प्रवासी नेपाली साहित्य, अनेसासको भूमिका र भाषिक–सांस्कृतिक संरक्षण

स्रष्टासँग सत्र प्रश्न

लमजुङको सुन्दरबजार नगरपालिका–३, देवतापानी, दुराडाँडाको पवित्र माटोमा वि.सं. २००३ साल मङ्सिर ३० गते जन्मिएका तीर्थराज अधिकारी नेपाली साहित्य, विशेषतः कविता, गीत र मुक्तक विधामा आफ्नो विशिष्ट पहिचान बनाएका सशक्त स्रष्टा हुन् । स्व. माता रुक्मिणा अधिकारी र स्व. पिता नारायणदत्त अधिकारीका सुपुत्र उहाँले स्नातकोत्तर (राजनीति शास्त्र) सम्मको शैक्षिक यात्रा पूरा गर्दै जीवनलाई विचार, चेतना र सिर्जनाको सम्मीश्रणका रूपमा अघि बढाउनुभएको हो । हाल संयुक्त राज्य अमेरिकाको ओहायोमा बसोबास गर्दै आउनुभएका अधिकारी प्रवासमा रहेर पनि नेपाली साहित्यको सेवा र समृद्धिमा निरन्तर समर्पित छन् ।

उहाँको साहित्यिक यात्रामा “जुनकीरी”, “ऐना”, “तीन लय तेह्र गीत”, “झटारो”, “यो कस्को हात हो ?”, “बिरिमफूल”, “जूनका टुक्राहरू”, “दोभान” र “सारवत” जस्ता कविता तथा मुक्तक सङ्ग्रहहरूले गहिरो छाप छोडेका छन् । नेपालीसँगै अङ्ग्रेजी अनुवादमा समेत कृति प्रकाशन गरी उहाँले आफ्नो सिर्जनालाई अन्तर्राष्ट्रिय आयाम दिनुभएको छ । गीत–सङ्गीत क्षेत्रमा पनि सक्रिय उहाँका “लमजुङको सम्झना”, “माया” जस्ता गीति सीडीहरूले नेपाली भावनालाई स्वर दिएका छन् । साहित्यिक योगदानका लागि प्रवल गोरखादक्षिण बाहु, राष्ट्रपतिको कदर, मुक्तकमणि सम्मान लगायत दर्जनौँ सम्मान र उपाधिहरूबाट उहाँ विभूषित हुनुहुन्छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सहित विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा सल्लाहकार, संरक्षक र आजीवन सदस्यका रूपमा आबद्ध अधिकारीले नेपाली साहित्यलाई प्रवासमा पनि जीवन्त राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । विश्वका थाइल्याण्डदेखि युरोप, अमेरिका, एसिया र मध्यपूर्वसम्मको व्यापक भ्रमण अनुभवले उहाँको दृष्टि अझ विस्तृत र संवेदनशील बनेको छ । सिर्जना, साधना र समर्पणको त्रिवेणी बनेर उभिनुभएका तीर्थराज अधिकारी नेपाली साहित्य आकाशका एक उज्याला नक्षत्रका रूपमा चम्किरहेका छन् । यिनै नक्षत्र मुक्तकमणि तीर्थराज अधिकारीसँग स्मारिकाका प्रधान सम्पादक रमेश दाहालले गरेका सत्र प्रश्न र त्यसका सटिक उत्तर ।

प्रश्न-१ः नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रियकरणलाई तपाईंले कुन दृष्टिले हेर्नुहुन्छ ? यसको वर्तमान अवस्था र सम्भावनाबारे तपाईंको मूल्याङ्कन के छ ?
 
उत्तरः जति नेपाली युवा परदेश जान्छन्, आफ्नो नेपाली परम्परा र संस्कृति पनि लिएर गएका हुन्छन् । प्रवासी नेपाली साहित्य नेपाली साहित्य नै हो, धारा मात्र आआफ्नो उपज हो  । साहित्य त एक माध्यम हो । नेपालभन्दा टाढा विभिन्न देशमा रहेका नेपालीहरूको अथक प्रयासबाट आज अन्तर्राष्ट्रिय नेपाली साहित्य समृद्ध बनेको छ  ।
 
प्रश्न-२. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विश्वभर नेपाली भाषा, कला र साहित्यको प्रवर्धनमा खेलेको भूमिका कत्तिको प्रभावकारी देख्नुहुन्छ ?
 
उत्तरः प्रवासी साहित्यकारले आफ्नो कलममार्फत आफ्ना अनुभव र भावना साझा गरेका हुन्छन् । आफू जहाँ रहे पनि मन र आत्मा देशकै माटोमा रहेको हुन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य कुनै विशेष दर्शन, सिद्धान्त वा चिन्तनसँग जोडिएको छैन । यसले घरभन्दा परका भोगाइ, मानसिक अवस्था र दुःखको चित्रण पनि गरेको हुन्छ । तसर्थ यस प्रकारको साहित्यलाई केवल साहित्यिक मापदण्डले मात्र हेर्न मिल्दैन । यही कारण प्रवासी नेपालीहरूले आफ्नो लेखनको माध्यम नेपाली नै बनाए । उनीहरूले प्रवासको संवेदनशीलतालाई नेपाली संस्कारसँग जोडेर विषमता अक्षरमा उतारेका छन् ।
 
प्रश्न-३. प्रवासमा बसेर नेपाली भाषा र साहित्यलाई जोगाइराख्न कस्ता चुनौतीहरू अनुभव गर्नुभएको छ ?
 
उत्तरः विदेशमा नेपाली भाषा संरक्षणका प्रमुख चुनौतीहरूमा नयाँ पुस्तामा अंग्रेजीको बढ्दो प्रभाव, नेपाली अध्ययनका लागि आवश्यक स्रोत (शिक्षक/पुस्तक) को कमी र व्यस्त जीवनशैली प्रमुख छन् । नेपाली भाषी वातावरण नहुँदा यसको प्रयोग कम हुँदै गएको छ । व्यावसायिक आवश्यकताका कारण मातृभाषाभन्दा स्थानीय भाषालाई प्राथमिकता दिनुपर्ने बाध्यता पनि छ ।
 
प्रश्न- ४. अनेसास नेपाल च्याप्टरप्रति तपाईंको धारणा कस्तो छ ? यसको भूमिका र प्रभावकारिता कत्तिको सशक्त देख्नुहुन्छ ?
 
उत्तरः अन्तर्राष्ट्रिय जगतमा नेपाली साहित्यको श्रीवृद्धि, विस्तार र नेपाली मुटुको सञ्चारका लागि अनेसास च्याप्टरहरूको महत्त्वपूर्ण भूमिका रहेको छ । स्थानीय कार्यक्रमका अतिरिक्त केन्द्रीय कार्यक्रमहरू पनि च्याप्टरमार्फत नै हुने गरेका छन् । अनेसासको प्रवासी नेपालीसँग सम्पर्क हुने निकाय नै च्याप्टरहरू हुन् । छोटकरीमा भन्नुपर्दा च्याप्टरहरू अनेसासका धमनी हुन् ।
नेपाल च्याप्टर अनेसासको गृह च्याप्टर हो । अनेसासका सबै सदस्यको सम्पर्क बिन्दुमा नेपाल च्याप्टर रहेको छ । यसले नेपाली स्रष्टाहरूलाई समेटेर मासिक तथा नियमित कार्यक्रमहरू सञ्चालन गर्ने, स्रष्टा सम्मान गर्ने र अनेसासको सिङ्गो उपस्थिति जनाउँदै आएको छ । सबै गतिविधिको वर्णन गर्दा विषय लामो हुन जान्छ ।
 
प्रश्न-५ (क). नेपाल च्याप्टरको आसन्न अधिवेशनप्रति तपाईंको अपेक्षा के छन् ? यसले के–कस्ता नयाँ दिशा दिन सक्छ ?
 
उत्तरः अनेसासको सङ्गठनात्मक विकास, क्षमता, कार्यकुशलता र प्रभावोत्पादक प्रतिफलका बारेमा महत्त्वपूर्ण निर्णयहरू हुनेछन् । सम्बन्धित निकायका न्यूनतम कार्यक्रम तथा समन्वयका विषयमा विचार–विमर्श हुनेछ । संशोधित विधान कार्यान्वयन, कार्य मूल्याङ्कन तथा उत्कृष्ट च्याप्टर चयन गर्ने नीति तय हुनेछ । अनेसासले प्रकाशन गरेका कृतिहरूको प्रदर्शन, प्रचार–प्रसार र नयाँ प्रकाशनको ढाँचा तय हुनेछ । अनेसास एकेडेमीको व्यवस्थापन र कार्यक्षेत्रबारे छलफल हुनेछ ।
 
प्रश्न-५ (ख). तपाईं विधान संशोधन समितिको संयोजक पनि हुनुहुन्छ, च्याप्टर र केन्द्रबीचको समन्वय र सन्तुलन एवं कार्यक्रमको विनियोजनलाई विधानमा कसरी व्याख्या गरिएको छ ?
 
उत्तरः म विधान संशोधन समितिको संयोजक होइन । एउटा समिति बनेको थियो, पछि निष्क्रिय भयो । सातौँ संशोधन पुनरावलोकन समितिमा म थिएँ । सो समितिले निकै मेहनत गरेर परिमार्जनका सुझाव दिएको थियो, सोही अनुसार संशोधन पनि भयो ।
विधानमा केही टाइप त्रुटि सच्याउनुपर्ने र वर्तमान परिस्थितिअनुसार समसामयिक संशोधन आवश्यक देखिन्छ । विधानलाई कठोरभन्दा लचिलो बनाएर सङ्गठन विस्तार गर्न आवश्यक छ ।
 
प्रश्न-६. भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा संवर्धनका लागि अनेसास र यसका विभिन्न च्याप्टरहरूले अब कस्तो रणनीति अपनाउनुपर्छ जस्तो लाग्छ ?
 
उत्तरः जति नेपाली युवा परदेश जान्छन्, आफ्नो संस्कृति पनि साथमा लैजान्छन् । प्रवासी नेपाली साहित्य नेपाली साहित्य नै हो, धारा मात्र फरक हो । साहित्य एक माध्यम हो । विश्वभर रहेका नेपालीहरूको प्रयासबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समृद्ध बनेको छ ।
प्रवासी साहित्यकारले आफ्ना अनुभव र भावना साझा गर्छन् । मन र आत्मा देशकै माटोमा जोडिएको हुन्छ । यस साहित्यलाई केवल सिद्धान्त वा दर्शनसँग मात्र जोडेर हेर्न मिल्दैन । यसैले प्रवासी नेपालीहरूले नेपाली भाषालाई नै लेखनको माध्यम बनाएका छन् ।
कला र संस्कृतिको संवर्धनका लागि अनेसासले संस्कृति समिति गठन गरेको छ । यस क्षेत्रमा उल्लेखनीय प्रगति हुँदैछ ।
 
प्रश्न-७. नयाँ पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्न के–कस्ता कार्यक्रम वा पहलहरू आवश्यक देख्नुहुन्छ ?
 
उत्तरः क) नेपालबाट फर्कँदा बाल साहित्य, बाह्रखरी, नयाँ पुस्तक तथा पत्रपत्रिका उपहारस्वरूप सम्बन्धित च्याप्टरलाई ल्याउने  ।
ख) च्याप्टर सञ्चालन गर्दा कम्तीमा ५० पुस्तक भएको समूह र साहित्यप्रति रुचि भएकाहरूको सहभागिता अनिवार्य गर्ने  ।
ग) नयाँ वा पुराना च्याप्टरले केन्द्रको स्वीकृति लिनुपर्ने व्यवस्था गर्ने ।
घ) भाषा विज्ञ समूह बनाएर अनुवादसहित सुझाव आदान–प्रदान गर्ने ।
ङ) आपसी संवाद नेपालीमै गर्ने अभ्यास गर्ने ।
च) पत्राचार नेपालीमै गर्न प्रोत्साहन गर्ने ।
छ) पुस्तक आदान–प्रदान र पुस्तकालय स्थापना गर्ने ।
ज) स्थानीय पाठ्यक्रममा नेपाली भाषा समावेश गराउन पहल गर्ने ।
झ)स्थानीय पुस्तकालयमा नेपाली पुस्तक राख्न अनुरोध गर्ने ।
ञ) प्रारम्भिक नेपाली पुस्तक सङ्कलन र वितरण गर्ने ।
ट) नेपाली प्रशिक्षण शिविर सञ्चालन गर्ने ।
ठ) चाडपर्वमा सांस्कृतिक कार्यक्रममार्फत नेपालीपन झल्काउने ।
ड) बालबालिकालाई नेपाली बोल्न प्रोत्साहित गर्ने ।
ढ) व्यवसायमा नेपाली नामकरण प्रयोग गर्ने ।
ण) पुस्तकहरूको द्विभाषीकरण तथा अनुवाद गर्ने ।
त)भाषिक शुद्धतामा ध्यान दिँदै नेपाली अस्मिता जोगाउने  ।
आजको साहित्य विचारप्रधान र छरितो हुँदै गएको छ । प्रविधिसँगै साहित्य पनि समयानुकूल परिवर्तन हुनुपर्छ । लामो कृतिभन्दा लघु साहित्य बढी प्रभावकारी बन्न थालेको छ ।
 
प्रश्न- ८. प्रवासमा जन्मिएका वा हुर्किएका नेपाली बालबालिकामा मातृभाषा हस्तान्तरणको अवस्था कस्तो पाउनुहुन्छ ?
 
उत्तरः यस क्षेत्रमा निरन्तर प्रयास भइरहेको छ । विभिन्न च्याप्टरमा नेपाली कक्षा सञ्चालन भइरहेका छन् । बालसाहित्य कार्यक्रम, पाठ्यपुस्तक प्रकाशन र घरमै नेपाली संवाद गर्ने अभ्यास बढ्दो छ । केही स्थानमा उच्च शिक्षामा नेपाली विषय समावेश गर्ने प्रयास पनि भइरहेको छ । अनेसास एकेडेमी यसमा सक्रिय छ ।
 
प्रश्न-९. डिजिटल युगमा नेपाली साहित्यको विश्वव्यापी पहुँच विस्तार गर्न के–कस्ता उपायहरू प्रभावकारी हुन सक्छन् ?
 
उत्तरः डिजिटल युगमा प्रविधि, अनुवाद र सामाजिक सञ्जालको प्रयोगले प्रभावकारी रूपमा साहित्य विस्तार गर्न सकिन्छ  ।
क) डिजिटल प्रकाशन
ख) डिजिटल पुस्तकालय
ग) पोडकास्ट र अडियोबुक
 
प्रश्न- १०. अनेसासमा तपाईंले गर्नुभएको योगदानलाई कसरी सम्झनुहुन्छ ? कुनै विशेष उपलब्धि वा स्मरणीय क्षण छन् ?
 
उत्तरः मैले अनेसास बोर्ड अफ ट्रस्टी (BOT) मा ४ वर्ष कार्यसमिति र ३ वर्ष सल्लाहकारको रूपमा काम गरेँ । प्रमुख कार्यक्रमहरूमा सहभागिता र नवोदित स्रष्टाहरूलाई प्रोत्साहन गर्नु मेरो प्रमुख उद्देश्य रह्यो ।
 
प्रश्न-११. नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्न अनुवादको भूमिका कत्तिको महत्त्वपूर्ण छ भन्ने लाग्छ ?
 
उत्तरः नेपाली साहित्यलाई विश्व मञ्चमा पु¥याउन अनुवाद अत्यन्त महत्त्वपूर्ण छ । विचार, भावना र संस्कृतिको आदान–प्रदानको प्रमुख माध्यम अनुवाद नै हो । अनेसासको पहलमा देवकोटाका कृतिहरू अङ्ग्रेजीमा अनुवाद भएका छन् । मेरो मुक्तकसङ्ग्रह ‘झटारो’को पनि अङ्ग्रेजी संस्करण प्रकाशित छ ।
 
प्रश्न-१२. प्रवास र स्वदेशबीच साहित्यिक सेतु निर्माणमा अनेसासले अझ के–कस्ता पहल गर्न सक्छ ?
 
उत्तरः क) नेपालमा अन्तर्राष्ट्रिय पुस्तकालय स्थापना
ख) पुस्तक उपहार आदान–प्रदान
ग) च्याप्टर सञ्चालनमा न्यूनतम पुस्तक सङ्ख्या अनिवार्य
घ) केन्द्रको स्वीकृति अनिवार्य
ङ) अनुवाद तथा विज्ञ समूह गठन
च) नेपाली संवादको अभ्यास
छ) पत्राचार नेपालीमै
ज) पुस्तक आदान–प्रदान र पुस्तकालय सुदृढीकरण
झ) पाठ्यक्रममा नेपाली भाषा समावेश
ञ) सांस्कृतिक प्रशिक्षण शिविर
ट) चाडपर्वमा नेपालीपनको प्रदर्शन
ठ) बालबालिकामा नेपाली भाषा प्रोत्साहन
ढ) व्यवसायमा नेपाली नामकरण
ण) द्विभाषी पुस्तक विकास
त)भाषिक शुद्धता र अस्मिता संरक्षण
व्यक्तिगत र रमाइला प्रश्नहरू
 
प्रश्न-१३. तपाईंको बाल्यकालमा साहित्यप्रति रुचि कसरी जाग्यो ?
 
उत्तरः लोकगीत, साहित्य र संस्कृतिसँग मेरो अन्तर्मनबाट नै सम्बन्ध जोडिएको हो । प्रेरणा आफ्नै मनबाट प्राप्त भयो ।
 
प्रश्न-१४. व्यस्त जीवनका बीचमा लेखनका लागि समय कसरी मिलाउनुहुन्छ ?
 
उत्तरः मेरो जीवन व्यस्ततासँगै बित्यो । साहित्य मेरो फुर्सदको साथी हो । सरकारी सेवामा हुँदा लेखनका लागि समय कम हुन्थ्यो । अहिले अमेरिकामा बस्दा समय प्रशस्त छ । राति मनमा आएका कुरा लेख्छु । मुक्तक मेरो प्रिय विधा हो ।
 
प्रश्न-१५. अमेरिका बसाइँमा नेपालीपनलाई जोगाइराख्न तपाईंले अपनाउनुभएको कुनै रोचक अनुभव ?
 
उत्तरः अस्पताल जाँदा डाक्टर–नर्सलाई ‘नमस्कार’ भन्छु । उनीहरूले पनि ‘नमस्कार’ नै फर्काउँछन् । यसरी नेपाली संस्कार चिनाउने गर्छु ।
 
प्रश्न-१६. तपाईंको मनपर्ने नेपाली लेखक वा कृति कुन हो ? किन ?
 
उत्तरः ‘मुनामदन’ मेरो मनपर्ने कृति हो । सरल भाषा, झ्याउरे लय र जीवन्त करुण कथाका कारण यो कृति अत्यन्त मन परेको हो ।
 
प्रश्न-१७. यदि तपाईंलाई फेरि जीवनको शुरुआत गर्ने अवसर मिल्यो भने, साहित्यिक यात्रामा केही फरक गर्न चाहनुहुन्छ ?
 
उत्तरः यदि पुनः जीवन शुरू गर्ने अवसर पाएँ भने, कुनै हिचकिचाहटविना अन्तर्मनका भावनालाई कलममा उतार्थेंँ र वर्तमानलाई आधार बनाएर लेख्थेँ  ।
साभारः अनेसास नेपाल च्याप्टर स्मारिका
प्रधान सम्पादकः रमेश दाहाल
प्रतिकृया दिनुहोस्