान्तरणको मार्ग

डिल्ली अम्माई
आफ्नो भूगोलबाट टाढा रहनु भनेको केवल शरीरको दूरी मात्र होइन, यो त आफ्ना जराहरूबाट अलग्गिनुको छटपटी पनि हो। तर, जब स्रष्टाको हातमा कलम हुन्छ र मनमा मातृभूमिको सुगन्ध, तब भूगोलका रेखाहरू मेटिन्छन्। सन् २००७ मा बेल्जियमको व्यस्त सडक र चिसो मौसमका बीचमा हामीले नेपाली अक्षरको जुन न्यानो खेती सुरु गर्यौँ, त्यसले आज युरोपभरि एउटा विशाल बगैँचाको रूप लिइसकेको छ। यसको चरणबद्ध बगाई निम्नानुशार रहेको छ :
१. भूमिका र बेल्जियमको जग:
हरेक महान् अभियानको यात्रा एउटा सरल रेखामा मात्र अगाडि बढ्दैन; यसमा अनेकौँ उतारचढाव र भोगाइहरू मिसिएका हुन्छन्। मानिसको जीवनमा जस्तै साहित्यिक जागरणको मार्गमा पनि समयका थुप्रै पदचापहरू कोरिएका हुन्छन्। वि.सं. २०६३ (सन् २००७) मा बेल्जियमको माटोमा केही शब्द-शिल्पीहरूले एउटा पवित्र सपना देखे— प्रवासको कठोर व्यस्तताका बीच पनि नेपालीपन र नेपाली मनलाई अक्षरमार्फत जोड्ने। सोही सपनाको मूर्त रूप थियो ‘अनेसास बेल्जियम’। स्थापनाकालमा साहित्यकार कृष्ण बजगाईंको नेतृत्वमा सुरु भएको यो यात्रामा विमल गिरी, रमेश कँडेल, शंकर बजगाईं, कुम शाही, विनिता रिमाल र खिम गुरुङ जस्ता संस्थापकहरूको नाम साहित्यिक इतिहासमा स्वर्ण अक्षरले कुँदिएको छ। आज करिव पचास जना आजीवन सदस्यसहित युरोपकै एउटा गौरवशाली केन्द्रको रूपमा स्थापित यस संस्थालाई बेनेलक्सका राजदूतहरूको निरन्तर प्रेरणाले झन् ओजिलो बनाएको छ।
२. नेतृत्वको शृङ्खला र सिर्जनाको भण्डार:
अनेसास बेल्जियमले आफ्नो दुई दशकको यात्रामा कुशल नेतृत्व र समृद्ध कृतिहरू पाएको छ। विमल गिरी, दीपेन्द्र केसी, दीपकज्योति पौडेल, राजकुमार पुडासैनी, परमानन्द सापकोटा, डिल्ली अम्माई हुँदै सौरभ कारंजित र वर्तमानमा लोकनाथ शर्मासम्मको नेतृत्वले संस्थालाई चलायमान बनाएको छ। यस संगठनको दोस्रो कार्यकालदेखि नै पन्चम अधिकारी, मोहन खत्री, जेबी शेर्पा जस्ता अग्रजहरू अनवरत क्रियाशील हुनुहुन्छ। सिर्जनाकै कुरा गर्दा कृष्ण बजगाईंका ‘यन्त्रवत’ र ‘डिजिटल वार्ता’, विमल गिरीका ‘उपासना’ र ‘अजम्बरी मुक्तक’, पन्चम अधिकारीको ‘पथिक प्रवासन’’प्रवाशिको देश हुन्न’,ब्रह्मदत्त वाग्लेको ‘उपहार'(कविता संग्रह) देखि सञ्जु बजगाईं, दीपेन्द्र केसी, पदम बहादुर गुरुङ(प्रवाशी), हरि श्रेष्ठ र लोकनाथ शर्माका विविध विधाका कृतिहरूले बेल्जियमको साहित्यिक उचाइ बढाएका छन्। विशेष गरी बेल्जियमको सेंत्रुदेंन नगरपालिकाको साहित्यिक एकेडमीसँगको सहकार्यमा प्रकाशित ‘फ्रित नेपाल’ (नेपाली र डच भाषाको कविता संग्रह) र गीतकार यशोदा थापाका साधनाले नेपाली साहित्यलाई स्थानीय स्तरमा जोड्ने ‘सांस्कृतिक पुल’को काम गरेका छन्। यसमा बालाराम पुन लगायतका सांस्कृतिक अभियानले सुनमा सुगन्ध थपेका छन्। त्यस्तै लुभेनको इन्द्र धनुस क्लब,सास्कृतिक समाज,एनआरएनए,ब्याबशायिक समाज,सांग्रिला समाज,ओस्टेण्डे नेपाली समाजहरुले निरन्तर भाषा स्कुल संचालन र अनेसासको सहकार्यमा ठुलो योगदान दिएका छन्।
३. डायस्पोरिक साहित्यको मनोविज्ञान र चुनौती:
साहित्य कुनै सूत्रमा लेखिने तथ्यपरक विवरण नभएर मनोचैतन्य रुझानसहितको भावना हो। तर प्रवासमा लेखिने साहित्यको आफ्नै विशिष्ट मनोविज्ञान हुन्छ। आफ्नो भूगोलबाट टाढा रहँदा स्रष्टाको मनमा उब्जने ‘नोस्टाल्जिया’लाई साहित्यको कन्दरामा लुकाएर राख्न असम्भव प्राय: छ। प्रवासको कठिन परिवेशलाई अनुकूलतामा बदल्ने संघर्ष र आफू हुर्किएको परिवेशबीच पुल बनाउने क्रममा डायस्पोरिक साहित्य जन्मन्छ। त्यसैले, अनेसासको प्लेटफर्ममा अभिव्यक्त हुने कृतिहरूमा देखिने भावनात्मक ‘विक्षिप्तता’ वा ‘विभ्रम’ कुनै कमजोरी होइन, बरु यो त स्रष्टाले भोगिरहेको दुईवटा संसारबीचको द्वन्द्व र पीडाबोधको उपज हो। मनोरञ्जन साहित्यको बाह्य बोक्रो मात्र हो भने दुःखबाट मुक्ति र सत्यको खोजी नै यसको अन्तिम सार हो।
४. विभिन्न सम्मेलनका र भाषिक जागरण:
अनेसासका विभिन्न समेलनमा गरिने घोषणा’ले साहित्य र भाषालाई हाड-मासुको जस्तै अटुट सम्बन्धका रूपमा व्याख्या गरेको छ। सँस्थापक होमनाथ सुवेदीले भन्नुभएझैँ, ‘साहित्यिक अभियान नदीझैँ मन्द आवाजमा अघि बढाइरहनु पर्दछ, तर भाषा मेटिएपछि साहित्यको मधुरसमा निर्लिप्त हुने पाठकहरू रहँदैनन्।’ पूर्ववत नेत्रित्वकालमा संस्थाले संस्थाको किशोरकाललाई चिर्यो। पदम बिश्वकर्मादेखि गोवर्द्धन पूजा हुँदै सर्वज्ञ वाग्लेसम्मको नेतृत्वले अनेसासलाई विश्वव्यापी सञ्जाल त बनायो, तर अबको चुनौती भनेको यो अभियानलाई समुदायको ‘रगत र पसिना’सँग जोड्नु हो। ‘एक परिवार, एक पाठशाला’को अवधारणालाई आत्मसात गर्दै भाषा बचाउने जागरणबिना प्रवासमा लेखिने साहित्यको महत्व कमजोर हुँदै जाने खतरा रहन्छ। अनुशासन र पारदर्शितालाई संस्थाको सर्वश्रेष्ठ मानक बनाउँदै अबको यात्रा अघि बढ्नुपर्छ।
५. गुणात्मक रूपान्तरण र भविष्यको बाटो:
संस्थाले मात्रात्मक काम त धेरै गरिसकेको छ, तर अबको खाँचो ‘गुणात्मक रूपान्तरण’को हो। बेल्जियमको सन्दर्भमा भन्नु पर्दा वर्तमान अध्यक्ष लोकनाथ शर्माले सिर्जना अभ्यासलाई स्तरीय बनाउन तालिम र कार्यशालामा देखाउनुभएको चासो नै बेल्जियमको साहित्यिक अभियानमा अबको प्रस्थानविन्दु हुन सक्छ। त्यस्तै युरोपका अन्य शाखाहरुसंगको अनुभव आदान प्रदान,सहकार्य,संयुक्त अभियानहरुमा चासो दिनु मात्र प्रयाप्त छैन;त्यसलाई नीतिगत कार्ययोजना बनाएर कायान्वयनमा लैजानु पर्ने टड्कारो आबश्यकता छ। मर्न लागेका शाखाहरुलाई महत्वबोध गराएर संजीवनी दिनु पुराना र सक्रिय शाखाहरुको कर्तब्य हो। यसमा ‘यो मेरो काम हैन केन्द्रको हो’ भनेर पन्छिनु हुँदैन।
त्यस्तै,साहित्यलाई केवल ‘बौद्धिक विलास’बाट निकालेर नयाँ पुस्ताको जनजिब्रोसम्म पुर्‍याउन डिजिटल प्रविधि, ‘मास्टर क्लास’ र अनुवाद कार्यशालाहरूको अझै खाँचो छ। लुभेन, अन्त्वेर्पेन र ओस्टेनडेमा सञ्चालित नेपाली भाषा कक्षाहरूले देखाएको बाटोमा हिँड्दै नेपाली पठनपाठनलाई प्रत्येक प्रवासीको घरको चुल्होसम्म पुर्‍याउनु नै हाम्रो मुख्य सन्देश हुनुपर्छ। मर्न लागेका पाठशालाहरुलाई पुनर्जीवन दिने कोशिश छोड्नु हुँदैन।
निष्कर्ष:
मातृभाषाको जीवन्तता कुनै एकाध दशकको प्रयासले मात्र सम्भव हुँदैन; यो त सभ्यताको एउटा लामो र युगान्तकारी शृङ्खला हो। अनेसास युरोपको केन्द्रमा मेरो दुई वर्षे कार्यकाल समापन हुँदै गर्दा, मेरो साहित्यिक जन्मदाता बेल्जियम शाखा र समग्र डायस्पोरिक साहित्यप्रति मेरो सम्मान अझ बढेको छ। धार र रुचिहरू अनेक होलान्, चेतनाका स्तरहरू फरक होलान्, तर नेपाली अक्षरलाई विश्व मानचित्रमा देदीप्यमान बनाउने हाम्रो संकल्प साझा छ। आउनुहोस्, सिर्जनाको शक्तिलाई प्रत्येक नेपाली मनभित्र पुर्‍याउँ र अक्षरको यो खेतीलाई अमर बनाऔँ।

प्रतिकृया दिनुहोस्