भाइ
जमुना क्षेत्री
इटहरी। सुनसरी, नेपाल
भाइ !
तिमीले यो धर्तीमा
जन्म लिँदा अत्यन्त
हर्षित हुने पहिलो व्यक्ति
म नै थिएँ ।
मेरो भाइ !
तिमीलाई सकिनसकी
आफ्नो बाहुपासमा च्यापेर
बोक्न लालायित थिए
मेरा यी हातहरु ।
बाले ल्याउनुभएको सर्स्यूंको तेल
तिम्रो कोमल शरीरमा घस्नलाई
बिछ्यौना बन्न पर्खिरहन्थ्यो
मेरो काख ।
तिम्रो च्याँहार च्याँहार रुवाइले
चर्किन्थ्यो मेरो मुटु
म तिमीले बुझ्छौ झैँ गरेर
आकाशतर्फ औंलो देखाउँदै
देउतीबाजेको कथा सुनाउँथेँ
खै ! के अचूक औषधि थियो
देउतीबाजेको त्यो कथामा !
तिमी रुन छोड्थ्यौ र,
खित्का छोडी हाँस्न थाल्थ्यौ
म तिम्रो त्यो हाँसोमा
संसार देख्थेँ,
सारा खुसी पाउँथे ।
हो भाइ !
सायद रगतको नाता अनि
मप्रतिको ममताले होला
मेरा खुसीहरू र मेरो संसारलाई तिमी
मुस्कुराएर झलमल्ल पारिदिन्थ्यौ ।
हरपल आमाको काखमा रहँदा तिमी
कता कता ईर्ष्याले मलाई
नपोलेको पनि हैन
तर,
देखेर तिम्रो त्यो निश्छल कोमल मुहारकान्ति
उर्लिएका मेरा हर्षका बाढीले
क्षणभरमै शान्त पारिदिन्थे ।
तिमी हुर्किंदै गयौ
तिमीभन्दा चार वर्ष मात्र
जेठी म तिमीलाई
बोक्न र तीमीसॅंग ताते-ताते खेल्न
अनि,
बिनासित्ति झगडा गर्न आतुर
हुन्थे मेरा मनहरु !
प्यारो भाइ !
तिमी र म गर्भमा बास बसेको
कोख एउटै थियो
हुर्किएको आँगन एउटै थियो
मैले त्यही आँगनीमा
रङ्गिबिङ्गी फूलहरु
फुलाएकी थिएँ
आफ्नो घरलाई सुन्दर
बनाई सजाएकी थिएँ
तर मेरो त्यो घर
आफ्नो रहेन छ !
मलाई विदाइ गर्ने बेलामा
मेरो सारीको फेरो समातेर
ग्वाँ…ग्वाँ… तिमी रोएको क्षणले
अझै भक्कानिन्छ यो मन !
तिमीसॅंग स्कुल जाँदा
सॅंगै घास, दाउरा गर्दा
बिताएका पलहरुले
मलाई झस्काइरहन्छन्
एउटा सपना झैँ लाग्छन्
ती पलहरू ।
रातको प्रहरमा टिभीको
रिमोट खोसाखोस गर्दा
एक दिन, फुटेको रिमोटको कारण
हामी दुवैले खाएको आमाको हातबाट
पिडौलामा कुचोको डाँठको चुटाई सम्झेर
अझै पनि मेरा हत्केला
पिडौला छाम्न पुग्छन् ।
खाएर खानेकुरा छिटोछिटो
मेरो भागको खाना खोसेर खाने तिम्रो बानी
सम्झेर अनायास हाँसो
फिस्स फुस्किन्छन् ओठबाट ।
कुकुर र बिरालोझैँ
छिनमै एकापसमा चिथोराचिथोर
अनि,
छिनमै नारिएर हलगोरूझैँ
गाउँ चाहर्दै हिनेको स्मृति
मावलमा दिएको दसैँको दक्षिणाले
भरिएको मेरो खुत्रुके आफ्नोसँग साटेर
अनि,
तिहारमा सप्तरङ्गी टीका लगाउँदा
खानेकुराको भाग हेरेर
जिस्काउँदै मलाई
गरेको दक्षिणाको हिसाब
आँखाअगाडि चलचित्रझैँ
ताजकृत भइरहन्छन् ।
स्कुलको फलामे ढोकालाई पार गरेपछि
कलेजको तिम्रो त्यो पहिलो दिनको अनुभव
सुन्दासुन्दै लोलाएका मेरा आँखामा
तिमीले छ्यापेका पानीका छिटाले
भिजेको सिरानी सम्झँदा
अहिले मेरो आँसुले सिरानी भिजेको छ भाइ !
साइकलको पछाडिपट्टि बसाएर मलाई
बूढासुब्बा ओरालोमा लड्दा
रक्ताम्मे मेरो हत्केलामा आत्तिँदै
फू:फू: गरेको यादलाई
पराईको अँगेनाले झस्काइदिन्छ ।
मेरै आँखाअगाडि तिमी ठूलो भयौ
मेरो दु:खसुखको सारथि भयौ तिमी
गुम्सिएका मनका बह
पोख्ने गर्थें तिमीसामु
कलेजबाट घर फर्केर
मलाई खाना कुरिरहँदा
भोकले तिम्रो पेट कत्ति कुँडिएको थियो
कहिल्यै भोकको पीडा पोखेनौ ।
भाइ !
तिमी आज समुद्रपारि छौ
बनेर बुवाआमाको एक सुपुत्र
परदेशी भूमिमा आफ्नो
लक्ष्य प्राप्तिका लागि
संघर्ष गरिरहेका छौ ।
आज भाइटीकाको दिन
एउटी दिदीले भाइको रक्षाका लागि
फोरेर दैलामा ओखर
तेलको घेरो लगाई
छेकी यमराजको बाटो
लगाएर भाइको निधारमा
सप्तरङ्गी टीका
अनि,
सुस्वास्थ्य, दिर्घायुको कामना गर्ने दिन
बसेर पराईको आँगनीको डीलमा
कुरिरहेछु तिम्रो बाटो !
कुरिरहेछु तिम्रो बाटो ! !