धार्मिक सहिष्णुतामा वर्तमान कविता समूहको चासो

काठमाडौं । ‘धार्मिक सहिष्णुता र वर्तमान कविता’ विषयक विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । वर्तमान कविता समूह र नेपाली लोक बाजा सङ्ग्रहालयद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मानवता र समकालीन यथार्थलाई केन्द्रमा राखेर कविता वाचन, विचार–विमर्श र सांगीतिक प्रस्तुतिहरू समावेश गरिएका थिए ।

कार्यक्रममा अभय श्रेष्ठ, हरिहर तिमिल्सिना, विश्व सिग्देल, रजनीमिला, रामगोपाल आशुतोष, राधिका कल्पित, रमी प्रिया, प्रज्वल अधिकारी, चाचु ढुङ्गाना, विणा नेम्कुल, चन्द्रबहादुर लामा, तीर्थराज भट्ट, प्रमोद स्नेही, दीपक चौलागाईं लगायतका कविहरूले आ-आफ्ना कविता वाचन गरे । वाचित कविताहरूले धार्मिक सहिष्णुता, सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र समकालीन जीवनका विविध पक्षलाई अभिव्यक्त गरेका थिए ।

सोही अवसरमा प्रसिद्ध गायक तथा संगीतकार शिशिर योगीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘दमाई दाइ’ लगायतका गीत प्रस्तुत गर्दै कार्यक्रममा सांगीतिक आयाम थपे ।

लक्ष्मेश्वर मन्दिर परिसरस्थित नेपाली लोक बाजा सङ्ग्रहालयमा आयोजित सो कार्यक्रममा सहभागी कवि, साहित्यकार तथा वक्ताहरूले नेपालको तराई क्षेत्रमा धर्मका नाममा भइरहेका अराजक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै हिंसा, विभाजन र क्रूरताविरुद्ध मानवताको पक्षमा दृढतापूर्वक उभिन सबैसँग आग्रह गरे । गोष्ठीले शान्ति, सहअस्तित्व, धार्मिक सहिष्णुता र पारस्परिक सम्मानको संस्कृतिलाई सुदृढ बनाउन सामूहिक प्रतिबद्धता पनि व्यक्त गरे ।

समाजका ज्वलन्त विषयलाई कवितामार्फत सार्वजनिक बहसमा ल्याउने उद्देश्यसहित समूहले निरन्तर साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको कुरा वर्तमान कविता समूहका विश्व सिग्देलले बताए । यसअघि राजनीतिक परिवर्तनपछिको परिस्थितिलाई केन्द्रमा राखेर ‘विस्फोटपछिको शून्यतामा आवाज’, वातावरण संरक्षणका लागि ‘हरित कविता विशेष’, युद्ध र क्रूरताविरुद्ध ‘शान्तिका कविता’ तथा श्रमजीवी र सीमान्तकृत समुदायको जीवन–यथार्थ समेटिएको ‘भुइँमान्छेका कविता’ लगायतका विशेष कार्यक्रम आयोजना गरिसकेको जानकारी सिग्देलले गराए ।

कार्यक्रमपछि सहभागीहरूले नेपाली लोक बाजा सङ्ग्रहालयको अवलोकन गरेका थिए । सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले नेपाली लोकबाजा, सङ्गीत, कला र साहित्यको अन्तरसम्बन्धबारे चर्चा गर्दै कविहरू ऋषिकै अंश भएकाले सत्य बाहिर ल्याउन उनीहरूको भूमिका विशेष रहने धारणा व्यक्त गरे । उनले वर्तमान कविता समूहसँगको सहकार्यमा अब प्रत्येक महिना नेपाली लोक बाजा सङ्ग्रहालयमा नियमित साहित्यिक कार्यक्रम सञ्चालन गरिने जानकारी समेत दिए ।

प्रतिकृया दिनुहोस्