गीतकार नवराज रायमाझीको नयाँ तीज गीत आउँदै
काठमाडौँ । हरितालिका तीजको अवसरलाई लक्षित गर्दै गीतकार नवराज रायमाझीले नयाँ तीज गीत सार्वजनिक गर्ने तयारी गरेका छन् । मौलिक तीज संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यसहित तयार गरिएको “तीजमा ननाचे कहिले नाच्ने हो” बोलको उक्त गीतले नेपाली महिलाको भावना, माइतीप्रतिको सम्झना, सामाजिक यथार्थ र तीजको परम्परागत मूल्यलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।
गीतकार रायमाझीकै शब्द रहेको गीतमा चर्चित गायिका प्रयुसा न्यौपानेले स्वर दिएकी छन् भने संगीतकार महेश खड्काले संगीत सिर्जना गरेका छन् ।
केही दिनभित्रै भिडियोसहित सार्वजनिक गरिने उक्त गीतमा स्वयं गीतकार नवराज रायमाझीले अभिनय पनि गरेका छन् भने उनलाई अभिनेत्री आयुस्मा कार्कीले मुख्य भूमिकामा साथ दिएकी छिन् ।
सो गीत एआर इन्टरप्राइजेसको आधिकारिक युट्युब च्यानल तथा गीतकार नवराज रायमाझीको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गर्न लागिएको जानकारीमा उल्लेख छ ।
पछिल्ला केही वर्षयता तीज गीतमा मौलिकता कमजोर बन्दै गएको चर्चा भइरहेका बेला आफूहरूले परम्परा, संस्कृति र सामाजिक सन्देशलाई केन्द्रमा राखेर सिर्जना गरेको रायमाझीले बताए । उनका अनुसार सो गीतले मनोरञ्जनसँगै नेपाली चेलीहरूको भावना र जीवन भोगाइलाई अभिव्यक्त गर्नेछ ।
